जेनजी आन्दोलनमा गोली खाएकाहरुको घाउमा मलम लगाउँदै आशिका

जेनजी आन्दोलनमा गोली खाएकाहरुको घाउमा मलम लगाउँदै आशिका

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । जेनजी आन्दोलनको अत्यास लाग्दो र कष्टप्रद परिदृश्यमा, जहाँ सडक र अस्पताल दुबैतिर पीडा मात्रै थियो, त्यहीँ बेला एक युवतीले चुपचाप आफ्नो पिठ्युँमा बोकिसकेकी थिइन् मानवताको जिम्मेवारी । उनी हुन्, आशिका तामाङ ।

जेनजी आन्दोलनका घाइतेहरुको चिच्याहट र आर्तनादले अस्पतालका पर्खालहरु थर्किरहेका बेला, कोही आफन्त नभएका युवाहरु, आमाहरु, दाजुभाइहरु, ती अचेत शरीरहरुको स्याहार गर्न नजिक पुगेकी थिइन् आशिका । न त उनले त्यो दिन पत्रकारको ध्यान तान्न खोजिन्, न त सामाजिक सञ्जालको वाहवाहीको अपेक्षा गरिन् । तर, उनी त्यहाँ थिइन् खाना, पानी, मल्हमपट्टी, लुगा, औषधि, र माया बोकेर ।

जेनजी आन्दोलन अघि पनि सामाजिक सेवामा सक्रिय तामाङ अहिले यो आन्दोलनमा घाइते भएका र ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग गर्दै घाउँमा मलमपट्टि लगाउनमा व्यस्त छिन् । उनले निस्वार्थ ढंगले सेवा गर्दै आज उनले सबैको मन जितेकी छन् । तेल, चामल र उपचार खर्चसमेत बाँडिरहेकी उनले अस्पतालमा घाइतेलाई फेर्न लुगा समेत किनेर लगिरहेकी छन् ।

भीडभाडले गञ्जागोल भएका अस्पतालहरूमा, जहाँ नर्स र चिकित्सक आफै थाकेका थिए, त्यहाँ आशिकाले एउटा अभिभावकको जस्तो भूमिका निभाइन् । कोही घाइते बेहोस अवस्थामा थिए, कसैको हातमा गोली लागेको थियो, कसैको छातिमा । तीमध्ये कतिपयको त आजसम्म घरपरिवारसँग सम्पर्क पनि हुन सकेको छैन् । उनी आफै ती अज्ञात बिरामीहरुका लागि आफन्त बनिन् र घाइतेहरुका घरपरिवार सम्म सन्देश पु¥याउन पनि सहयोग गरिन् । उनको सेवा कुनै संस्थाले मागेको थिएन, कुनै राजनीतिक दलले उर्दी दिएको थिएन । त्यो न त प्रचारको रणनीति थियो, न नै लोकप्रियताको खेल । त्यो एउटा सशक्त आत्माको करुण पुकार थियो ‘मानवताको आवाज, जसले पीडामा साथ दिन्छ ।’

उनले नहेरेका विरामी कोही छैनन्, वीर अस्पतालदेखि टिचिङ, सिभिल, र काठमाडौंका अन्य अस्पतालसम्म । हिजो त्यही सामाजिक सञ्जालमा कतिपयले उनलाई गाली गरे, ‘यस्तो पनि समाज सेवा हुन्छ ?’ भन्दै तुच्छ टिप्पणी गरे । आज ती सबै मौन छन् र उनीमाथि गर्व गरिरहेका छन् ।

बझाङका सुभाष बोहरा— जसले आन्दोलनका क्रममा गोली लागेर आफ्नो ज्यान गुमाए, उनको परिवारलाई आशिकाले १ लाख रुपैयाँभन्दा बढी सहयोग गरेकी छन् । ज्यान गुमाएकाहरुको पशुपतिमा दाहसंस्कारको व्यवस्थादेखि लिएर
अस्पतालमा घाइतेहरूसम्म पुग्न उनले कुनै कसर बाँकी राखेकी छैनन् ।

यस्तो समयमा, जब परिवार नै अस्पतालमा पुग्न सक्दैन, आशिका उनीहरूको ‘दिदी’ बनिन्, ‘छोरी’ बनिन्, । अझ प्रष्ट भाषामा भन्ने हो भने प्रहरीको बन्दुकको गोलि लागेर अस्पतालको शैयामा छट्पटाइरहका घाइतेहरुका लागि दुखाइ निको पार्ने सिटामोल बनेर आशिका उभिएकी छन् भन्दा फरक पर्दैन् । आज हामीले उनीजस्तो पात्रको कथा लेख्नुपर्छ, सुनाउनुपर्छ, ताकि हाम्रो पुस्ता ‘नेतृत्व’ भनेको कुर्सी होइन, मानवीयता हो भन्ने पाठ सिकुन् ।

Logo