काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले हालै ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’को थालनी गरेको छ । यस अभियानको मुख्य उद्देश्य ध्वनि प्रदूषण, धुवाँ, र फोहोर नियन्त्रण गरी काठमाडौं उपत्यकालाई अझ शान्त र सभ्य बनाउनु हो।
यो अभियानले मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनि प्रदूषणले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असरहरूप्रति सचेत गराएको छ । विशेषगरी गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा यसले गम्भीर हानि पुर्याउन सक्ने बताइएको छ।
ध्वनि नियन्त्रणका लागि राति अनावश्यक हल्ला नगर्ने, ठूलो आवाजमा संगीत नबजाउने, र टेलिभिजन वा म्युजिक सिस्टम खोलेर नसुत्ने जस्ता कुराहरूमा ध्यान दिन भनिएको छ। फोनमा कुरा गर्दा हेडफोन प्रयोग गर्न र बिहान सवारी साधन स्टार्ट गर्दा ठूलो आवाज ननिकाल्न पनि सुझाव दिइएको छ।
यसैगरी धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा ध्वनि नियन्त्रण गर्न र मन्दिर, गुम्बा, वा मस्जिदमा पूजा/प्रार्थना गर्दा पनि ध्वनि प्रदूषण नगर्न आग्रह गरिएको छ।
साथै चुरोट वा फोहोर जलाएर धुवाँ प्रदूषण नगर्न, घरबाहिर फोहोर नफाल्न, र कुहिने तथा नकुहिने फोहोरको उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ। पालेका जनावरहरूले छिमेकीलाई अशान्ति नदिने गरी व्यवस्थापन गर्न र ठूलो आवाज निकाल्ने प्रेसर हर्न वा मोडिफाई गरिएका सवारी साधनहरू नचलाउन भनिएको छ।
कानुनी व्यवस्था अनुसार, ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।































प्रतिक्रिया