अब नेपालको गलत नक्सा प्रयोग गरे २० हजार रुपैयाँ जरिवाना

अब नेपालको गलत नक्सा प्रयोग गरे २० हजार रुपैयाँ जरिवाना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको नक्साको गलत प्रयोग हुन थालेपछि नापी विभागको ध्यानाकर्षण भएको छ । विभिन्न सञ्चार माध्यमहरुमा नेपालको गलत नक्सा प्रकाशन तथा प्रशारण हुने क्रम नरोकिएको भन्दै नापी विभागले सबैलाई सचेत गराएको हो ।

विभागले आइतबार पत्रकार सम्मेलन गरी कुनैपनि सञ्चारमाध्यमले नेपालको नक्सा प्रकाशन तथा प्रशारण गर्नुअघि आधिकारिक हो होइन भनेर जाँचेरमात्रै प्रकाशन गर्न आग्रह गरेको छ ।

अधिकांश मिडिया, विज्ञापन कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुले समेत गलत नक्सा प्रयोग गर्ने क्रम नरोकिएको विभागका महानिर्देशक गणेश भट्टको भनाई छ ।

राष्ट्रियताजस्तो विषयमा सबैले ध्यान दिनुपर्ने भन्दै कसैले नेपालको नक्सा प्रयोग गर्नुपर्यो भने विभागको वेवसाइटबाट निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न महानिर्देशक भट्टले आग्रह गरे ।

विभागले २०७४ साल असोज २ बाट नयाँ नक्सा प्रयोगमा ल्याएको हो । जग्गा नापजाँच ऐन, २०१९ को दफा १२ (५) बमोजिम गलत नक्शा प्रकाशन गरेमा २० हजार जरिवाना हुनुका साथै सम्पूर्ण प्रकाशन सामाग्रीहरु जफत गरिने व्यवस्था छ ।

गलत नक्साको प्रयोग गर्ने क्रम नरोकिएको भन्दै अब कानूनी प्रक्रियाबाट अघि बढ्ने निर्देशक भट्टको भनाई छ । विभागले डिजिटल रुपमा नेपालको नयाँ नक्सा वेवसाइटमा राखेपनि अबको केही दिनमा छापेर प्रचारप्रसार गर्ने पनि जनाएको छ ।

Logo