केन्द्रबिन्दु बुलेटिन : नेतृत्व बाँडफाँडको विषय नमिल्दा जनता समाजवादीमा पनि किचलो शुरु (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : नेतृत्व बाँडफाँडको विषय नमिल्दा जनता समाजवादीमा पनि किचलो शुरु (भिडियोसहित)


काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये एकतासँगै नेतृत्व बाँडफाडको विषय नमिल्दा ४ महिना लामो विवाद झेलेको जसपा पुनः विवादमा फसेको छ । प्रदेश, जिल्ला तथा स्थानीय तहहरूमा पार्टीको समायोजन प्रकृया शुरु भएसँगै नेतृत्व चयनको किचलो सुरु भएको छ । जस अन्तर्गत तत्कालिन समाजवादी पार्टीले एकतर्फी रुपमा पार्टी समायोजनको प्रकृया शुरु गरेको भन्दै तत्कालिन राजपा नेपालका नेताहरुले त्यसको विरोध गरिरहेका छन् ।

कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्रै गर्न अर्थ मन्त्रालयले बीमा समितिलाई दोस्रो पटक निर्देशन दिएको छ । पहिलो निर्देशन दिएको एक महिनासम्म पनि कार्यान्वयन नभएपछि मन्त्रालयले दाबीहरूको भूक्तानी ३ दिनभित्रै गर्न र दैनिकरूपमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिइएको हो ।

कोरोना संक्रमण त्रासका कारण पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ । खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि संक्रमण जोखिम हुने भन्दै प्रतियोगिता तोकिएको मितिमा नहुने राखेपले जनाएको छ । यता, कतार ओलम्पिक टोली २१ औं एसियाली खेलकुद कतारमा आयोजना गर्नका लागि नेपालको समर्थन माग्न, यतिबेला नेपाल आईपुगेको छ ।

कोभिड–१९ का कारण रोजगारीका लागि कोरिया प्रवेशमा कडाइ र नेपालमा भएको लकडाउनसँगै रोजगार अनुमति प्रणाली ईपीएस माध्यमबाट कोरिया जानेको सम्पूर्ण प्रक्रिया स्थगन भएको थियो । तर अब भने कोरिया जाने प्रक्रिया छिट्टै सुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेकाहरूका लागि पुनः छ महिना म्याद थप्ने निर्णय पनि भएको छ ।

विश्व महामारीको रूपमा रहेको कोरोना भाइरसको ठूलो असरका बीच पनि नेपाली पर्यटन क्षेत्रले विस्तारै गति लिँदै गएको पर्यटन बोर्डले जनाएको छ । जस अनुसार सन् २०२० मा मात्रै २ लाख २० हजार बढी पर्यटक नेपाल भित्रिएको तथ्यांकले देखाएको छ ।

Logo