काठमाडौं । मुलुकको राजधानी काठमाडौं शहर विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको सर्वेक्षण अनुसार काठमाडौं उपत्यका शनिबार बेलुकी विश्वै प्रदूषित शहर बनेको हो ।
विश्वमा उच्च वायु प्रदूषण भएका शहरको सूचीमा काठमाडौंपछि अफ्रिकी मुलुक कङ्गोको राजधानी किन्सासा दोस्रो स्थानमा छ ।
काठमाडौंको औषत वायु गुणस्तर सूचक (एक्यूआई) १७५ छ, जुन अस्वस्थकर अवस्था हो । ललितपुरको जावलाखेलको एक्यूआई २१३ पुगेको छ । जुन वायु प्रदूषण अवस्था अति अस्वस्थकर हो ।
त्यस्तै चीनको वुहान, चीनकै साङ्घाइ, उज्वेकिस्तानको तासकन्द, म्यानमारको याङ्गुन, भियतनामको हनोइ, भारतको दिल्ली, बङ्गलादेशको ढाका र चीनको ह्वाङ्जावोले प्रदूषणको शीर्ष १० स्थानमा परेका छन् ।
फागुनदेखि जेठसम्म कायम रहने ग्रीष्मकालीन तातो र सुख्खा मौसम (हट एण्ड ड्राइ समर सिजन) का बेला अघिल्ला वर्षमा नेपालको सङ्घीय राजधानी काठमाडौंको वायुस्तर बारम्बार विश्वकै सबैभन्दा प्रदूषित स्तरमा पुग्ने गरेको थियो । यसपटक माघसम्म कायम रहने शीतकाल प्रारम्भ भएको कात्तिक पहिलो सातादेखि नै नेपालका शहरको वायुस्तर अस्वस्थकर भएको हो ।





























प्रतिक्रिया