काठमाडौं । साउन महिनाको अन्तिम सोमबार चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा भव्य भक्तिमय उत्सव तथा विशेष महाआरती कार्यक्रम सम्पन्न भएको छ । साउन महिनाको पवित्रता र भगवान् शिवको महिमालाई उजागर गर्ने उद्देश्यले चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना गरेको यो कार्यक्रमले हजारौँ भक्तजनको मन जित्न सफल भएको हो ।
सूर्योदयदेखि सूर्यास्तसम्म मन्दिर परिसर भक्तिमय भजन–कीर्तनको मधुर धुनले गुन्जायमान रहेको थियो । यस्तोमा साँझ साढे ६ बजे विशेष महाआरतीको आयोजनाले कार्यक्रमलाई अझै गरिमामय बनाएको थियो । हजारौँ भक्तजनको उपस्थितिमा सम्पन्न यो महाआरतीले सबैको मनमा आध्यात्मिक ऊर्जा र शान्तिको सञ्चार गरेको थियो ।
मूल पुजारी विदुर न्यौपानेले भालेश्वर महादेव मन्दिरको विशेषता र महिमाबारे प्रकाश पार्दै यो पवित्र तीर्थस्थलमा सच्चा मनले मागिएको कुनै पनि मनोकामना पूरा हुने बताए ।
यसका साथै चन्द्रागिरी हिल्स लिमिटेडले भक्तजनको सुविधालाई प्राथमिकता दिँदै चुस्त व्यवस्थापन पनि गरेको थियो । मन्दिर परिसरमा सहज पूजा–दर्शनको व्यवस्था, स्वच्छता र सुरक्षाको उचित प्रबन्धले भक्तजनहरूले निर्वाध रूपमा भक्ति र आनन्दको अनुभव गर्न पाएका थिए । यस अवसरमा चन्द्रागिरी हिल्सले विशेष टिकट अफर पनि सार्वजनिक गरेको थियो । साउनको अन्तिम सोमबारको अवसरमा केबलकार टिकटमा सामान्यत सोमबार प्रदान गरिने २५ प्रतिशत छुटका अतिरिक्त साँझ ४ बजेपछि टिकटको मूल्य ४०० रुपैया मात्र तोकिएको थियो । यो अफरले थप भक्तजनहरूलाई मन्दिर दर्शन र महाआरतीमा सहभागी हुन प्रोत्साहित गरेको थियो ।
यसअघि साउन महिनाका तीनवटा सोमबारमा पनि चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा विशेष कार्यक्रम र महाआरती सम्पन्न भइसकेका थिए । प्रत्येक सोमबार हजारौँ भक्तजनको उत्साहजनक सहभागिताले मन्दिर परिसर भक्तिमय बनाएको थियो । यी कार्यक्रमहरूको सफलताले अन्तिम सोमबारलाई थप भव्य र विशेष बनाउने प्रेरणा प्रदान गरेको आयोजक चन्द्रागिरी हिल्सले जनाएको छ ।
चन्द्रागिरी भालेश्वर महादेव मन्दिर काठमाडौँ उपत्यकाको मनोरम पहाडी क्षेत्रमा अवस्थित छ । यो मन्दिर भगवान् शिवको पवित्र तीर्थस्थलका रूपमा मात्र नभई प्राकृतिक सौन्दर्य र शान्तिको केन्द्रका रूपमा पनि परिचित रहेको छ । यहाँबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्य र शान्त वातावरणले भक्तजनको मनलाई थप आनन्दित बनाउनुका साथै साउनको पवित्र महिनामा आयोजित भक्तिमय उत्सवले मन्दिरको महिमा र चन्द्रागिरीको सौन्दर्यलाई विश्वसामु चिनाउने अवसर पनि प्रदान गरेको छ ।





























प्रतिक्रिया