‘राससको फोटो किताबः गणतन्त्रको १६ वर्ष पुस्तक’ सार्वजनिक

‘राससको फोटो किताबः गणतन्त्रको १६ वर्ष पुस्तक’ सार्वजनिक

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले वार्षिकोत्सवका अवसरमा ‘राससको फोटो किताबः गणतन्त्रको १६ वर्ष’ पुस्तक प्रकाशन गरेको छ ।

राससको ६४ औँ वार्षिकोत्सव मूल समारोहका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुस्तक सार्वजनिक गरे । राज्य र सरकारको कामलाई प्रचारप्रसार गर्ने उद्देश्यले राससले गणतन्त्र दिवस २०८० को सन्दर्भमा ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ र गणतन्त्र दिवस–२०८१ को सन्दर्भमा ‘गणतन्त्रको उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।

उक्त प्रदर्शनीमा राखिएका तस्बिरलाई सङ्ग्रह गरेर ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’ पुस्तक प्रकाशन गरेको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताए । यो फोटो किताबले नेपालमा विकास तथा कुनै काम भएन भनेर स्थापित गर्न खोजिएको गलत भाष्यलाई चिर्न सहयोग पुग्ने विश्वास लिएको कार्यकारी अध्यक्ष झाले बताए ।

सरकारले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिका १६ वर्षमा राजनीतिक स्थायित्वसँगै, सीमित स्रोत, साधन र प्रविधिका बीच नागरिकका आशा तथा अपेक्षालाई अधिकतम सम्बोधन गर्न प्रयत्न गरिरहेका छन् । यसबीचमा गठन भएका सङ्घ, प्रदेश र स्थानीय सरकारले सडक, पुल, जलविद्युत्, सञ्चारजस्ता पूर्वाधारको विकासलाई तीव्रता दिएका छन् । संविधानले परिलक्षित गरेको समतामूलक समाज निर्माणका लागि देखिने गरी काम भइरहेका छन् ।

यो वस्तुतथ्यलाई नजरअन्दाज गरेर देशमा केही भएन भन्नेजस्तो गरी नकारात्मक भाष्य सिर्जना गरी राजनीतिक तहमा प्राप्त सबै उपलब्धिलाई नकार्ने र जनतालाई दिग्भ्रमित तुल्याउने कार्यलाई थोरै भए पनि चिर्न यो फोटो किताबले सहयोग गर्ने कार्यकारी अध्यक्ष झाले जानकारी दिए। मुलुकमा भएको विकास र प्रगतिका विषयमा नागरिकलाई सही र सत्य कुराको जानकारी गराउनु पनि राष्ट्रिय समाचार समिति (रासस) जस्तो राज्यको समाचार एजेन्सीको मुख्य दायित्व भएको उनको भनाइ छ ।

पुस्तकमा राससकर्मीहरूले कैद गरेर राससको बुलेटिनमा प्रकाशित भएका तस्बिर र अतिआवश्यक तर रासससँग नभएका केही तस्बिरलाई सौजन्यका रूपमा सङ्ग्रह गरिएको राससका महाप्रबन्धक एवं पुस्तक प्रकाशन उपसमितिका संयोजक सिद्धराज राईले जानकारी दिए।

“सकेसम्म महत्त्वपूर्ण तस्विरलाई समेट्ने प्रयास गरेका छौँ, यो पुस्तक एक प्रस्थानविन्दु मात्र हो”, उनले भने । पुस्तक सामूहिक प्रयासबाट गरिएको रचनात्मक कामको एक ठोस उपलब्धि भएको उनले बताए ।

Skip This
Skip This
Logo