अदानचुली (हुम्ला) । यहाँको नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा आएको बाढीपहिराका कारण पत्ता लगाउन सरकारी विज्ञ टोली आज आइपुगेका छन् ।
बाढीपहिरोको एक हप्तापछि उनीहरु सदरमुकाम सिमकोटबाट तिलगाउँ प्रस्थान गरेका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इञ्जिनियर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली घटनास्थलतर्फ प्रस्थान गरेका हुन् ।
टोलीमा जल तथा मौसम विज्ञान विभागका ‘हाइड्रोलोजिस्ट’ इञ्जिनियर सौहार्द जोशी र खानी तथा भू–गर्भ विभागका सिनियर डिभिजनल ‘जिओलोजिस्ट’ शिवकुमार बास्कोटा छन् । खराब मौसमका कारण विज्ञहरुको टोली आउन केही दिन ढिला भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।
यही जेठ १ गते राति बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा क्षति पुगेको थियो । बाढीपहिरो प्रभावित अहिले पनि त्रिपाल टाँगेर बसेका छन् । करिब पाँच हजार ३०० मिटरमाथिका दुई वटा हिमपोखरीबाट बगेको पानीले बाढीको रुप धारण गरेको प्रारम्भिक अनुमान छ ।
स्थानीय आफैँ पोखरीसम्म पुगेर बाढी आउनुका कारण पत्ता लगाएका थिए । तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ । काठमाडौँबाट आएको विज्ञको टोलीले वैज्ञानिक कारण पत्ता लगाउने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया