काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् ।
०८१ चैत २१ गते मेयर बालेन शाहको निर्देशनमा गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएकाे सन्दर्भमा पाण्डेलाई स्पष्टीकरण सोधिएको हो । त्यसदिन पाण्डे र बालेनका स्वकीय सचिव भूपदेव शाहको भूमिकाप्रति आपत्ति जनाउँदै महानगरका कर्मचारी तथा पेसागत संगठनले गुरागाईंलाई ज्ञापनपत्र बुझाएका थिए । साेही अनुसार पाण्डेलाई स्पष्टीकरण साेधिएकाे बताइएकाे छ ।
सात बुँदे स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा असहयोग गरेको आरोप छ ।
प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारी साधनमा ह्वील लक किन गरेको ? नगर प्रहरी बल परिचालन गरेर गुरागाईंलाई कार्यालय छिर्न अवरोध गर्दै आतङ्क सृजना किन गरेको ? कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरूको बाटो छेकेर अमर्यादित र अभद्र व्यवहार किन गरेको भनेर पाण्डेलाई प्रश्न गरिएको छ ।
बालेनका निर्देशन पालना गर्दै गुरागाईंको कार्यालय प्रवेश रोक्न खोज्दा पाण्डे अब आफैं संकटमा पर्ने संकेत देखिएको छ । अब पाण्डेमाथि कारबाही हुनसक्छ ।































प्रतिक्रिया