हिमपातसँगै चिसो बढ्यो, जनजीवन प्रभावित

हिमपातसँगै चिसो बढ्यो, जनजीवन प्रभावित

केन्द्रबिन्दु
0
Shares

म्याग्दी ।

हिमाली जिल्ला म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा सोमबार हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । हिमपात र चिसोले तिहारको भाइटीकालाई असर गरेको छ ।

मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश भूभागमा हिउँ परेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने मुक्तिनाथ आसपासका क्षेत्रमा पनि हिमपात भएको स्थानीयवासीले बताएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, लोमान्थाङ, चराङ, मराङ लगायत बस्तीमा हिमपात भएको जानकारी दिए। “केही दिन यता बढेको चिसोले धाराको पानी जम्न थालेको थियो,” उनले भने, “आजको हिउँले चिसो बढेर जनजीवनलाई प्रभावित बनाएको छ ।”

हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ । उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको छ । सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ । हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले याकचौँरी, भेंडाच्याङ्ग्रा, घोडा, खच्चरलगायत पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका छन् ।

विगत वर्षमा उपल्लो मुस्ताङका बासिन्दा चिसो बढेपछि म्याग्दी, कास्की, काठमाडौँ, चितवन, रुपन्देही, बागलुङ, पर्वत लगायत जिल्लामा घुम्ती व्यापारका लागि आउँथे । यसपालि कोरोना महामारीको जोखिमका कारण स्थानीयवासी जाडो छल्न बेंसी झरेका छैनन् ।

मुस्ताङ सदरमुकाम जोमसोम आसपासका डाँडामा पनि हिउँ परेर सेताम्मे भएको छ । यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीमा पनि चिसो बढेपछि जनजीवन कष्टकर भएको छ ।

गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गाउँ नजीकैका डाँडा हिउँले सेताम्मे भएको, चिसो बढेको र सर्वसाधारणले घरभित्रै बसेर तिहार मनाएको जानकारी दिए। चिसो बढेपछि म्याग्दीका कृषकले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेंसी झार्न थालेका छन् ।

गाउँलेले बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका गाई, भैँसी, चौँरी र भेडाबाख्राको गोठ चिसो बढेसँगै गाउँ बस्ती आसपासका जङ्गल र पाखामा झारेका छन् । चिसो बढे पनि पानी भने परेको छैन । आकाशमा बदली भएकाले चिसो बढेको हो । गहुँ, जौ, तोरी, आलुलगायत हिउँदे बालीको सिँचाइका लागि वर्षात् आवश्यक परेको कृषकले बताएका छन् ।

Skip This
Skip This
Logo