रिस्ता राई/काठमाडौं । आज इन्द्रजात्राको दिन रिर्पोटिङको लागि भनेर घरबाट बिहानै निस्के । वसन्तपुरमा रहेको कुमारी घरमा कुमारीको दर्शन गरेर मन पर्फुल्ल पारेर अफिस तर्फ लागे । एकैछिनमा अफिसबाट फोन आयो, फोनमा खबर थियो ल तपाई कीर्तिपूर रिर्पोटिङमा जानुपर्यो । एसिड आक्रमणमा परेकी रौतहटकी सम्झना दासको उपचारको क्रममा निधन भएको समाचार संकलनको लागि मलाई कीर्तिपूर जान भनियो ।
त्यो खबर सुनेपछि म छाँगाबाट खसेजस्तै भए । बोली रोकियो, मनमा पिडा थाम्दै अक्मकिदै ‘ल हो र’ मात्र शब्द निस्कियो मुखबाट । छाँगाबाट पनि किन नखस्नु, अस्ति भर्खरै मात्र कीर्तिपुर अस्पतालमा सम्झनासहित उनकी बहिनी सुस्मितालाई भेटेको थिए । म हत्त न पत्त उतै तिर दौडिए । कीर्तिपुर जाँदा बाटोभर मनमा के के कुरा खेलाउन थाले ।
सहिद गेटबाट कीर्तिपुर पुग्न मलाई घण्टौ लागे जस्तो भयो.। आजको दिन नै किन यो बाटो यती लामो भईदिएको महशुस भइरह्यो । ब्यागबाट फोन झिके अस्ति जाँदा उनको बाबुको फोन नम्बर टिपेर ल्याएको थिए, नम्बर डायल गरे फोन लाग्यो, १५ सेकेन्डपछि फोन उठ्यो । हेल्लो ! उनको बाबु नै बोलेका रहेछन्, सोधे सन्चै हुनुहुन्छ ? के कस्तो छ हालखबर त्यहाँको ? उनले बताई हाले मेरी ठूली छोरी अब सम्झनामा मात्रै बाँकी रहिन् । बाबुले अर्को शब्द निकाले, ‘हिजो राती उनी वितिन्’ मैले यती मात्र प्रश्न गरे म त्यहाँ आउँदै छु भेट्न मिल्छ होला नि ? उनले भने ‘म आज एकदमै बिजि छु भेट्न गाह्रो पर्ला ।’ मैले फोन राखे ।
एकघण्टाको यात्रापछि कीर्तिपुर हस्पिटल पुगे । त्यहाँ पुग्दा मेरो मनमा अनेकन कुरा खेलाउन थाले । उनका बाबु जादोलाल दासलाई भेट्न सकिन्, उनको कान्छी श्रीमती परमशिला दास दुधे छोरी बोकेर आखाँ भरि आसु बोकेर बाहिर बसिरहेकी थिईन् । उनकै छेउमा थिईन्, सम्झनाकी आमा । जो सम्बन्ध विच्छेदपछि रोजगारीको लागि बाहिर गएकी थिइन् ।
उनी आफ्नो शरिर सम्हाल्न सकिरहेकी थिइनन् र बोल्न पनि सकिरहेकी थिइनन् । म आफै मन थाम्न सकिरहेकी थिइन । कान्छी श्रीमतीलाई सोधे सुस्मिताको खबर के छ ? उनले जवाफ दिईन, ‘उसको ठिकै छ तर दिदिको खबरबारे दिदिको निधनबारे बहिनी सुस्मितालाई जानकारी गराएका छैनौं ।’
एकैछिनमा आइपुगे जादोलाल र मानिसहरुको हुल । त्यही हुलतर्फ थिए, राजपा नेता तथा रौतहट प्रदेश सभा सदस्य अनिलकुमार झा र प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री डिम्पल झा । उनीहरुले सुस्मीताको थप उपचारको सहयोग गर्ने आश्वासन दिए ।
ति अवोध बालिका सुस्मीता दिदिको मृत्युबारे अनविज्ञ थिईन् । मानिसको भिडले उनको मुहारमा प्रष्ट थियो कि के हुँदैछ आज । उनी आफ्नी आमालाई सोध्दै थिइन् के भएको ममी ? ममीले तिम्रो उपचारको लागि भनेर बनावटी उत्तर दिदै थिइन् । मनमनै सम्झिए जादोलालले छोरीहरुको उपचारको लागि पैसा अपुग भएर म कहाँ दुख पोखेको । भनेका थिए पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल आएर छोरीहरुको स्थिति हेरेका थिए तर आर्थिक सहयोग आज सम्म पनि गरेनन् ।
सम्झिए हामी महिला मात्र किन यस्तो घटनाको शिकार हुन्छौँ । त्यो सम्झनाले अल्पायूमै ज्यान गुमाउनु पर्यो भने अपराधी अझै सम्म खुलेआम । अस्तिमात्रै सम्झनाले आखा खोलेकी थिईन् । उनले आखा खोलेपछि सबैलाई अब बाचिहाल्ने आश जागेको थियो । आखा खोलेपछि उनले घटनाबारे बाबुलाई सबै जानकारी गराएकी थिईन् । घटनाबारे बाबु जादोलाललाई भनेकी थिईन्, ‘बाबु मलाई रामबाबुले बारम्बार फोन गरिरहन्थ्यो । विभिन्न लोभ देखाएर सम्बन्ध राख्न ढिपी गथ्र्यो । बिहे गरौँ भन्थ्यो । त्यस दिन पनि निकै फोन गरेको थियो । मैले उसले भनेको कुरै सुनिनँ । त्यसैले मलाई एसिड हान्यो बाबा ।’
त्यो कुरा सुनेपछि मात्रै छिमेकी रामबाबु पासवान पक्राउ परेका थिए । कान्छी आमा परमशिलालाई उनले आमा स्याउ खाने भनेकी थिईन् । परमशिलाको यतिबेला पनि छोरीले स्याउ खाने भनेको कुरा मात्रै कानमा सुनिन्छ । उनी भनिछन्, ‘मम्मी स्याउ दिनुन खान मन लाग्यो । मैले स्याउ दिए । उनले अलिकति स्याउ पनि टोकिन् । त्यसपछि मैले मुखमा थोरै पानी राखिदिए । त्यसपछि मलाई छोरी बाँच्छिन जस्तो लागेको थियो ।’
यी सबै कुरा भएपछि मात्र सम्झनामा रहेकी सम्झनाको अन्त्येष्टिको कुरा आयो । उनको अन्त्येष्टि कहाँ गर्ने भन्ने कुराले परिवारमा एकछिन बहस नै चल्यो । सम्झनाका बुबा गाउँ लाग्ने कुरा गर्दै थिए भने उनकी आमा ‘काठमाडौं मै गर्नुस, म पनि छोरीलाई अन्तिम सम्म हेर्न चाहन्छु’ भन्दै थिईन् ।
सम्झनालाई आईसीयुबाट निकालेर शव राख्ने कोठामा लगिसकिएको रहेछ । उनलाई पोष्टमार्टमको लागि शिक्षण अस्पताल लाने भयो । एम्बुलेन्समा राखेर उनलाई बाबु र कान्छी आमाले शिक्षण अस्पताल तर्फ लगे । यता जेठी आमा सँगै पुरै अस्पताल रोयो । उनको लागि छोरीको मुहार हेर्ने त्यो नै अन्तिम क्षण थियो ।
यो क्षणले मेरो मन थाम्न सकेन फेरि अस्पतालको वार्ड गए सुस्मीतालाई भेट्न । उनलाई त केही खबर थिएन दिदिको घटना । न उनलाई केही थाहा नै थियो एसिड आक्रमण किन भयो र उनी किन परिन् । उनलाई हालखबर सोधे, स्वास्थ्यको राम्रो ख्याल गर्न सुझाउँदै फेरी भेट्न आउने वाचा राखेर फर्किए ।































प्रतिक्रिया