विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै

विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।

प्रत्येक वर्ष हरितालिका तीज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको प्राकट्य उत्सव मनाउने गरिन्छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका तीजको ब्रतको भोलिपल्ट गणेशको ब्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका ब्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका तीजको ब्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको ब्रतसमेत गर्छन् ।

मङ्गल चतुर्थीसमेत नामले यो पर्वलाई चिनिन्छ । यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा रहेको छ । विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानीलगायत मुख्य शहरमा गणेश रथयात्रा पनि गरिन्छ । विसं २०६४ मा यसैदिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो । यसैले यसदिन धर्मसभाको स्थापना दिवसका रूपमा पनि मनाउने गरिन्छ ।

Skip This
Skip This
Logo