कस्तो छ पृथ्वीनारायण शाहको ससुराली घर ?

कस्तो छ पृथ्वीनारायण शाहको ससुराली घर ?

केन्द्रबिन्दु
18
Shares

हेटौँडा । मकवानपुर गढीको अलग्गै इतिहास छ । यहाँको दरबारलाई राजा पृथ्वीनारायण शाहको ‘ससुराली घर’का रूपमा इतिहासकारहरूले व्याख्या गरेका छन् । हेमकर्ण सेनको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग मकवानपुरको सम्बन्ध गासिएको र हेमकर्णले आफ्नी छोरी पृथ्वीनारायण शाहलाई दिएको इतिहासमा उल्लेख छ ।

नेपाल एकीकरणका बेला मकवानपुर गढीमा युद्ध जित्न गाह्रो हुने भएपछि नै पृथ्वीनारायण शाहले चलाखीपूर्वक ज्वाइँको सम्बन्ध गाँसेका थिए । उनले विवाहमार्फत नै मकवानपुरको सुरक्षा व्यवस्थाका रहस्यहरू बुझेको बताइन्छ । ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी यतिबेला पर्यटकहरूको रोजाइमा छ ।

मकवानपुर गढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरू जीर्णोद्धार गरेर चिरिच्याट्ट पारेपछि उक्त ठाउँको महत्त्व झल्किएको छ । अग्लो डाँडामा रहेको गढीबाट अवलोकन गर्न सकिने प्राकृतिक दृश्यहरु पर्यटकलाई लोभ्याउने गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सय वटा पर्यटकीय गन्तव्यमा समेटेको उक्त गढीमा ऐतिहासिक पक्षको अध्ययन र अनुसन्धान गर्न विशेषगरी विद्यार्थीहरू पुग्ने गरेका छन् ।

काठमाडौँ, चितवन, मकवानपुर र तराइका विद्यार्थीहरू अध्ययन भ्रमण र पिकनिकमा रमाउन गढीमा उक्लने गरेका छन् । ऐतिहासिक महत्त्व, मनमोहक दृश्य र पुराना किंवदन्तीले यहाँ पुग्ने जो कोही लोभिने गरेका छन् ।

करिब १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो मानिन्छ । करीब अढाइ सय वर्ष पुरानो अग्लो डाँडाको टुप्पामा वरिपरि चारैतिर अग्लो पर्खालले घेरिएको यो मकुन्दसेनको दरबार पृथ्वीनारायण शाहको ससुराली घर भनेर चिन्ने गरिन्छ ।

सदरमुकाम हेटौँडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्वमा रहेको यस स्थानमा ठूला–साना गरी करीब दुईसय गढी छन् । काठमाडौँको कान्तिलोकपथबाट हुँदै काठमाडौँ–ठिगन–हेटौँडा ६८ किमि ३ घन्टामा जीपमा मकवानपुरगढी पुग्न सकिन्छ ।

Logo