‘सीप मेलाले रोजगार, स्वरोजगारको सम्भावनाको ढोका खुलाएको छ’

‘सीप मेलाले रोजगार, स्वरोजगारको सम्भावनाको ढोका खुलाएको छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि क्योको योकोसुकाले, काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलाले रोजगार र स्वरोजगारको सम्भावनाको ढोका खुलाएको बताएका छन् । महानगरले यही जेठ ७ गतेदेखि सुरु गरेको दोस्रो संस्करणको सीप मेलाको आज अवलोकन गर्दै उनले यस्तो प्रतिक्रिया दिए ।

“मेलाले प्रशिक्षण मात्र प्रदान गरेको छैन । यसले रोजगार र स्वरोजगारको सम्भावनाको ढोका पनि खुलाएको छ । यो मेलाको सबल पक्ष हो”, उनले भने, “समय अनुसारका सीप र सीपयुक्त जनशक्तिले रोजगार पाउने ठाउँ, रोजगार दिने व्यक्ति एकै ठाउँमा भेटिने खालको प्रयत्न अनुकरणीय छ ।”

त्यस क्रममा महानगर सहरी योजना आयोगका उपाध्यक्ष एवं मेला निर्देशक समितिका संयोजक डा सुमननरसिंह राजभण्डारीले सीप र रोजगार प्रदान गर्ने विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर दिगो नतिजा प्राप्त गर्ने संयन्त्र विकास भइरहेको जानकारी पनि गराए।

सिकाइ विस्तार आवश्यक छः पूर्वराज्यमन्त्री
पूर्वस्वास्थ्य राज्यमन्त्री डा तोषिमा कार्कीले काठमाडौँको अभ्यास अन्य स्थानीय तहले पनि विस्तार गर्नुपर्ने बताए। सीप मेला अवलोकनकै क्रममा आज उनले सीप प्रदान भएपछि व्यक्तिको आय बढ्ने र यसको लाभ घरघरमा पुग्ने बताए । अवलोकनका क्रममा उनले प्रशिक्षक र प्रशिक्षार्थीसँग तालिमबारे जानकारी लिएका थिए।

यसैबीच, महानगरले दोस्रो संस्करणको सीप मेला सञ्चालनका साझेदारसँग सहकार्य सम्झौता गरेको छ । मेला सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा मानव संसाधन उपलब्ध गराएर सहकार्य गर्ने सङ्घसंस्थाका प्रतिनिधि र मेलाको व्यवस्थापक गतिशील अभियानका अधिकारीबीच सामाजिक उत्तरदायित्वअन्तर्गतको सहकार्यका लागि सम्झौता भएको मेला व्यवस्थापन समितिका संयोजक इन्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

यसरी सम्झौता भएका निजी सङ्घसंस्थामा एनसेल, जगदम्बा मोटर्स, नेपाल लाइफ इन्स्योरेन्स, आइएनजी गु्रप, केएल दुगड, पद्मज्योति ग्रुप, अग्नि इन्टरप्राइजेज र काठमाडौँ मोडेल कलेज रहेको झाको भनाइ छ । मेलामा १० क्षेत्रका ३७ पेसासँग सम्बन्धित विभिन्न तालिम सञ्चालन भइरहेका छन् ।

Logo