कैदीबन्दी लाई कसैले लुकाउने र आश्रय दिने गरेको पाइए कडा कारबाही हुने

कैदीबन्दी लाई कसैले लुकाउने र आश्रय दिने गरेको पाइए कडा कारबाही हुने

केन्द्रबिन्दु
15
Shares

चितवन। जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १५६ जना फर्किएका छैनन् । कारागार कार्यालयले असोज २० गतेसम्म कारागार नफर्किए कारबाही हुने भन्दै सूचना जारी गरे पनि हालसम्म उनीहरू नफर्किएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले तोकिएको समयभित्र ५७८ जना कैदीबन्दी फर्किएको बताए। जसमध्ये ५३९ जना पुरुष र ३७ जना महिला रहेका छन् । उनीहरूसँग दुई जना नाबालक पनि फर्किएका छन् । भागेका कैदीबन्दीमध्ये ६० जनाको परिवारसँग सम्पर्क हुन सकेको र अरुको हकमा परिवारसँग सम्पर्क भए पनि नफर्किएको उनले बताए।

‘जेनजी’ आन्दोलनका क्रममा भदौ २५ गते यस कारागारबाट ७४२ जना कैदीबन्दी भागेका थिए । उनीहरूलाई पटक–पटक सूचना जारी गरी सम्पर्कमा आउन भनिएको थियो । यहाँबाट भागेका आठ जना कैदीबन्दीमध्ये चारजना भैरहवा कारागार, धादिङ, सुर्खेत, बागलुङ् र नुवाकोट कारागारमा एक÷एकजना पुगेका छन् ।

यस्तै, कारागार कार्यालय चितवनमा पनि विभिन्न जिल्लाबाट भागेका २१ जना कैदीबन्दी आएका कार्यालय प्रमुख ढुङ्गानाले बताए । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई अब कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए।

यस्तै, फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसूरदार ठानी कारबाही गरिने जनाइएको छ ।

Logo