वीरगञ्ज
मदिराको बिक्रीमा टाँसिने राजश्वको नक्कली स्टिकर प्रकरणमा पक्राउ परी वीरगञ्ज कारागारमा रहेका चारजनालाई आन्तरिक राजश्व कार्यालय, पर्साले कैद तथा जरिवानाको सजायँ सुनाएको छ ।
कैद सजायँ पाउनेमा विराटनगर महानगरपालिका–१ बस्ने हरिओम ट्रेडिङ प्रालिका सञ्चालक कुलप्रसाद राजभण्डारी, भारतको पूर्वी चम्पारण रक्सौल–२० घर भएका वीरेन्द्रकुमार महतो, मोरङ विराटनगर–११ मधुमारा बस्ने प्रकाश घिमिरे र धादिङ धुनिबेँसी–३ घर भई काठमाडौँ बूढानीलकण्ठ–१० बस्ने राजकुमार भण्डारी समेतलाई कैद सजायँ सुनाइएको आन्तरिक राजश्व कार्यालय, पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले बताए ।
अन्तःशुल्क ऐन, २०५८ को दफा १६ (१) को खण्ड ‘घ’ मा उल्लिखित कसुर ठहरेकाले निजहरुलाई जनही नक्कली स्टिकर प्रयोग गर्दा कायम हुने बिगो र बिगो बराबरकै जरिवाना गरी ६ करोड ७८ लाख ७० हजार ११६ र एक वर्षको कैद सजायँ सुनाइएको छ ।
०७४ भदौ १९ गते राजधानीको हरिओम ट्रेडिङ प्रालिले भारतबाट करीब तीन करोड ५० लाख मूल्य बराबरको ८६ हजार ७४० थान नक्कली स्टिकर वीरगञ्ज भन्सारको वैधानिक च्यानलबाट नेपाल भित्र्याइरहेका बेला पक्राउ गरिएको थियो । यस मुद्दामा दोषी ठहर भई फरार रहेका विनोदकुमार गुप्ता, मधुकुमारी चौधरी, सतिस गुप्ता र राहुल गुप्तालाई मुलुकी ऐनको दण्ड सजायँ महल नम्बर ३८ बमोजिम थप दश बर्ष कैद सजायँ, बिगो र बिगोबमोजिमको जनही ६ करोड ७८ लाख ७० हजार ११६ जरिवाना तिर्नुपर्ने देखिन्छ ।
गुप्ता भने सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासको आदेशबाट रिहा भए पनि पक्राउ परेकाहरुसँग पटकपटक बयान लिने क्रममा गुप्ताको नाम दोहोरिइरहँदा उनलाई पनि सोधपुछका लागि बोलाउँदा आएका थिएनन् । सो स्टिकर बजारमा गए सरकारलाई चार करोड घाटा हुने थियो ।
रासस































प्रतिक्रिया