कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि अपराधी पत्ता नलागेको भन्दै उनकी आमा दुर्गादेवी पन्तले अब आश मरेको बताएकी छन्।
पछिल्ला केही वर्षयता अनुसन्धानको गति सुस्त भएको र कोही पनि सोधपुछका लागि नआएको उनले गुनासो गरिन्। “अब अनुसन्धान गर्छन् या गर्दैनन् त्यो पनि थाहा छैन। हिजोआज त यता आएर कसैले पनि सोधपुछ गरेका छैनन्। मलाई अब आशै मरिसक्यो। अहिलेसम्म कसैले पत्ता लगाएनन् र लगाउँछन् जस्तो पनि लाग्दैन,” उनले भनिन्।
पहिले एक-दुई वर्षअघि प्रहरीहरू खोजतलास गरिरहेको बताउने गरे पनि अहिले त्यो पनि बन्द भएको उनको भनाइ छ। “पत्ता लगाउँदैनन् जस्तो लाग्छ। आशा मरिसक्यो,” उनले थपिन्।
निर्मलाको न्यायका लागि निरन्तर संघर्ष गर्दै आएकी दुर्गादेवीले अपराधी पत्ता लगाउन अनुसन्धानकर्तालाई आग्रह गरेकी छिन्। “निर्मलाका अपराधी पत्ता लगाइदिनुहोस् भनिरहेकी छु,” उनले भनिन्, “छोरी निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता लागेको छैन्। पत्ता लगाएको भए त धेरै कुरा थाहा हुन्थ्यो होला। तर खोइ केही थाहा छैन्।”
सरकारले तत्काल केही राहत दिए पनि अहिले कुनै सहयोग नपाएको उनले बताइन्। “कानुन पनि यस्तै रहेछ। गर्छु भन्दाभन्दै धेरै वर्ष बितिसक्यो। हिजोआज त अपराधी पत्ता लगाउन खोजी गरेको जस्तो नै लाग्दैन्। त्यसैले धेरै आशा गर्ने ठाउँ छैन,” उनले भनिन्।
हाल उनी स्वास्थ्य कार्यालय सहयोगीका रूपमा काम गरिरहेकी छिन्। २०७६ सालदेखि काम गरिरहेको बताउँदै उनले यो काम आफ्नो जीवन चलाउने बाटो मात्र भएको बताइन्। “आफ्नो जीवन चलाउनलाई अरु केही काम छैन्। के गर्नु सानोतिनो काम गर्नैपर्यो,” उनले भनिन्।































प्रतिक्रिया