डोलेश्वरदेखि गोकुलधामसम्म पितृका नाममा महादीप बालेर रातभर जाग्राम बस्दै श्रद्धालु

डोलेश्वरदेखि गोकुलधामसम्म पितृका नाममा महादीप बालेर रातभर जाग्राम बस्दै श्रद्धालु

केन्द्रबिन्दु
9
Shares

भक्तपुर। बालाचतुर्दशी पर्वका दिन आज भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि गोकुलधामसम्मका महादेव मन्दिरसम्म रातभर जाग्राम बसेर महादीप बाल्नेको भीड लागेको छ ।

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरी जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएपछि भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले आफ्ना नजिकका शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन् ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर परिसरमा ५०० भन्दा स्थानीयले आफ्ना दिवङ्गत पितृको सम्झनामा आज साँझ दीप तथा महादीप बालेका छन् । आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप, तथा महादीप बालेर जाग्राह बस्नेहरुका लागि मन्दिरको सत्तलमा व्यवस्थापन गरेको सूर्यविनायक नगरपालिका–८ सिपोडोलका स्थानीय एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री तथा डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासभिव हरिशरण बस्नेतले जानकारी दिए।

केही वर्ष अगाडिसम्म पशुपति जाँदै आएका यहाँका बासिन्दा डालेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिङ्गको व्यवस्था भएपछि डोलेश्वर महादेव मन्दिरको मूल दीपबाट दीप प्रज्वलन गरी रातभरि जाग्राम बस्न थालेका छन् । उनीहरु भोलिपल्ट बिहानै स्नान गरी १०८ शिवलिङ्ग र महादेव मन्दिर परिसरमा शतबीज छरेर बालाचर्तुदशी पर्व मनाउँछन् ।

चाँगुनारायण नगरपालिका–५ छालिङ्गस्थित गोकुलधाममा पनि आज रातभर जाग्राम बस्नेहरुको भीड छ । मच्छेनारायण मन्दिरसँगै रहेको १०८ शिवलिङ्गमा भोलि बिहान शतबिज छर्ने र आज रातभरि मन्दिर परिसरमा जागाम बसेर आफ्ना पितृका सम्झनामा महादीप बाल्ने व्यवस्था गरेसँगै यहाँका बासिन्दाले पशुपतिको विकल्पको रुपमा यस मन्दिरलाई प्रयोग गरेको गोकुलधाममा स्थानीय युवा गोकर्ण पुरीले जानकारी दिए ।

उनले भने, “यहाँका बासिन्दाले मन्दिरमै आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप महादीप बालेर जाग्राम बसेका छन् । रातभर जाग्राम बस्नेलाई मन्दिरमा बस्ने र सुरक्षाको व्यवस्था गरिएको छ । यहाँका बासिन्दालाई अहिले पशुपतिको घुइँचोमा जानुपर्दैन, आफ्नै गाउँमा सजिलैसँग पर्व मनाउन थालेका छन् ।”

सूर्यविनायककै सिपाडोलस्थित आशापुरी महादेव मन्दिर, वडा नं. ७ गुण्डुको अनन्तलिङ्ेश्वर महादेव मन्दिर, वडा नं. १ सिरुटारको चरखण्डीश्वर महादेव मन्दिर, सोमलिङेश्वर महादेव मन्दिर र गुप्तेश्वर महादेव मन्दिरमा यहाँका बासिन्दाले रातभरि जाग्राम बसेर दीप तथा महाद्धीप बालेर आज रातभर जाग्राम बस्ने छन् ।

बुधबार बिहान शतबीज छर्दै बालाचतुदर्शी पर्व पनि यही मनाउनेछन् । मन्दिरसँगैको खोलामा दीप बिसर्जन गर्ने र शतबीज छर्ने व्यवस्था भएपछि सहज भएको हो । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारस्थित सङ्गमेश्वर महादेव मन्दिरमा महादीप बालेर रातभचर जाग्राम बसेका छन् ।

त्यस्तै चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरमा यहाँका बासिन्दाले दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बसेका छन् । विगतमा पशुपतिमा जार्दै आएका यहाँका बासिन्दाले मन्दिरमै १०८ शिवलिङ्गसमेत बनाएपछि बालाचतुर्दशी यहीँ मनाउन थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति भक्तपुरका पूर्वप्रमुख नवराज गेलालले जानकारी दिए ।

चाँगुनारायण–८ सुडालमा रहेको ठूली ब्रम्हायणी मन्दिर परिसरको शिरानमा निर्मित पशुपतिनाथको मन्दिर र चौसठ्ठी शिवलिङ्गमा बाला चतुर्दशीको अवसरमा मेला लागेको छ । विगत चार वर्षदेखि स्थानीयले महादीप बालेर रातभर जाग्राम बस्दै बिहान सतबीज छर्ने र होमहोमादी पूजा गरेको लक्ष्मण पुरीले जानकारी दिए ।

Skip This
Skip This
Logo