गण्डकी । पोखरा महानगरपालिका–३२ बडहरेस्थित सिद्ध गणेशको शिला मूर्ति बर्सेनि बढ्दै गएको छ । करिब एक सय वर्षअघि जोत्ने क्रममा उक्त शिला फेला परेको थियो ।
किंबदन्तीअनुुसार जोत्ने क्रममा हलोको फालीले उक्त शिलाको केही भाग चोइटिएर फुटेको स्थानीय बताउँछन् । जोत्न प्रयोग गरिएका हलगोरु मरेपछि सोबारे खोजी गर्दा उक्त शिला गणेशको मूर्ति फेला परेपछि हाल मन्दिर भएकोे ठाउँमा राखिएको स्थानीयवासी बताउँछन् । फाली लागेर चोइटिएको भाग अहिले पनि प्रत्यक्ष देख्न सकिन्छ ।
सुरुमा एक बित्ता लम्बाइको उक्त शिला बर्सेनि बढ्दै गएर अहिले झण्डै एक हात भन्दामाथि पुगिसकेको हाल मन्दिरमा नियमित पूजा गर्दै आएकी देवी पराजुलीले जानकारी दिइन् । सुरुमा उक्त स्थानमा सामान्य ढुङ्गाले बारबेरगरी छपनीले छोपेर राखिएको सिद्ध गणेशको मूर्ति पछि व्यवस्थित मन्दिरका रूपमा व्यवस्थित गरिएको उनले बताइन् । त्यसयता अत्यन्त आस्था एवं विश्वासका साथ यहाँ पूजाआजा हुँदै आएको छ ।
यहाँस्थित सिद्ध गणेशको शिला रहस्यात्मक रूपमा बढिइरहेको प्रत्यक्ष अनुभव गरेको ८५ वर्षीय काशीनाथ पण्डितले बताए । “म सानोमा मामाघर जाने क्रममा उक्त मन्दिर भएर धेरै पटक ओहोरदोहोर गरेको छु”, उनले बाल्यकालको अनुभव सुनाउँदै भने, “पाँच/छ वर्षको उमेरमा मैले देखेको गणेश शिला अहिले धेरै ठूलो भएका अनुुभव छ ।”
अहिलेको व्यवस्थित मन्दिर बनाउने क्रममा उक्त शिलाको केही भाग ढलानबाटसमेत पुरिएको जानकारी दिँदै उनले ढलानमाथि करिब एक हात लम्बाइमा शिला रहेको बताए ।
बडहरेबाट बढ्दो बसाइँसराइका कारण रहस्यात्मक यस तीर्थस्थलको प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै पण्डितले यो तीर्थस्थल प्रवर्द्धनको पर्खाइमा रहेको बताए । यस मन्दिर परिसरमा २०१८ सालमा धनधान्याञ्चल पर्व गरिएको उनले उल्लेख गरे ।
पछिल्लो पुस्ताका मानिसले पनि उक्त शिला बढिइरहेको अनुभव गरिरहेको बताउँछन् । शिलाको आकार बढ्दै गएको प्रत्यक्ष अनुभव गरेको विनिता पण्डित घिमिरेले बताइन् । आफूले बाल्यकालमा सानो आकारमा देखेको शिला मूर्ति अहिले धेरै ठूलो भइसकेको उनको अनुभव छ ।
पृथ्वीराजमार्गअन्तर्गत गगनगौंँडा क्षेत्रबाट सवारीसाधनमा करिब २५ मिनेटको यात्रा गरेपछि यो मन्दिर पुग्न सकिन्छ । गगनगौँडाबाट राजाको चौतारा पुगी त्यहाँबाट तालखोलाको पुल तरेपछि मणि हुँदै बडहरेको सिद्धि गणेश मन्दिर पुग्न सकिने स्थानीय घिमिरेले जानकारी दिए । करिब तीन दशक अघिसम्म बाक्लो बस्ती रहेको बडहरेमा त्यसयता भने बढ्दो बसाइँसराइले बस्ती शून्य हुँदै गएको उनले बताए ।
उत्तरतर्फ सुन्दर हिमालको दृश्यसँगै अगाडि देखिने मनोरम तालतलैया एवं पोखरा उपत्यका अवलोकन गर्न सकिने यो ठाउँ बढ्दो बसाइँसराइले प्रत्यक्ष प्रभावित बनेको उनले बताए । बाटो, यातायातलगायत सुविधा गाउँमा पुगिसकेका अवस्थामा यहाँको प्रचारप्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिए ।































प्रतिक्रिया