काठमाडौं महानगरका सार्वजनिक स्थानमा धुम्रपान गरे ५ सय जरिवाना

काठमाडौं महानगरका सार्वजनिक स्थानमा धुम्रपान गरे ५ सय जरिवाना

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थानमा धूम्रपान गरे आजबाट जरिवाना तिर्नुपर्ने भएको छ ।

नगरसभाबाट चालु आर्थिक वर्ष २०८२–८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको थियो । महानगर प्रहरी बलद्वारा पूर्व सूचना बमोजिम मिति २०८२ भाद्र ०१ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्यक्तिहरूलाई रू ५०० का दरले जरिवाना कारवाही शुरू गरिएको हो । ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ लाई कार्यान्वयन मात्र गर्न लागे महानगरले जनाएको छ । सार्वजनिक स्थानमा धूम्रपान गर्दा अन्य व्यक्ति र बालबालिकालाई पनि असर पर्ने हुँदा नियमन र नियन्त्रणको काम शुरु गरेको महानगरले जनाएको छ ।

महानगरले आज बिहानैबाट नगर प्रहरी लगाएर कारबाही शुरु गरेको छ । महानगरभित्रको सार्वजनिक स्थलमा अत्यधिक धूम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था गरिएको हो ।

त्यस्तै, आजैबाट लागु हुनेगरि तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरे सबै किसिमका मोटरसाईकल स्कुटरलाई एक हजार जरिवाना गरिनेछ । सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जिप, डेलिभरी भ्यान)लाई २५ सय जरिवाना गरिनेछ । मझौला सवारी साधन मिनीबस, मिनीट्रकलगायतलाई ३ हजार ५ सय जरिवाना गरिँदैछ । सबै किसिमका ठूला सवारी साधन बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ ।

प्रचलित कानुनले निषेध गरेको विज्ञापन गरेमा १० हजार जरिवाना गरिनेछ । विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होर्डिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एक लाखसम्म जरिवाना हुन सक्नेछ ।

Logo