पक्राउ पुर्जी जारी भएका गणेश बस्नेतलाई तत्काल पक्राउ गर्न माग

पक्राउ पुर्जी जारी भएका गणेश बस्नेतलाई तत्काल पक्राउ गर्न माग

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कि केन्द्रीय सदस्य रुक्मति जागरीले आफ्नो चरित्र हत्या गर्नेहरुमाथि राज्यले कारवाही गर्न तदारुकता नदेखाएको बताएकी छिन् ।

एकीकृत समाजवादीको गत असार १६ देखि सुरु भएर २१ गते सम्पन्न भएको महाधिवेशनमा आफू केन्द्रीय सदस्य बनेसँगै पार्टीकै केही नेताहरुले सुनियोजित रुपमा भ्रामक भिडियो बाहिर ल्याएर आफूलाई बदनाम गराएको उनले बताइन् ।

त्यस्तै, दृष्टि, जनता टाइम्स, खप्तड टिभीलगायतमा मिडियाहरुले आफूविरुद्ध नियोजित रुपमा समाचार बनाएर चरित्र हत्या गरेको उनको आरोप छ ।
आफ्नो चरित्र हत्यामा संलग्न रहेकाहरुविरुद्ध प्रेस काउन्सिल, महिला आयोग, मानव अधिकार आयोग, साईबर व्यूरोलगायतका राज्यका निकायमा पुगेपनि न्याय नपाएको बताईन् । आफूविरुद्ध चरित्र हत्या हुनेगरी प्रकाशन÷प्रशासन गरिएको उक्त समाचार अझै नहटाइएको उनले बताइन ।

आफूले गृहमन्त्री रमेश लेखकलाई भेटेर आफ्नो पिडा सुनाएपछि गणेश विक र गणेशवहादुर बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको उनले सुनाइन् । गणेश बस्नेत नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका अध्यक्षसमेत हुन् ।
उनले पक्राउ पुर्जी जारी भएकाहरुलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारले त्यस्ता अराजक तत्वलाई पक्राउ गरेर कारबाही नगर्ने हो भने आफूले कानुन हातमा लिन बाध्य हुने पनि उनले चेतावनी दिइन् ।

‘पक्राउ पुर्जी जारी भएर जुन नौटंकी प्रस्तुत भइराखेको छ, यो गलत कुरा हो । मलाई कानुन हातमा लिन बाध्य नपारियोस् । किनभने यो देश कानुनी राज्य हो । म कानुन मान्ने मान्छे हुँ । मेरो पनि घर परिवार छन्, आफन्त छन् । म जोडदार ढंगले माग गर्न चाहन्छु । पत्रकार महासंघले नौटंकी गरिरहेको छ । महिलामाथि हिंसा गर्ने अपराधी पत्रकार र राजनीतिक दलका षड्यन्त्रकारीहरुलाई कठघरामा उभ्याउन सहयोग गर्नुहोस्,’ उनले भनिन् ।

आफ्नो राजनीतिक जीवन समाप्त पार्नका लागि यस्ता प्रकारको षड्यन्त्र भइरहेको उनले बताइन् । उनीहरुलाई पक्राउ गरेर कानुनी कारवाही गरेपछि मात्रै आफूले न्याय पाएको महशुस गर्ने उनले बताईन् ।

Logo