विपिन जोशीका आफन्त भन्छन्- हामी अझै आशामा छौं, अहिले नै जीवित छैनन् भन्न मिल्दैन

विपिन जोशीका आफन्त भन्छन्- हामी अझै आशामा छौं, अहिले नै जीवित छैनन् भन्न मिल्दैन

केन्द्रबिन्दु
18
Shares

महेन्द्रनगर । विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ ।

उक्त भिडियो कन्फरेन्समा जोडिनुभएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले जानकारी गराएको बताए ।

“आज छुट्ने लिष्टमा विपिनको नाम छैन फेरि पनि हामी निरन्तर अपडेट गर्छौँ भनेर इसरायलबाट भनिएको छ”, जोशीले भने, “अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उहाँ छुट्नेमा पूर्ण आशावादी छौँ, अहिले नै उहाँ छैनन् भन्न मिल्दैन ।”

जोशीका अनुसार इजरायली प्रतिनिधि, संयुक्त राज्य अमेरिकाबाट विपिनका आमा र बहिनी, इजरायलस्थित नेपाली राजदूत र आफूसहितको भिडियो कन्फरेन्स आज बिहान भएको बताए ।

विपिनको नाम जीवित बन्दको सूचीमा नरहेको समाचारहरू प्रकाशित भइरहेका बेला विपिनको परिवारजनले भने अर्को चरणमा छुट्नेमा आशा रहेको जनाएको छ । दुई वर्षको अवधिमा भएका युद्धविराम र बन्दी साटासाट क्रममा हमासले २०० भन्दा बढी बन्धक यसअघि नै छाडेको थियो ।

विपिनको सकुशल रिहाइका लागि उनको परिवार र नेपाल सरकार लामो समयदेखि प्रयासरत छन् । विपिनका आमा र बहिनी उनको खोजी कार्यमा पहलकदमी गरिदिन गुहार माग्न अमेरिका पुगेका छन् भने बुवा महानन्द जोशी महेन्द्रनगरमा छोरा विपिनको व्यग्र प्रतीक्षामा छन् ।

Skip This
Skip This
Logo