काठमाडौं । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो ।
सरकारी कार्यालयहरू भोलि आइतबारदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन् । त्यस्तै, गृह मन्त्रालयमा देशभरका सीडीओहरूसँग सुरक्षाबारे छलफल भएको छ । जहाँ उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्रहरू परिचालन गर्ने निर्णय पनि भएको छ । नेपाली सेनाको टोली पनि आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय भइरहेको पनि गृहले जनाएको छ ।
मौसम विभागका अनुसार, यो अविरल वर्षाको मुख्य कारण बङ्गालको खाडीबाट आएको निम्न चापीय प्रणाली हो, जसले नेपालमा आद्र्र हावाको प्रवाह बढाएको छ । जसकारण हिजो असोज १७ गते बेलुकी देखि असोज २० गते सोमबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा मध्यमदेखि भारी वर्षा हुने अनुमान छ, जसमा केही ठाउँमा अत्यधिक वर्षा समेत हुन सक्छ ।
त्यसैगरी काठमाडौं उपत्यकामा शनिबारदेखि सोमबारसम्म उपत्यका प्रवेश र निकासमा सवारी साधनहरू प्रतिबन्धित छन् । अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ, भने पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, बीपी राजमार्ग जस्ता मुख्य राजमार्गहरूमा यात्रा जोखिमपूर्ण छ । मकवानपुर जिल्ला प्रशासनले काँठी राजमार्गमा साँझ ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौंडा–भैसे–काठमाडौं सडकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी प्रतिबन्ध लगाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घरेलु उडानहरू पनि स्थगित छन्, जसमा काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटारका उडानहरू प्रभावित भएका छन् । बागमती र पूर्वी राप्ती नदीहरूमा रेड अलर्ट जारी गरिएको छ । नदी किनारका बासिन्दाहरूलाई उच्च स्थानमा सर्न सल्लाह दिइएको छ ।
स्थानीय सरकारहरू र सुरक्षा बलहरूले डोजर, एक्सकाभेटर जस्ता भारी मेसिनरी तयार अवस्थामा राखेका छन् ।































प्रतिक्रिया