काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसंख्य समुदाय (एलजीबीटीआईक्यू) को अधिकारका लागि सक्रिय संस्था मायाको संसारकी अध्यक्ष सुनिता लामाले आफूमाथि प्रहरी र स्थानीय युवाहरूले दुर्व्यवहार गरेको बताएकी छिन् ।
चितवनको नारायणी पुलछेउमा आफूमाथि भौतिक आक्रमण समेत भएको र खुट्टामा चोट समेत लागेकाले उपचार गराइरहेको जानकारी दिइन् ।
‘२०८१ साल पुष २५ गते राति २ः०० बजेदेखि ३ः०० बजेको समयमा फायर क्लब, चितवनबाट फर्किँदै थिएँ । सोहीबेला नारायणी पुल क्षेत्रको छेउमा एलजीबीटीआईक्यू समुदायका केही व्यक्तिहरूसँग चिया पिउँदै कुराकानी गरिरहेको थिएँ । यही क्रममा अप्रिलिया स्कुटरमा आएका दुईजना युवाहरूले मलाई र समुदायका व्यक्तिहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै दुर्व्यवहार गरे । मैले उनीहरूलाई यस्तो शब्द प्रयोग नगर्न आग्रह गर्दा उनीहरू झन् आक्रामक भए । मैले घटनालाई सुरक्षित राख्नका लागि आफ्नो मोबाइलबाट भिडियो खिच्न थालेपछि उनीहरू भागे,’उपचारका क्रममा रहेकी उनले भनिन्,‘ घटनाको छेउमा रहेका दुईजना प्रहरी हवल्दार र सहायक हवल्दारले केही पनि प्रतिक्रिया दिएनन् । मैले सहयोगका लागि धेरै पटक अनुरोध गर्दा पनि उनीहरूले कुनै प्रतिक्रिया दिएनन् ।’
प्रहरी प्रशासनबाटै यस्तो अभद्र व्यवहार भएपछि संविधानद्वारा सुनिश्चित गरिएको मानव अधिकार र स्वतन्त्रताको स्पष्ट उल्लघंन भएको उनले बताइन् । ‘घटनामा, प्रहरी हवल्दार र जवान हाम्रो समुदायका सदस्यहरूप्रति अपमानजनक व्यवहार गरेका मात्र होइन, मानव अधिकारको हनन् गरेको प्रष्ट भएको छ । प्रहरी प्रशासनले घटनालाई गम्भीरतापूर्वक नलिई न्याय दिने आफ्नो दायित्वप्रति असंवेदनशीलता देखाएको छ,’ उनले भनिन् ।
घट्नाबारे छानबिन गर्न भन्दै अध्यक्ष लामाले जिल्ला प्रशासन कार्यालय, चितवनमा निवेदन दिएको र प्रशासनले घटनाको छानबिन र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखिसकेको बताइन् ।































प्रतिक्रिया