‘बिसु’ मनाउन घर फर्किँदै परदेशीहरु

‘बिसु’ मनाउन घर फर्किँदै परदेशीहरु

केन्द्रबिन्दु
27
Shares

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाका झुलाघाटमा आजभोलि चहलपहल बढेको छ । रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेपछि यहाँ चहलपहल बढेको हो ।

सुदूरपश्चिममा नयाँ वर्षलाई ‘बिसु’ पर्र्वका रूपमा मनाइने भएकाले काम गर्न भारत गएकाहरू फर्किन थालेका छन् । झुलाघाट भएर बैतडी, बझाङ, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दा बिसु मनाउन घर फर्कन थालेका छन् । दैनिक घर फर्किनेको सङ्ख्या बढ्दो क्रममा रहेको झुलाघाट बजारका व्यापारी हरिदत्त जोशीले बताए । उनले भने, “बिसुका लागि घर फर्किनेको नाकामा भीडभाड छ ।”

सुदूर पहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । उनीहरु बिसु पर्वमा भने घर फर्कने गरेका छन् । गहुँ छरेर मजदुरी गर्न भारत पस्नेहरु यतिबेला घर फर्किने गर्छन् । झुलाघाट र सदरमुकाम गोठलापानीबाट सञ्चालन हुने सवारीसाधनमा पनि यात्रुको चाप बढेको छ । बिसुकै कारण यात्रुको चाप बढेको यातायात व्यवसायी सिद्धराज बोकटीले बताए।

नयाँ वर्ष घरपरिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर मनाउने चलन भएकाले घर बाहिर रहेकाहरू पनि घर फर्कने गरेको दोगडाकेदार–३ का गणेश विष्टले बताए । बिसु पर्व विशेष गरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइन्छ । एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । बिसुमा सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने विश्वास गरिँदै आएको छ । बिसु पर्व अघि नै घर रातो माटो र कमेरो लिपपोत गर्ने गरिन्छ ।

Logo