काठमाडौं महानगरले हटायो सोनु निगमको कन्सर्टमा राखिएको मदिराजन्य विज्ञापन बोर्ड

काठमाडौं महानगरले हटायो सोनु निगमको कन्सर्टमा राखिएको मदिराजन्य विज्ञापन बोर्ड

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले भारतीय चर्चित गायक सोनु निगमकाे कन्सर्टमा राखिएका १५० मदिराजन्य विज्ञापन बोर्ड हटाएको छ ।

बुधबार महानगर प्रहरीको टोलीले काठमाडौं महानगर ६ स्थित बौद्ध हायात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाएको हो। आज राति हायात रिजेन्सी होटलमा ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्ट हुँदै छ।

यो कार्यक्रम नेपाली टच–नेपालले आयोजना गर्न लागेको हो । विगत १५ वर्षदेखि अष्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा यसपटक नेपालमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यस कन्सर्टका लागि गायक निगम आज काठमाडौं अवतरण गरिसकेका छन् । तर, मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको हो।

जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ मा मदिरा, सुर्तिजन्य पदार्थको विज्ञापन तथा प्रचारप्रसार निषेध गरिएको छ।

झण्डै १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको कन्सर्टमा निगमले ३ घण्टा आफ्ना गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् । गायक निगमले स्वर दिएका ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्। यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन्। नेपाल टेकेपछि निगमले आफ्नो प्रस्तुति दिन आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । कन्सर्टपछि निगम बिहीबार बेलुका भारत फर्किने तयारी छ । त्यसअघि उनले बिहीबार बिहान पशुपतिनाथ दर्शन र पर्वतीय उडान पनि भर्नेछन् ।

Logo