तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
27
Shares

२०८२ श्रावण ४ देखि १० गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

यो हप्ता मेष राशिका लागि सकारात्मक र फलदायी रहनेछ, तर अत्यधिक उत्साहबाट बच्नु उपयुक्त हुनेछ । व्यवसायमा लाभ मिल्नेछ, नयाँ सम्झौता हुने सम्भावना छ। कार्यक्षेत्रमा तपाईंप्रति आकर्षण बढ्नेछ, विशेषगरी विपरीत लिङ्गीसँग सहकार्य बलियो हुनेछ । जागिरेहरूले आफ्नो कार्यको प्रशंसा पाउनेछन्, पदोन्नतिको सम्भावना पनि देखिन्छ । साताको मध्यमा गरेका निर्णय र व्यापारका लागि शुभ छन्। विदेश रोजगार खोज्नेहरूका लागि बाधाहरू हट्ने र सकारात्मक खबर प्राप्त हुने सम्भावना छ।

परिवारमा पाहुनाको आगमनले खुसीको वातावरण बनाउनेछ। पुरुष जातकहरूले जीवनसाथीको भाग्यबाट सहयोग पाउनेछन्। विवाहको सम्भावना प्रबल छ, विशेषगरी अविवाहितहरूका लागि राम्रो समय हो। धार्मिक यात्राको योग बनिरहेको छ । शिव मन्दिरको दर्शन विशेष लाभदायक हुनेछ ।

हप्ताको सुरुमा राहत मिल्नेछ, बाँकी भुक्तानी प्राप्त हुने सम्भावना छ। तर हप्ताको अन्त्यतिर पारिवारिक खर्च र घरायसी जिम्मेवारीका कारण खर्च बढ्न सक्छ । विलासितामा रुचि बढ्न सक्छ, तर अहिलेको लागि ठूलो लगानी टार्नु बुद्धिमानी हुनेछ।युवाहरू करियरको चिन्तामा रहनेछन्, तर अनुसन्धान र अध्ययनमा सफलता मिल्नेछ।

स्वास्थ्यतर्फ सामान्य सावधानी आवश्यक छ। भाइरल ज्वरो, टाउको दुखाइजस्ता समस्या देखिन सक्छन्। सोमबार र शनिबार विशेष सतर्क रहनु उपयुक्त हुनेछ।
धैर्य र विवेकले निर्णय गर्नुहोस्। अति उत्साहित भएर काम नगर्नुहोस्। सन्तुलित सोच र धार्मिक गतिविधिमा संलग्न रहँदा सकारात्मक ऊर्जा मिल्नेछ।

उपाय- शिव चालिसा हरेक बिहान पाठ गर्नुहाेस्। सोमवार व्रत बसेर “ॐ नमः शिवाय” मन्त्रको जप गर्नुहोस् ।

वृष राशि

यो हप्ता मानसिक शान्ति र तनावबाट मुक्ति मिल्ने समय हो। आत्मबल र सकारात्मक सोच बढ्नेछ, जसले तपाईंलाई निर्णय लिने क्षमतामा मजबूती दिनेछ। काममा राम्रो प्रगति हुनेछ र नयाँ अवसरहरूको ढोका खुल्नेछ । स्थानान्तरण वा यात्राको सम्भावना छ, विशेष गरी करियरसँग सम्बन्धित क्षेत्रमा। कडा परिश्रमको सकारात्मक परिणाम देखिन थाल्नेछ।

आत्मविश्वास बढाउनुहोस् र अवसरहरूको सदुपयोग गर्नुहोस्।पारिवारिक समारोहमा सहभागी हुने सम्भावना छ। हप्ताको मध्यतिर प्रेम प्रस्ताव राख्ने अनुकूल समय हुनेछ। विवाहित व्यक्तिहरू जीवनसाथीसँग रमाइलो समय बिताउने योजना बनाउन सक्छन्।

पैतृक व्यवसायमा लाभ मिल्नेछ र मातृपक्षबाट सुखद समाचार प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा वरिष्ठहरूसँग सम्बन्ध राम्रो हुनेछ र पदोन्नतिसम्बन्धी चर्चा हुन सक्छ। प्रभावशाली व्यक्तिहरूबाट समर्थन र प्रेरणा प्राप्त हुनेछ। यद्यपि नयाँ सम्बन्धहरूमा अलिकति असहजता अनुभव हुन सक्छ।

घरका मान्यजनहरूकाे सल्लाह मन नपर्न सक्छ । मंगलबार नयाँ काम सुरु नगर्नु उपयुक्त हुनेछ। प्रेम सम्बन्धमा अचानक परिवर्तन आउन सक्छ वा कुनै गोप्य कुरा उजागर हुन सक्छ । खर्च गर्दा हिचकिचाहट हुने र अनावश्यक खर्चबाट बच्नुपर्ने देखिन्छ। शत्रुहरू सक्रिय हुन सक्छन्, त्यसैले सतर्क रहनुहोस्।

उपाय- ॐ नमः शिवाय नियमित जप गर्नुहोस्। भगवान शिवको दूध अभिषेक गर्नाले तपाईंलाई राम्रो फाइदा हुनेछ, यसले मानसिक शान्ति, स्वास्थ्य सुधार र बाधा निवारणमा मद्दत गर्छ।

मिथुन राशि

यस हप्ता मिथुन राशिका लागि मिश्रित परिणामहरू आउने संकेत छन्। हप्ताको सुरुवात नयाँ सोच, योजना र ऊर्जा सहित हुनेछ, तर ती योजनाहरूलाई कार्यान्वयन गर्नु अघि स्पष्ट रणनीति बनाउनु आवश्यक छ।मानसिक रूपमा सक्रिय रहनु हुनेछ, तर भावनात्मक असन्तुलन बाट बच्न सुझाव दिइन्छ।

कामकाजमा सुधार आउनेछ। तपाईंको कार्यशैली र समर्पणको प्रशंसा हुन सक्छ तर, सहकर्मी र माथिल्लो तहका व्यक्तिसँग पारदर्शिता राख्नु आवश्यक छ।पुराना कुराहरूले अलमल ल्याउन सक्छन्, त्यसलाई शान्त दिमागले समाधान गर्नुहोस्।
मिडिया, लेखन, प्रविधि वा सिर्जनात्मक क्षेत्रमा काम गर्नेहरूले नयाँ अवसर पाउने सम्भावना छ।कार्यस्थलमा नयाँ काम गर्ने अवसर पाउनुहुनेछ। प्राविधिक कामहरूमा सफलता मिल्नेछ।

व्यवसायमा नयाँ सम्झौता फाइदाजनक हुन सक्छ, तर सबै कागजातहरू ध्यानपूर्वक जाँच गर्नुहोस्।वित्तीय अवस्था सामान्य रहनेछ, तर अचानक खर्च बढ्न सक्छ।बच्चाहरूको अध्ययन, घरको आवश्यकताहरू वा यात्रामा खर्च हुन सक्छ।उधारो वा ठूलो लगानी गर्नु अघि सोचविचार गर्नु आवश्यक छ, विशेषगरी यदि त्यसमा जोखिम छ भने।सप्ताह धपेडीपूर्ण हुने संकेत छ, तर यदि विवेकपूर्वक काम गरियो भने सफलता सम्भव छ।

आफ्नो मानसिक र शारीरिक स्वास्थ्यप्रति सजग रहनुहोस्।यो हप्ता तपाईंले आफ्नो एकाग्रता कायम राख्नुपर्छ । तपाईं बाँकी रहेका कामहरू पूरा गर्न उत्सुक हुनुहुनेछ। निर्माण कार्यमा प्रगति हुनेछ । राजनीतिक व्यक्तिहरूले उच्च पद प्राप्त गर्नेछन्। यो हप्ता महिलाहरूको लागि शुभ रहनेछ । घरको वातावरण रमाइलो रहनेछ। सप्ताहन्तमा यात्रा हुन सक्छ।

उपाय- दैनिक ॐ गम गणपताय नम १०८ पटक जप गर्नुहोस्। प्रत्येक दिन बिहान “गणेश चालिसा” पाठ गर्नुहोस्।

कर्कट राशि

कर्कट राशि भएका व्यक्तिहरूको लागि यो हप्ता घरायसी काममा व्यस्तता रहनेछ। आइतबार व्यापारमा ठूलो लाभ मिल्ने संकेत छ। साथीहरूसँग सुखद समय बिताउने अवसर पाइनेछ। बुबाको सहयोगमा महत्त्वपूर्ण कार्यहरू अगाडि बढ्न सक्छन्।

कार्यक्षेत्रमा राम्रो अवसरहरू प्राप्त हुनेछन् र रचनात्मक काममा पनि रुचि बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। नयाँ घर वा सवारी किन्न सकिने सम्भावना छ। व्यापारमा सोचविचारपूर्वक निर्णय लिन आवश्यक छ। साझेदारीको प्रस्ताव अस्वीकार गर्नु उचित हुनेछ। जागिरमा मेहनतको राम्रो फल प्राप्त हुनेछ, पदोन्नतिको सम्भावना देखिन्छ। विद्यार्थीहरूले कडा परिश्रम गर्नु पर्नेछ, तर परिणाम तत्कालै नआउन सक्छ।

पढाइप्रति पूर्ण ध्यान दिनु आवश्यक छ । नयाँ कलेजमा भर्ना लिनेबारे सोचविचार हुनसक्छ।परिवारका सदस्यहरूको व्यवहार सहयोगी रहनेछ। प्रेमजीवन सुदृढ हुनेछ, प्रेमीलाई उपहार दिन सकिनेछ। वर्तमानमा भइरहेका कार्यमा ध्यान केन्द्रित गर्नु उपयुक्त हुनेछ। भविष्यसँग सम्बन्धित महत्त्वपूर्ण निर्णय लिन सकिनेछ। विवाहित जीवन केही असहज हुन सक्छ। जीवनसाथीको भावना बुझ्न आवश्यक छ। विरोधीहरूलाई कमजोर नठान्नुहोस्।

अत्यधिक कामले थकान दिनेछ । अति उदारताले समस्याहरू निम्त्याउन सक्छ। स्वास्थ्यप्रति लापरवाही नगर्नुहोस्। अज्ञात डर वा मानसिक तनाव अनुभव हुन सक्छ। छिमेकीहरूसँग मनमुटाव हुनसक्छ। सरकारी काममा अवरोध देखिन सक्छ। स्वास्थ्य उतारचढावयुक्त रहनेछ। अनुशासन र संयमता अपनाउनु राम्रो हुनेछ।

उपाय- दैनिक नारायण कवच पाठ गर्नुहोस्। “ॐ नारायणाय नमः” मन्त्र जप गर्नु लाभदायक हुनेछ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूको लागि यो हप्ता ऊर्जा र आत्मविश्वासले भरिएको रहनेछ। तपाईंले सजिलै निर्णय लिन सक्नुहुनेछ र कार्यक्षेत्रमा नेतृत्व क्षमता देखाउने अवसर मिल्नेछ। पारिवारिक जीवनमा सन्तुलन कायम राख्नुपर्छ, नत्र तनाव आउन सक्छ।

पुरानो प्रेमको आगमनले प्रेम सम्बन्धमा तनाव ल्याउन सक्छ। झगडाको सम्भावना रहनेछ, त्यसैले शान्त रहनुहोस्। विवाहितहरूले जीवनसाथीको असामान्य व्यवहारका कारण अलमलमा पर्न सक्छन्। सहमति र धैर्य आवश्यक छ।व्यवसायमा राम्रो सफलता मिल्नेछ।

वेब डिजाइन र अनलाइन काम गर्नेहरूले सानो प्रयासबाट ठूला अर्डर पाउने सम्भावना छ। साझेदारीको प्रस्ताव आएमा त्यसबारे गहिरो सोच विचार गर्नु राम्रो हुनेछ। जागिरमा रहेको व्यक्तिले राम्रो समाचार सुन्नेछन्, तर गोप्य कुरा अरूसँग नबाँड्नुहोस्।विद्यार्थीहरूले पढाइमा आत्मविश्वास राख्नुपर्छ तर घमण्ड गर्नु हुँदैन।

निरन्तर मेहनत नै सफलता ल्याउनेछ । आर्थिक पक्ष सबल रहनेछ । पुराना प्रयासहरूले आम्दानी बढाउनेछ । तर सामाजिक र पारिवारिक खर्च बढ्न सक्छ। ठूलो लगानी गर्नु अघि सोचविचार गर्नुपर्छ । सम्पत्तिमा लगानी गर्नु लाभदायक हुनेछ।स्वास्थ्यमा उतारचढाव देखिन सक्छ। थकान, मानसिक तनाव वा अन्य समस्या देखिएमा बेवास्ता नगर्नुहोस्। समयमै ध्यान दिनु राम्रो हुनेछ ।

उपाय- प्रत्येक दिन सूर्यलाई जल अर्पण गर्नुहोस् । “ॐ नमः शिवाय” मन्त्र जप गर्नुहोस्।

कन्या राशि

यो हप्ता आत्मनिरीक्षण, नयाँ सम्भावना र कार्यक्षेत्रमा अवसरहरू ल्याउनेछ । हप्ताको सुरुवातमा मानसिक उतारचढाव देखिए पनि धैर्य र विवेकले परिस्थिति तपाईँको पक्षमा ल्याउनेछ।जागिर परिवर्तनको अवसर मिल्न सक्छ। व्यवसायमा नयाँ सम्पर्कहरू फाइदाजनक बन्न सक्छन्, तर साझेदारी र कागजी काममा सजग रहनुहोस्।

सप्ताह करियर उन्नति र आर्थिक लाभका लागि अनुकूल रहनेछ। जागिरेहरूले आफ्नो कार्यको प्रशंसा पाउन सक्छन्, पदोन्नतिको सम्भावना पनि देखिन्छ । विदेश रोजगार खोज्नेहरूका लागि बाधाहरू हट्न सक्छन् र सकारात्मक समाचार प्राप्त हुने सम्भावना छ।पेशा र व्यवसायमा उन्नतिको सम्भावना छ। व्यवसायीहरूलाई आर्थिक लाभ र प्रतिस्पर्धीहरूमाथि लाभ मिल्नेछ।

वित्त र मार्केटिङ क्षेत्रमा संलग्नहरूलाई राम्रो मुनाफा मिल्ने संकेत छ।प्रेम र पारिवारिक जीवनमा केही असमझदारी हुन सक्छ। पार्टनरको स्वास्थ्यको ख्याल राख्नुपर्नेछ। विवाहितका लागि पारिवारिक समर्थनले सम्बन्ध बलियो बन्नेछ।विद्यार्थीहरू पढाइप्रति गम्भीर नभएर पछि पर्न सक्छन्।

अनुशासन र ध्यान आवश्यक छ।आर्थिक पक्ष सामान्य रहनेछ। आम्दानी सन्तुलित रहनेछ तर खर्च पनि बढ्न सक्छ। लगानीका निर्णय टार्नु राम्रो। पुराना ऋण तिर्न र बजेट मिलाउन ध्यान दिनु उपयुक्त हुनेछ।स्वास्थ्य सामान्य रहनेछ तर तनाव र निद्रामा समस्या आउन सक्छ। ध्यान, योग र अनुशासित जीवनशैली लाभदायक हुनेछ।

उपाय- दैनिक “गणेश चालिसा” पाठ गर्नु शुभ रहनेछ।

तुला राशि

तुला राशीका जातकहरुका लागि यो हप्ता मिश्रित रहनेछ। आत्मनिरीक्षण, सन्तुलन र नयाँ अवसरहरू आउनेछ । सुरुवात सकारात्मक रहनेछ। स्वास्थ्यमा सुधार, मनमा शान्ति, र टुटेको सम्बन्धमा सुधार देखिनेछ। घरका ठूला-बुढाबाट सहयोग मिल्ने संकेत छन्। पैतृक सम्पत्तिसम्बन्धी विवाद सुल्झन सक्छ ।

हप्ताको दोस्रो भागमा सतर्कता आवश्यक छ। काममा ध्यान दिनुहोस्, अरूको कुरामा नअल्झिनुहोस्। रिसको भरमा निर्णय नगर्नुहोस्। महत्त्वपूर्ण कुरामा नजिकको सल्लाह लिनु राम्रो हुन्छ। पारिवारिक वातावरणमा तनाव आउन सक्छ, तर प्रेमपूर्वक व्यवहारले स्थिति सहज बनाउँछ। प्रेममा अधैर्य नदेखाउनुहोस्, जीवनसाथीबाट साथ पाइनेछ।

कार्यस्थलमा नयाँ जिम्मेवारी मिल्न सक्छ, जसले नेतृत्व क्षमता देखाउने मौका दिनेछ। जागिर परिवर्तनको सोच छ भने समय अनुकूल छ। व्यवसायमा पारदर्शिता र कागजी प्रक्रिया जाँच्नुपर्नेछ। पुराना काममा सफलता मिल्न सक्छ।आर्थिक रूपमा हप्ता सन्तुलित रहला। आम्दानी ठीकठाक, तर खर्च पनि हुनेछ।

ठूलो लगानी नगर्नु राम्रो हुन्छ। ऋण चुक्ता गर्ने र खर्चको व्यवस्थापनमा ध्यान पुर्याउनु लाभदायक हुनेछ।पारिवारिक वातावरणमा केही चिन्ता हुन सक्छ। सदस्यको स्वास्थ्यको ख्याल गर्नुहोस्। जीवनसाथीसँग संवादलाई प्राथमिकता दिनुहोस्। प्रेम सम्बन्धमा समझदारी आवश्यक छ।

उपाय- ॐ श्रीं महालक्ष्म्यै नमः मन्त्र १०८ दैनिक जप्नुहाेस् । शुक्रबार देवी लक्ष्मीलाई कमलको फूल चढाउनुहोस्।

वृश्चिक राशि

यो हप्ता वृश्चिक राशिका लागि निकै अनुकूल रहनेछ । तपाईंले पारिवारिक सहयोग, व्यक्तिगत सफलता र मानसिक शान्तिको अनुभूति गर्न सक्नुहुनेछ । हप्ताको सुरुआतमा यदि कुनै महत्वपूर्ण कार्य सफलतापूर्वक सम्पन्न भयो भने मन प्रशन्न हुनेछ।

पुराना मुद्दा वा कानुनी विवादहरूमा विजय मिल्ने सम्भावना छ । प्रतिस्पर्धात्मक परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूका लागि उत्साहजनक समाचार आउनेछ। जागिरे वर्गका लागि पदोन्नति वा सरुवा जस्ता अवसर आउन सक्छन्। आयका नयाँ स्रोतहरू बन्नेछन् र व्यवसायमा अपेक्षित लाभ प्राप्त हुनेछ।

यदि तपाईं व्यवसाय विस्तारको सोचमा हुनुहुन्छ भने यस हप्ताले राम्रो सहयोग पुर्‍याउनेछ। नयाँ योजनाहरूमा हात हाल्न सक्नुहुन्छ।पुरानो ऋण चुक्ता गर्न सकिने समय हो। खर्च पनि नियन्त्रणमा रहने सम्भावना छ, यद्यपि हप्ताको अन्त्यतिर केही अनावश्यक खर्च बढ्न सक्छ। लगानी गर्दा होशियार हुनुहोस् हडबडी वा आत्मविश्वासमा जोखिम नलिनुहोस्।

परिवारसँग सम्बन्ध मधुर रहनेछ। तपाईंको प्रेम जीवनमा स्थिरता र रमाइलो आउनेछ। प्रेम सम्बन्धमा परिपक्वता देखिनेछ र साथीसँग विशेष समय बिताउने अवसर मिल्नेछ। हप्ताको उत्तरार्धमा कुनै धार्मिक वा पारिवारिक कार्यक्रममा सहभागी हुने सम्भावना छ, जसले मनलाई शान्ति दिनेछ ।

यो हप्ता तपाईंका लागि सफलता, प्रेम, पदोन्नति र धार्मिक उन्नतिका अवसर ल्याउनेछ । आत्मविश्वास कायम राख्नुहोस् तर अति आत्मविश्वासबाट जोगिनुहोस्। पारिवारिक र व्यवसायिक जीवन दुबैमा सन्तुलन कायम गर्न सके उत्तम फल प्राप्त हुनेछ। सामान्यत: स्वास्थ्य राम्रो रहनेछ, मानसिक तनाव नियन्त्रणमा राख्न ध्यान वा ध्यानदायी गतिविधिमा समय दिनु उचित हुनेछ।

उपाय- दैनिक हनुमान पूजामा ध्यान केन्द्रित गर्नुहोस्। हनुमान चालीसा पाठ गर्नु लाभदायक हुनेछ ।

धनु राशि

-यो हप्ता धनु राशिकाहरूका लागि समग्रमा उतार–चढावपूर्ण रहन सक्छ। योजनाबद्ध कार्यहरू पूरा गर्न तपाईंले समय, ऊर्जा र धनको सन्तुलित प्रयोग गर्नुपर्नेछ। हप्ताको शुरुवात व्यस्त रहनेछ, साना कामहरू सम्पन्न गर्न पनि धेरै दौडधूप गर्नु पर्ने अवस्था आउन सक्छ।

पारिवारिक जिम्मेवारी र चिन्ताले मनोबल कमजोर बनाउने सम्भावना छ, जसले पेशागत जीवनमा पनि असर पार्न सक्छ।श्रमिक वर्ग र जागिरेहरूका लागि हप्ता सामान्य रहनेछ। कार्यस्थलमा कुनै पनि लापरवाही नगर्नुहोला। अफिसमा सहकर्मीहरूसँग मतभेद हुन सक्छ, विशेष गरी शुक्रबारतिर। व्यवसायीहरूका लागि हप्ताको सुरुआत लाभदायक हुनेछ, तर हप्ताको मध्यसम्म केही बजार मन्दीले मानसिक दबाब दिन सक्छ।

तथापि, हप्ताको अन्त्यमा स्थिति फेरि अनुकूल बन्नेछ। नयाँ परियोजना, साझेदारी वा अवसरहरूको सुरुवातका लागि उपयुक्त समय आउन सक्छ । आर्थिक दृष्टिले हप्ता सकारात्मक देखिन्छ। आम्दानीका नयाँ स्रोतहरू खुल्ने संकेत छन्। कुनै अड्किएको रकम फिर्ता पाउने सम्भावना पनि देखिन्छ। दीर्घकालीन लगानीका लागि समय राम्रो छ, विशेष गरी सम्पत्ति र स्थिर पुँजीमा। तर शौक वा देखासिकीका नाममा खर्च बढ्न सक्ने भएकाले संयम आवश्यक छ।

पारिवारिक सम्बन्धमा केही समस्याहरू देखा पर्न सक्छन्, तर अन्ततः समाधानतर्फ जान सकिनेछ। सम्बन्ध सुधार गर्न संवाद आवश्यक हुनेछ। प्रेम सम्बन्धमा मतभेद हुन सक्छ, तर खुलेर कुरा गरेमा गलतफहमी हट्न सक्छ। वैवाहिक जीवनमा स्थिरता आउनेछ र तपाईं साथीभाइ तथा आफन्तहरूसँगको सम्बन्ध सुधार गर्नेतर्फ लाग्नुहुनेछ।

स्वास्थ्य सामान्यतः ठीक रहनेछ, तर मौसमी रोगबाट सतर्क रहनु आवश्यक छ। रक्तचापका बिरामीले विशेष ध्यान दिनुपर्नेछ । पर्याप्त आराम, सन्तुलित भोजन र शारीरिक गतिविधिमा ध्यान केन्द्रित गर्नुहोला । यो हप्ता धनु राशि भएका व्यक्तिहरूका लागि आत्मअनुशासन, समझदारी र धैर्य अत्यन्तै महत्वपूर्ण रहनेछ।

उपाय- दैनिक नारायण कवच पाठ गर्नुहोस्। विहानको समयमा सूर्यलाई जल चढाउनुहोस् र “ॐ सूर्याय नमः” जप गर्नुहोस्।

मकर राशि

यो हप्ता मकर राशिका लागि व्यस्तता, चुनौती र अवसरहरूको मिश्रण रहनेछ। इच्छा पूरा हुने संकेत छन्, तर साथमा केही अवरोध र दबाब पनि आउनेछन्। प्रारम्भमा मानसिक तथा शारीरिक थकान हुन सक्छ।

पुराना रोगहरू दोहोरिन सक्ने सम्भावना रहेकोले स्वास्थ्यमा विशेष ध्यान पुर्‍याउनुहोस। खानपान र दिनचर्यामा अनुशासन आवश्यक छ।श्रमिक वर्ग र जागिरेहरूको लागि हप्ता क्रमशः अनुकूल हुँदै जानेछ । कार्यस्थलमा सहकर्मी तथा वरिष्ठहरूको समर्थन पाइनेछ । तपाईंको मेहनतको कदर हुनेछ, र जागिर परिवर्तन वा पदोन्नतिको सम्भावना पनि रहन्छ।

व्यवसायमा पुराना ग्राहकहरूसँग सम्बन्ध सुधार हुने समय हो। केही महत्वपूर्ण सम्झौताहरू अन्तिम चरणमा पुग्न सक्छन्। तथापि, साझेदारीमा चलिरहेको व्यापारमा पूर्ण विश्वास नगर्नुहोस्, र कुनै पनि निर्णय लिँदा अनुभवि व्यक्तिसँग सल्लाह लिनु उचित हुनेछ।

नयाँ सम्झौतामा दस्तावेज ध्यानपूर्वक अध्ययन गर्नुहोस्।परीक्षा, प्रतिस्पर्धा वा सीप विकासतर्फ लागिरहेका व्यक्तिहरूका लागि हप्ता सकारात्मक रहनेछ, यद्यपि अपेक्षित सफलता प्राप्त गर्न नियमित अभ्यास र कडा मेहनत आवश्यक छ।यो हप्ता आर्थिक स्थिरता रहनेछ। आम्दानीका स्रोतहरू चलायमान हुनेछन्।

पुरानो फसेको रकम प्राप्त हुनसक्छ। यद्यपि, अचानक स्वास्थ्य वा घरको आवश्यकताका कारण खर्च बढ्न सक्नेछ। यसकारण फजुल खर्चबाट जोगिनुहोस् र वित्तीय योजनामा अनुशासन अपनाउनुहोस्। लगानी गर्न चाहनुहुन्छ भने हप्ताको अन्त्य उपयुक्त रहनेछ।

यो हप्ता प्रेम सम्बन्धमा मिठास रहनेछ। सँगै समय बिताउने मौका मिल्नेछ। वैवाहिक जीवन सन्तुलित र सहयोगात्मक हुनेछ। पारिवारिक सुख–शान्तिमा केही तनाव आउन सक्छ, तर धैर्य र संवादद्वारा समाधान सम्भव छ ।

हप्ताको सुरुमा पुराना रोग वा मौसमी समस्याले सताउन सक्छ। चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुहोस् र शरीरलाई आराम दिनुहोस्। मानसिक थकान हटाउन ध्यान र योग अभ्यास लाभदायक हुनेछ।

उपाय- दैनिक गणेश चालिसा पाठ गर्नुहोस्। बुधवार वा चतुर्थीका दिन गणेशलाई दूबो अर्पण गर्नुहोस्।

कुम्भ राशि

यो हप्ता कुम्भ राशिले मिश्रित फल दिनेछ । केही क्षेत्रमा प्रगतिको स्पष्ट संकेत देखिए पनि, व्यक्तिगत, पारिवारिक र मानसिक पक्षमा केही उतारचढाव देखिनेछन्। यो हप्ता कुम्भ राशिका जातकहरूको लागि बौद्धिक र मानसिक सन्तुलनको परीक्षा हुनेछ।

यथार्थ बुझ्ने प्रयास गर्नुहोस्, व्यक्तित्वमा स्थिरता ल्याउनुहोस् र नकारात्मकता टाढा राख्नुहोस्। कार्यस्थलमा तपाईंको रचनात्मकता, सोच र कार्यशैलीको प्रशंसा हुनेछ। अनुसन्धान, प्रविधि, शिक्षा, लेखन वा नवप्रवर्तन जस्ता क्षेत्रमा संलग्न व्यक्तिहरूको लागि यो हप्ता निकै फलदायी रहनेछ।

तर, तपाईंको प्रगतिको ईर्ष्या गर्ने व्यक्तिहरू पनि सक्रिय हुन सक्छन्, त्यसैले योजनाहरू गोप्य राख्नु उचित हुनेछ।व्यवसायीहरूका लागि नयाँ साझेदारी वा सम्झौताको प्रस्ताव आउन सक्छ, तर निर्णय गर्नुअघि पूरै अनुसन्धान गर्नुपर्छ।सामन्य आर्थिक गतिविधिमा बित्नेछ। आम्दानी नियमित रहनेछ, तर हप्ताको मध्यतिर आकस्मिक खर्च बढ्न सक्छ – विशेषतः यात्रा, स्वास्थ्य वा घरायसी आवश्यकतामा।बृहत् लगानी, ऋण वा ठूला वित्तीय निर्णयहरू यथासम्भव टार्नुहोस्।

पहिलेको लगानीबाट सानो लाभ प्राप्त हुने संकेत छन्।पारिवारिक पक्षमा केही असन्तुलन आउने संकेत छन्। विशेषतः पितासँग कुनै विषयमा मतभेद हुन सक्छ। पारिवारिक सदस्यहरूसँग अपेक्षाकृत सहयोग नपाउँदा मानसिक रूपमा अलिकति निराशा हुने सम्भावना छ। प्रेम सम्बन्धमा पनि सानो विवाद वा गलतफहमी उत्पन्न हुन सक्छ।

संवाद र समझदारीले मात्रै स्थिति सुधार गर्न सकिन्छ।स्वास्थ्य पक्ष अलि कमजोर रहन सक्छ। पुराना रोग पुनः सक्रिय हुन सक्छन् वा मौसमी रोगले सताउन सक्छ। कार्यक्षेत्रमा बहस वा टकरावभन्दा टाढा रहनुहोस्।

तपाईंको सकारात्मक ऊर्जा लाई निरन्तरता दिनुहोस् र अरूको आलोचना वा ईर्ष्या बाट प्रभावित नहुनुहोस्। योजनाबद्ध ढंगले कार्य गर्दै, शनिबार वा आइतबार केही धार्मिक कार्यमा सहभागी हुनुले मन शान्त हुनेछ।

उपाय- शनिबार हनुमान मन्दिरमा गएर तोरिको तेल र कालो तिलको दियो बाल्नुहोस्। प्रत्येक दिन “ॐ नमः शिवाय” मन्त्रको १०८ पटक जप गर्नुहोस्।

मीन राशि

यो हप्ता उपलब्धिपूर्ण, रचनात्मक र आत्मविश्वासले भरिएको हुनसक्छ । यदि तपाईंले आफ्नो लक्ष्यमा समर्पणसाथ काम गर्नुभयो भने, लामो समयदेखि प्रतीक्षित सफलता प्राप्त हुने प्रबल सम्भावना देखिन्छ । गत हप्ताको तुलनामा यो हप्ता धेरै सहज, फलदायी र उत्साहजनक रहनेछ। हप्ताको सुरुवातमा करियरसम्बन्धी केही सकारात्मक समाचार मिल्न सक्छ। यदि तपाईं स्थानान्तरण, पदोन्नति वा नयाँ अवसरको प्रतीक्षामा हुनुहुन्थ्यो भने त्यसतर्फ प्रगति हुनेछ। कार्यक्षेत्रमा तपाईंको रचनात्मकता, कल्पनाशक्ति र नेतृत्व क्षमताको कदर हुनेछ।

कला, लेखन, संगीत, चिकित्सा वा सेवा क्षेत्रका व्यक्तिहरूको लागि यो हप्ता सम्मान र सफलता दिनेछ। सहकर्मी र वरिष्ठहरूसँग राम्रो सम्बन्ध रहनेछ। व्यापार गर्नेहरूले पुराना ग्राहकबाट लाभ र नयाँ सम्झौताहरू पाउने संकेत छन्।

यो हप्ता आर्थिक रूपमा सन्तुलन रहनेछ। पहिले गरिएको लगानीबाट लाभ मिल्नेछ। आम्दानीका स्रोतहरू स्थिर रहनेछन्, तर हप्ताको अन्त्यतिर धार्मिक वा पारिवारिक कार्यहरूमा खर्च बढ्न सक्छ। अनावश्यक खर्चबाट बच्न बुद्धिमानीपूर्वक निर्णय लिन आवश्यक छ।

पारिवारिक वातावरण सुखद र शान्तिपूर्ण रहनेछ। पुराना विवादहरू समाधान हुनेछन्। जीवनसाथीको साथ र सहयोगले मन बलियो बनाउनेछ। प्रेम सम्बन्धमा गहिरो समझदारी र भावनात्मक निकटता बढ्नेछ।

अविवाहितहरूका लागि विवाह प्रस्ताव आउने योग बनिरहेका छन्। सम्बन्धहरूमा सुधार आउनेछ। प्रेमी-प्रेमिकाबीचको दूरी घट्नेछ । साथीहरूको सहयोगले केही अधुरा कामहरू पुरा गर्न सकिनेछ। स्वास्थ्य सामान्य रहनेछ। पुराना रोगहरूमाथि नियन्त्रण हुनेछ। मानसिक रूपमा पनि शान्ति र सन्तुलन महसुस हुनेछ।

उपाय- सुन्दरकाण्ड पाठ गर्नुहोस् । ॐ विष्णवे नमः मन्त्रको जप गर्नुहोस्।

Skip This
Skip This
Logo