ताप्लेजुङमा लगाइएको कर्फ्यू जारी

ताप्लेजुङमा लगाइएको कर्फ्यू जारी

केन्द्रबिन्दु
12
Shares

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको सदरमुकाम फुङ्लिङसहित आसपासको क्षेत्रमा लगाइएको कर्फ्यू आज पनि जारी छ ।

जेनजीको प्रदर्शनपछि देशमा सिर्जित विषम परिस्थितिका बीचमा हुनसक्ने सम्भावित हुलदङ्गा र अराजक गतिविधि रोक्न तथा शान्ति, सुरक्षा कायम राख्न बुधबारदेखि कर्फ्यू जारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले आज सूचना प्रकाशित गर्दै बेलुका ७ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका छन् । सेढाईंद्वारा जारी सूचनाअनुसार शनिबार बिहान ६ बजेसम्म जिल्लाभर कर्फ्यू लागू हुनेछ ।

पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा सङ्खुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन, तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लाको सिमानाबाट उत्तर क्षेत्रभित्र कर्फ्यू लागू हुने सूचनामा उल्लेख छ । कर्फ्यूको समयावधिभर कुनै पनि भेला, सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउलगायत गतिविधि गर्न नपाइने जारी सूचनामा उल्लेख गरिएको छ ।

कर्फ्यूको अवधिमा एम्बुलेन्स, वारुणयन्त्र, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकाकर्मी र कूटनीतिक नियोगका व्यक्तिले भने आवतजावतका लागि सवारीसाधन प्रयोग गर्न पाउने छन् । उक्त सुविधाका लागि सेवासँग सम्बन्धित परिचयपत्र वा अन्य कागजात हुनुपर्ने प्रजिअ सेढाईंले जानकारी दिए । कर्फ्यूको उल्लङ्घन गरेमा कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

Skip This
Skip This
Logo