लोकेन्द्रप्रसाद जोशी/दार्चुला । नेपाल भारतको उत्तरी सीमाको महाकाली नदीमाथि भारतले बनाएका पुल नेपालले भत्काएको छ । बिना अनुमति भारतीय पक्षबाट लगाइएको अस्थायी काठेपूलहरु सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भत्काएको हो । भारतले नेपालको अनुमति विनै पेल्सीतिमा, घाटी बगड र दोपाखेमा काठे पूल बनाएको थियो ।
दुई वटा काठे पूल निर्माणको लागि भारतलार्इ नेपाल सरकारको तर्फबाट अनुमति दिएको भएपनि अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा भारतीय पक्षले पाँच वटा अस्थायी काठे पूल निर्माण गरेको थियो । भारतीय पक्षले नजाङ र तम्बाकुमा नेपाली पक्षको अनुमतिमा काठे पूल बनाएको छ ।
हिउँदमा नदीको मात्रा घटेसँगै नदीवारपार गर्नको लागि अस्थायी रुपमा काठेपूल निर्माण गरेको थियो । सञ्चार माध्यममा भारतीयले एकतर्फी सहमति भन्दा बढि पूल लगाएको भन्दै समाचार आएपछि प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले सीमा क्षेत्रमा लगाइएका पूलहरुको अनुगमनमा सशस्त्र प्रहरी खटाएको थियो ।
सशस्त्र प्रहरीले उक्त क्षेत्रमा लगाइएका तीन वटै काठे पूल भत्काएको विषयमा जिल्ला सुरक्षा समितिमा छलफल भएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । भारतले आफ्नो भूमिमा सडक निर्माणमा सहजता होस् भन्नको लागि बेला बेला अस्थायी काठे पूल महाकाली नदीमा राख्दै आएको छ ।





























प्रतिक्रिया