कास्की । पोखराका गुरुङ समुदायले सोमबार गुरुङको नयाँ वर्ष तथा महान पर्व ल्होसार गिद्ध वर्गको बिदाइ र सर्प वर्गको स्वागतसँगै दिनभर हर्षोल्लासका साथ मनाएका छन् ।
गुरुङ समुदायले पोखरास्थित तमु धिं नेपाल, तमु प्हे ल्हु सङ्घ र बौद्ध अर्घौ सदनमा भेला भएर शुभकामना आदानप्रदान, बुद्ध दर्शन, पूजाआजा, दीप प्रज्ज्वलन गर्दै यो वर्षको ल्होसार मनाएका हुन् ।
पोखरामा प्रधान कार्यालय रहेको गुरुङहरूको सामाजिक संस्थाले तमु धिं नेपालले ल्होसार शुभकामना र्याली आयोजना गरेको थियो । र्याली चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार हुँदै तमु धिं नेपालमा पुगी ल्होसार विशेष कार्यक्रम परिणत भएको थियो । जहाँ विभिन्न झाँकी र परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।
तमु धिंको उक्त कार्यक्रममा अन्य जातीय सङ्घसंस्थाले पनि एक्यबद्धता जनाएका थिए । जसमा नेवाः खल कास्की, हेल्मो समाज, तामाङका प्रतिनिधिहरु आ–आफ्नो पोसाकमा उपस्थित भएर जातीय सद्भाव झल्काएका थिए । र्याली तमु धिं नेपालको प्राङ्गणमा पुगेर ल्होसार शुभकामना एवं सम्मान कार्यक्रममा परिणत भएको थियो ।
पोखरामा प्रधान कार्यालय रहेको धार्मिक संस्था तमु प्हे ल्हु सङ्घमा पनि शुभकामना आदानप्रदानसहित, नृत्य प्रदर्शन, छेलो, रस्साकस्सी प्रतियोगिता गरिएको थियो । सङ्घमा आइतबार राति १२ बजे सर्प वर्गको स्वागत गर्न ‘बोन फायर’ गरिएको थियो ।
ल्होसारको दिन बिहानै ४ बजेदेखि घ्याब्रीहरूले थासो फाल्ने, प्हच्युहरूले छ्यपो पूजा गर्ने र बोन लामाहरूबाट छ्येगुह्येगु (ग्रह काट्ने काम) गरिएको अध्यक्ष ओमबहादुर थिम्जे तमुले जानकारी दिए ।
बौद्ध अर्घौ सदन रामघाटले पनि ल्होसारको दिन विभिन्न कार्यक्रम गरेको थियो । बिहानैदेखि ग्रहशान्ति दशाको पूजा गरिने ग्रहशान्ति गर्ने, दर्शन गर्ने, दीप प्रज्ज्वलन, रिपा लगाउने र खाना दानको कार्यक्रम गरिएको बौद्ध अर्घौ सदन, रामघाटका अध्यक्ष रुद्रबहादुर घलेले जानकारी दिए । समग्रमा यो वर्षको सप्री ल्होसार हर्षोल्लासका साथ सकिएको तमु धिं नेपालका कार्यवाहक अध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरुङले बताए । आगामी वर्ष पनि अझ प्रभावकारी रुपमा ल्होसार मनाइने उनले जानकारी दिए ।





























प्रतिक्रिया