काठमाडौं। ‘नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्ट’ले आफ्नो पाँचौँ वार्षिक साधारण सभाको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्य, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, चर्चित कवि रजनी मिलाल लगायत आधा दर्जन कविहरूले कविता वाचन गरे।
पूर्वमन्त्री शाक्यले ‘अस्तित्वको खोजी’ र ‘प्रेमको दस्तावेज’ शीर्षकका कविता वाचन गर्दै संस्थाले नेपालमण्डलको इतिहास, संस्कृति र बहुभाषिक साहित्यको संरक्षणमा गरेको योगदानको प्रशंसा गरे। भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले ‘देश आज एउटा पासपोर्ट खोजिरहेको छ’ शीर्षक कविता वाचन गरे भने डा. स्मृति शाक्यले ‘अनित्यताको वोध’ शीर्षक कविता वाचन गरे।
यस्तै अन्य कविहरूले पनि आफ्नो कविता वाचन गरे। अञ्जना ताम्राकारले ‘सहिदकी आमाको पुकार’,रजनी मिलालले ‘एउटा रोमाञ्चक पत्र’ र ‘अस्मिता’, वागमती भाईले ‘हुन्छ’ , दीपेन्द्र श्रेष्ठले ‘बाल्यकाल र म’ , सन्ध्या बज्राचार्यले ‘सकारात्मक सन्देश’ र सञ्जित महर्जनले ‘प्रिय’ शीर्षकका कविता वाचन गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य ट्रष्टकी सञ्चालक विजय लक्ष्मी शाक्यले राखिन् भने सञ्चालन रावी शाक्यले गरेका थिए । कार्यक्रममा ट्रष्टका निवर्तमान अध्यक्ष र पदाधिकारीहरूलाई डा. अजयक्रान्ति शाक्यले मायाको चिनो प्रदान गरे। २०७७ सालमा स्थापना भएको नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्टले नेपालमण्डलको सभ्यता, कला र साहित्यको संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।































प्रतिक्रिया