पर्वत। डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले मोदिबेणी दिब्यधाममा आश्रित ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। स्वर्गीय समाजसेवी तथा राजनीतिक व्यक्तित्व डिल्लीराम लामिछानेको १०औँ स्मृति दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य रेखा गुरुङले स्व. लामिछाने निष्ठा, त्याग र आदर्शको प्रतीक भएको उल्लेख गर्दै सामाजिक सेवामार्फत उनका मूल्य र आदर्शलाई जीवित राख्ने प्रतिष्ठानको भूमिकाको प्रशंसा गरिन्।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र प्रतिष्ठानकी प्रमुख संरक्षक सीता काफ्ले लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष हिरामणी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य मोदिबेणी दिब्यधामका अध्यक्ष केशवदास बैरागीले राखेका थिए भने सञ्चालन प्रतिष्ठानका सचिव सुरेन्द्र केसीले गरेका थिए।
स्व. डिल्लीराम लामिछानेको जन्म २०२५ साल असोज ३ गते पर्वतको कटुवाचौपारीमा भएको थियो। क्यान्सर रोगका कारण उनको ४७ वर्षको उमेरमा २०७२ साल पुस १२ गते निधन भएको थियो।





























प्रतिक्रिया