तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
33
Shares

२०८२ पुष १३ देखि १९ गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

यो साता मेष राशिका हुनेहरूका लागि समग्रमा शुभ र प्रगतिमूलक रहनेछ । घरभित्र र बाहिर दुवै स्थानमा तपाईंले आफन्त, परिवारजन तथा नजिकका व्यक्तिहरूबाट राम्रो साथ–सहयोग पाउनुहुनेछ। कुनै पनि काम गर्दा एक्लोपन महसुस हुनेछैन, जसले आत्मबल बढाउनेछ।

कार्य क्षेत्रको कुरा गर्दा, तपाईं आफ्नो टिमको सहयोगमा ठूलो जिम्मेवारी वा महत्वपूर्ण प्रोजेक्ट समयभन्दा अगाडि नै पूरा गर्न सफल हुनुहुनेछ। तपाईंको कामप्रति वरिष्ठ अधिकारीहरू प्रभावित हुनेछन् र प्रशंसा पनि प्राप्त हुनेछ।

रोजगारीको खोजीमा रहनु भएकाहरूका लागि यो साता अत्यन्तै सकारात्मक छ—मनचाहेको काम वा अवसर प्राप्त हुने सम्भावना प्रबल देखिन्छ।

साझेदारीमा व्यवसाय गर्नेहरूका लागि यो साता विशेष लाभदायक रहनेछ। व्यापारमा आकस्मिक फाइदा र आम्दानी वृद्धि हुने संकेत छन्। साता मध्यतिर कुनै प्रभावशाली वा प्रतिष्ठित व्यक्तिसँग मिलेर काम गर्ने अवसर आउन सक्छ, जसले भविष्यमा ठूलो लाभ दिन सक्छ।

राजनीति, समाजसेवा वा सार्वजनिक क्षेत्रमा संलग्न व्यक्तिहरूको लोकप्रियता र प्रभाव बढ्नेछ। साता अन्त्यतिर पद, जिम्मेवारी वा सम्मान प्राप्तिको योग पनि देखिन्छ।

यो साता अचानक धनलाभका अवसरहरू देखिन सक्छन्। कृषि, किराना व्यापार, खुद्रा व्यवसाय तथा सेवा क्षेत्रमा संलग्न व्यक्तिहरूको आयमा वृद्धि हुने सम्भावना छ। नयाँ प्रोजेक्ट सुरु गर्दा आइरहेका अड्चनहरू हट्नेछन्।

साता उत्तरार्धमा घरमा धार्मिक कार्यक्रम, पूजा–पाठ वा कुनै पवित्र स्थानको यात्रा गर्ने अवसर मिल्न सक्छ । वैवाहिक जीवन सामान्य र सन्तुलित रहनेछ। यो साता तपाईं समाजमा छिटो लोकप्रिय बन्न सक्नुहुन्छ। ललित कला, संगीत, साहित्य वा सिर्जनात्मक कार्यप्रति रुचि बढ्नेछ। कार्यक्षेत्रमा उत्कृष्ट प्रदर्शनका कारण उच्च अधिकारीहरूबाट प्रशंसा प्राप्त हुनेछ।

साता सुरुमा अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले खर्चमा नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ।

बालबालिकाको पढाइमा केही व्यवधान देखिन सक्छ। लोकपरम्परा वा सामाजिक मान्यताको आलोचना गर्दा विवाद निम्तिन सक्छ, त्यसैले संयम अपनाउनुहोस्।

मित्रहरूका रिस वा गलत बुझाइका कारण मनमुटाव हुन सक्छ। कुनै परिजनको व्यवहारले मन दुख्न सक्छ, जसको असर साता मध्यतिर मानसिक तनावको रूपमा देखिन सक्छ। फर्जी आरोप, कानुनी झन्झट वा विरोधीहरू सक्रिय हुन सक्छन्, त्यसैले कागजात, बोलचाल र निर्णयमा विशेष सतर्कता अपनाउनु आवश्यक छ।

उपाय- हनुमान चालीसाको नियमित पाठ गर्नुहोस्।

वृष राशि

यो साता वृष राशिका जातकहरूका लागि मिश्रित फल दिने देखिन्छ । यस साता तपाईंले आफ्नो बोली र व्यवहारमा विशेष संयम अपनाउन आवश्यक छ। अरूसँग कुरा गर्दा नम्र र शान्त भएर प्रस्तुत हुनु तपाईंका लागि लाभदायक हुनेछ।

जागिर पेशा व्यक्तिहरूका लागि साता सुरुबाटै कामको चाप बढ्ने सम्भावना छ। कार्यस्थलमा वरिष्ठ वा सहकर्मीबाट अपेक्षित सहयोग नपाउँदा मन खिन्न हुन सक्छ। यस समयमा अरूमा अत्यधिक भरोसा गर्नु वा सानातिना कुरामा विवादमा पर्नु हानिकारक हुन सक्छ, त्यसैले आफ्नो काममा ध्यान केन्द्रित गर्नु बुद्धिमानी हुनेछ।

अधुरो काम पूरा गर्न कहिलेकाहीँ चतुर्याईं र रणनीतिक सोच अपनाउनुपर्ने अवस्था आउन सक्छ । तर गलत बाटो वा अनैतिक उपायबाट टाढा रहनु राम्रो हुन्छ।

साता मध्यतिर जग्गा–जमिन, घर वा पैतृक सम्पत्तिसँग सम्बन्धित विवादले तनाव दिन सक्छ। यस्ता विषयमा कोर्ट–कचहरी वा सरकारी कार्यालय धाउनु पर्ने सम्भावना पनि देखिन्छ। सम्भव भए विवाद शान्तिपूर्ण संवादबाट समाधान गर्ने प्रयास गर्नुहोस्

विद्यार्थीहरूमा पढाइप्रति मन नलाग्ने, ध्यान भंग हुने अवस्था देखिन सक्छ। उच्च शिक्षाको तयारी गरिरहेकाहरूले केही अवरोध वा ढिलाइ महसुस गर्न सक्छन्। तर निरन्तर अभ्यास र धैर्यले अन्ततः सफलता मिल्नेछ। प्रतियोगी परीक्षामा भने राम्रो प्रदर्शनको योग छ।

यस साता कुनै विषयलाई लिएर आफन्त वा परिवारजनबाट आलोचना वा विरोध सामना गर्नुपर्न सक्छ। निजी सम्बन्धको विषयमा चिन्ता बढ्न सक्छ। प्रेम सम्बन्धमा सावधानीपूर्वक अगाडि बढ्नु आवश्यक छ। आवेगमा निर्णय नगर्नुहोस्। वैवाहिक जीवन सुखमय बनाउन जीवनसाथीको भावना र अपेक्षाको कदर गर्नु अत्यन्त जरुरी हुनेछ।

व्यवसायमा परिवर्तन गर्ने सोच बनाउँदै हुनुहुन्छ भने यो साता अनुकूल छ। धार्मिक गतिविधि, पूजा–पाठ वा आध्यात्मिक कामप्रति रुचि बढ्नेछ। उच्च अधिकारीहरू तपाईंको कामबाट सन्तुष्ट रहनेछन्।

मित्र र नातागोतासँग मनका कुरा बाँड्दा मानसिक हलुकापन महसुस हुनेछ। नयाँ सम्पत्ति खरिद गर्ने योजना बन्न सक्छ। साना दाजु–भाइ वा दिदी–बहिनीलाई आर्थिक सहयोग गर्दा मनमा सन्तोष मिल्नेछ।

साता सुरुमा भावनात्मक रूपमा असन्तुलन हुन सक्छ। जीवनसाथीको अपेक्षा तपाईंप्रति बढ्न सक्छ। एकाग्रता कम हुँदा कामको नतिजा ढिलो आउन सक्छ। क्रोध नियन्त्रण गर्नुहोस्, कठोर शब्द प्रयोग नगर्नुहोस्। कार्यस्थलमा उबाऊ वा मन नपर्ने काम दिइन सक्छ, जसले तनाव बढाउन सक्छ।

अनलाइन कारोबार, बैंकिङ वा डिजिटल लेनदेन गर्दा विशेष सतर्कता अपनाउनु आवश्यक छ।

उपाय- दुर्गा चालीसा बिहान–साँझ पाठ गर्नुहोस्।यसले मानसिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्नेछ।

मिथुन राशि

मिथुन राशिका हुनेहरूका लागि यो साता अत्यन्तै शुभ रहनेछ । तपाईंले करियर र व्यवसायलाई अगाडि बढाउने दिशामा गरेका प्रयासहरू सफल हुनेछन्। परिश्रमको राम्रो फल मिल्नेछ र पहिले असम्भव जस्तो देखिएका कामहरू पनि सजिलै समयमै सम्पन्न हुनेछन्। आत्मविश्वास बढ्नेछ र कामप्रति उत्साह रहनेछ ।

साता सुरुमा लामो दूरीको यात्राको योग देखिन्छ। यो यात्रा सुखद हुनुका साथै नयाँ सम्बन्ध र सम्पर्क विस्तार गर्ने खालको हुनेछ। पढाइ, परीक्षा वा प्रतियोगिताको तयारी गरिरहेकाहरूका लागि समय निकै अनुकूल छ। विद्यार्थीहरूले लामो समयदेखि पर्खिएको शुभ समाचार पाउन सक्छन्। उच्च शिक्षासँग सम्बन्धित अड्चनहरू हट्ने संकेत छन्। मार्केटिङ, बिक्री वा लक्ष्यमा आधारित काम गर्नेहरूले अपेक्षाभन्दा छिटो लक्ष्य पूरा गर्न सक्छन्। साता उत्तरार्धतिर ठूलो व्यापारिक सम्झौता वा डिल हुने सम्भावना पनि देखिन्छ।

सम्बन्ध र पारिवारिक जीवनको हिसाबले पनि यो साता राम्रो रहनेछ। परिवारमा आपसी प्रेम र समझदारी कायम रहनेछ। प्रेम सम्बन्ध अझ गहिरो बन्नेछ र वैवाहिक जीवन सुखद रहनेछ। ससुराली पक्षबाट सहयोग, सम्मान वा सकारात्मक व्यवहार प्राप्त हुन सक्छ । प्रेमी जोडीहरूले विवाहको तयारी सुरु गर्न सक्छन्। घरमा पाहुनाको आगमनले वातावरण चहलपहलपूर्ण रहनेछ र परिवारमा कुनै शुभ कार्य सम्पन्न हुन सक्छ।

करियरको दृष्टिले यो साता भाग्यले साथ दिनेछ। जागिरपेशा व्यक्तिहरूले आफ्नो क्षमता र महत्व प्रमाणित गर्न सफल हुनेछन्। सिर्जनात्मक काम, कला वा नयाँ सोचसँग सम्बन्धित कार्यमा रुचि बढ्नेछ। घरका आवश्यक सामान खरिद गर्ने योग छ। कानुनी मामिलामा सफलता वा राहत मिल्न सक्छ। आर्थिक पक्षमा खर्चभन्दा बचततर्फ ध्यान जानेछ, यद्यपि धार्मिक कार्यमा मन खुलेर खर्च गर्न सक्नुहुन्छ। यो साता प्रेम र रोमांसका लागि पनि निकै राम्रो रहनेछ।

यद्यपि केही कुरामा सावधानी आवश्यक छ। पुराना गल्तीबाट पाठ सिक्ने प्रयास गर्नुहोस्। साता मध्यतिर नजिकका व्यक्तिसँग लेनदेन गर्दा अविश्वासको भावना आउन सक्छ, त्यसैले सोचविचार गरेर निर्णय लिनुहोस्। यो साता खाली बस्नु तपाईंका लागि ठीक हुँदैन, नत्र मानसिक तनाव बढ्न सक्छ। सानातिना नकारात्मक कुरालाई बेवास्ता गर्नु राम्रो हुनेछ। उच्च रक्तचापको समस्या देखिन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस् र धेरै मसलेदार तथा भारी खाना नखानुहोस्। शेयर बजार वा जोखिमपूर्ण लगानीमा सोचसम्झेर मात्र कदम चाल्नु उपयुक्त हुनेछ।

उपाय- हनुमान चालिसा नियमीत पाठ गर्नुहाेस् ।

कर्कट राशि

कर्कट राशिका जातकहरूका लागि यो साता निकै व्यस्त र दौडधुपपूर्ण रहने संकेत देखिन्छ। अचानक ठूलो जिम्मेवारी आउन सक्छ, जसका कारण व्यक्तिगत जीवनसँगै कार्यक्षेत्रमा पनि कामको चाप बढ्नेछ। वरिष्ठ र सहकर्मीहरूबाट अपेक्षा गरेजस्तो सहयोग नपाउँदा केही निराशा महसुस हुन सक्छ।

यस साता भावनामा बगेर निर्णय लिनु तपाईंका लागि हानिकारक हुन सक्छ। जागिर परिवर्तन गर्ने सोच बनाइरहनु भएको छ भने मनभन्दा बढी दिमाग प्रयोग गरेर निर्णय लिनु उपयुक्त हुनेछ। प्रतिकूल परिस्थितिमा धैर्य राख्नुहोस् र बोली तथा व्यवहारमा संयम नछोड्नुहोस्। साझेदारीमा व्यवसाय गरिरहनु भएको छ भने पैसाको हिसाब–किताब स्पष्ट राखेर मात्र अगाडि बढ्नुहोस् र कसैमाथि आँखा चिम्लेर भरोसा नगर्नुहोस्।

साता उत्तरार्धमा जागिरपेशा व्यक्तिहरूले केही कठिनाइको सामना गर्न सक्छन्। काममा सानो लापरवाहीले पनि वरिष्ठको असन्तोष झेल्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले जिम्मेवारीका साथ काम गर्नु आवश्यक छ। प्रेम सम्बन्धमा गलतफहमी बढ्न सक्छ, यस्तो बेला झगडाभन्दा संवादमार्फत समस्या समाधान गर्नु बुद्धिमानी हुनेछ।

कम प्रयासमै नयाँ काममा सफलता मिल्ने योग छ। प्रेमीलाई प्रस्ताव राख्ने अवसर आउन सक्छ। पारिवारिक सम्बन्धहरू मजबुत बन्नेछन्। नयाँ व्यापार सुरु गर्ने सम्भावना पनि देखिन्छ। दैनिक ज्यालादारी गर्नेहरूको आम्दानी बढ्न सक्छ। सुख–सुविधाका सामग्रीमा खर्च बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ र साता अन्त्यतिर धार्मिक स्थल भ्रमणको योजना बन्न सक्छ। दाम्पत्य जीवन निकै रोमांटिक रहने संकेत छन्।

तर स्वास्थ्यतर्फ ध्यान दिनु आवश्यक छ, किनकि पुराना रोग फेरि बल्झिन सक्छन्। अचानक खर्च बढ्ने सम्भावना छ, त्यसैले आर्थिक संयम अपनाउनुहोस्। अरूको भावनाको सम्मान गर्नुहोस् र नकारात्मक सोच भएका व्यक्तिको संगतबाट टाढा रहनुहोस्। मन अकारण विचलित हुन सक्छ, यस्तो बेला बालबालिकासँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। बालबालिकाको व्यवहारका कारण अभिभावक केही चिन्तित हुन सक्छन्, तर धैर्य र समझदारी अपनाउनु आवश्यक हुनेछ।

उपाय- ॐ नम शिवाय दैनिक १०८ जाप गर्नुहाेस् ।

सिंह राशि

यो साता भाग्यले राम्रो साथ दिने देखिन्छ । तपाईंले आफ्नो बुद्धि र विवेक प्रयोग गरेर जीवनका धेरै जटिल समस्या सजिलै समाधान गर्न सक्नुहुनेछ । जागिरपेशा व्यक्तिहरूका लागि पूरा साता अनुकूल रहनेछ । कार्यक्षेत्रमा तपाईंको कामको खुलेर प्रशंसा हुनेछ र वरिष्ठ तथा सहकर्मीहरूबाट अपेक्षित सहयोग प्राप्त हुनेछ।

कामको सिलसिलामा ठूलो जिम्मेवारी आउन सक्छ । पद, प्रतिष्ठा र प्रभाव बढ्ने योग छ, जसले तपाईंको मान–सम्मानमा वृद्धि गर्नेछ। व्यवसाय गर्नेहरूका लागि यो साता मनचाहो लाभ दिनेछ । दैनिक आम्दानी र बजारमा तपाईंको विश्वासनीयता बढ्नेछ। नयाँ साझेदारीको सम्भावना देखिन्छ र यस्तो साझेदारी भविष्यमा लाभदायक सावित हुन सक्छ ।

साता उत्तरार्धतिर स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनु आवश्यक हुनेछ। पुरानो रोग बल्झिन सक्छ वा मौसमसँग सम्बन्धित समस्या देखिन सक्छ, त्यसैले लापरवाही नगर्नुहोस् । पछिल्लो समय प्रेम सम्बन्धमा मनमुटाव चलेको थियो भने यो साता गलतफहमी हट्नेछ र सम्बन्धमा पुनः मिठास आउनेछ। यस साता पितातर्फबाट विशेष सहयोग र समर्थन प्राप्त हुनसक्छ ।

कार्यस्थलमा तपाईंको पकड अझ बलियो बन्नेछ । दाम्पत्य जीवनमा देखिएका अनबन हट्नेछन् र पारिवारिक वातावरण सुखद रहनेछ । व्यापारसँग सम्बन्धित चुनौतीहरू सजिलै समाधान हुनेछन् । सरकारी कामकाज बिना अवरोध पूरा हुने सम्भावना छ। उच्च अधिकारीहरूको साथ–सहयोग मिल्नेछ र प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क मजबुत बन्नेछ। आम्दानी बढ्ने संकेत छन्। स्वास्थ्यसम्बन्धी समस्याबाट राहत मिल्न सक्छ। युवाहरूका लागि नयाँ रोजगारीको अवसर प्राप्त हुने सम्भावना पनि देखिन्छ।

तर साता सुरुमा केही चुनौतीपूर्ण अवस्था आउन सक्छ। तपाईंमाथि गलत आरोप लाग्न सक्ने योग देखिन्छ, त्यसैले बोलचाल र व्यवहारमा सतर्क रहनुहोस्। पढाइमा अवरोध आइरहेको छ भने सम्बन्धित अधिकारी वा गुरुजनको सहयोग लिनु राम्रो हुनेछ। शनिबार कामकाजी महिलाहरूले आफ्नो सुरक्षामा विशेष ध्यान दिनु आवश्यक देखिन्छ।

साझेदारसँग मतभेद बाहिर आउन सक्छ। फर्जी फोनकल वा ठगीबाट बच्नुहोस् र कसैको जमानत वा ग्यारेन्टी लिनु उपयुक्त हुँदैन। जसको भलो गर्न खोज्नुहुन्छ, त्यही व्यक्तिबाट धोका पाउने सम्भावना भएकाले सावधानी अपनाउनुहोस्। प्रेम सम्बन्धका विषयमा पनि केही तनाव रहन सक्छ।

उपाय- प्रत्येक दिन ॐ नमो भगवते बासुदेबाय नम १०८ जाप गर्नुभयो भने मानसिक शान्ति, स्थिरता र भाग्यमा सुधार आउनेछ।

कन्या राशि

यो साता अत्यन्तै शुभ र लाभदायक रहनेछ । तपाईंले जुनसुकै काम सुरु गर्नुभयो, त्यसमा सफलता मिल्ने सम्भावना बलियो छ। लामो समयदेखि राम्रो रोजगारीको खोजीमा हुनुहुन्छ वा ठूलो डिल, सम्झौता वा कन्क्ट्र्याक्टका लागि प्रयास गरिरहनु भएको छ भने यो साता तपाईंको चाहना पूरा हुन सक्छ। यस काममा कुनै नजिकको मित्रले महत्वपूर्ण सहयोग गर्ने देखिन्छ। पहिलेदेखि जागिरमा रहेका व्यक्तिहरूको कार्यक्षेत्रमा लोकप्रियता बढ्नेछ र वरिष्ठ तथा सहकर्मीहरू तपाईंको काम र व्यवहारबाट सन्तुष्ट रहनेछन्।

साता मध्यतिर घरायसी विषयसँग सम्बन्धित कुनै ठूलो निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। यस्तो बेला हतार नगरी वरिष्ठ व्यक्ति वा शुभचिन्तकहरूको सल्लाहलाई महत्व दिनु आवश्यक हुनेछ, नत्र समस्या समाधानको सट्टा झन् जटिल हुन सक्छ।
साता उत्तरार्धमा प्रिय आफन्त वा नजिकको व्यक्तिको घर आगमनले घरमा खुसीको माहोल बन्नेछ। परिवारसँग रमाइलो गर्दै समय बिताउने अवसर मिल्नेछ। प्रेम सम्बन्धको दृष्टिले यो साता पूर्ण रूपमा अनुकूल छ। प्रेमी–प्रेमिकाबीच समझदारी र आत्मीयता बढ्नेछ।

विदेशसँग सम्बन्धित व्यापार गर्नेहरूलाई ठूलो व्यावसायिक सम्झौता मिल्न सक्छ। नयाँ प्रविधि र सीप सिक्न तपाईं उत्साहित हुनुहुनेछ। गम्भीर साहित्य, आध्यात्मिक विषय वा क्लासिक चलचित्रप्रति रुचि बढ्नेछ। जीवनस्तरमा सुधार आउने संकेत छन् र पारिवारिक समस्याहरूको समाधान हुने सम्भावना छ। साता अन्त्य आर्थिक रूपमा निकै शुभ रहनेछ। अविवाहित व्यक्तिहरूका लागि विवाहसम्बन्धी सकारात्मक कुरा अगाडि बढ्न सक्छ। पुराना साथीहरूसँग भेटघाट भएर मन प्रफुल्लित हुनेछ। समग्रमा साता उत्तरार्ध विशेष शुभ रहनेछ।

तर केही सावधानी पनि आवश्यक छ। राजनीति वा सार्वजनिक गतिविधिमा संलग्न व्यक्तिहरूले केही कठिनाइको सामना गर्न सक्छन्। मानसिक तनाव वा उदासीबाट बच्न ध्यान र मेडिटेशन उपयोगी हुनेछ। शारीरिक र मानसिक थकान महसुस हुन सक्छ। कुनै गोप्य कुरा बाहिर आउन सक्ने भएकाले बोली र व्यवहारमा सतर्क रहनुहोस्। छोटो दूरीको यात्रामा थकान हुन सक्छ। आइतबार र सोमबार स्वास्थ्य कमजोर रहन सक्छ, विशेष गरी पेटसम्बन्धी समस्या वा संक्रमणको सम्भावना देखिन्छ, त्यसैले खानपानमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ।

उपाय- प्रत्येक दिन गणेश भगवानको पूजा गर्दा दूबो अर्पण गर्नुहोस् र गणेश चालीसाको पाठ गर्नुहोस्।

तुला राशि

यो साता मिश्रित फल दिने देखिन्छ। महत्वाकांक्षा बढ्नेछ, अगाडि बढ्ने चाहना प्रबल रहनेछ, तर त्यससँगै खर्च र जिम्मेवारी पनि बढ्न सक्छन्। त्यसैले यो साता कुनै पनि निर्णय गर्दा सन्तुलन कायम राख्नु सबैभन्दा जरुरी हुनेछ।

जागिरपेशा व्यक्तिहरूले काममा विशेष सतर्कता अपनाउनुपर्ने समय हो। नियम, प्रक्रिया वा निर्देशनलाई बेवास्ता गर्दा हानि हुन सक्छ। साता उत्तरार्धतिर अचानक यात्रा, स्थानान्तरण वा कामसँग सम्बन्धित दौडधुप बढ्न सक्छ। भाग्य मध्यम रहने भएकाले मेहनतपछि मात्र नतिजा प्राप्त हुनेछ।

व्यवसाय गर्नेहरूका लागि यो साता उतार–चढावयुक्त रहनेछ। आम्दानी र खर्चबीच असन्तुलन महसुस हुन सक्छ। लेनदेन गर्दा निकै सावधानी अपनाउनु आवश्यक छ। पुरानो ऋण वा देनदारी समयमा नतिरे कानुनी वा आर्थिक झन्झट बढ्न सक्छ। घरको सजावट, मर्मत वा आवश्यक सामग्रीमा खर्च हुन सक्छ, जसले बचतलाई असर गर्न सक्छ। अहिले नयाँ लगानीबाट टाढा रहनु उपयुक्त हुनेछ।

प्रेम सम्बन्धमा केही दूरी वा मतभेद महसुस हुन सक्छ। साना कुरालाई ठूलो नबनाउनुहोस्। विवाहित व्यक्तिहरूले जीवनसाथीसँग खुलेर संवाद गरे समस्याहरू सजिलै समाधान हुन सक्छन्। साता सुरुमा जीवनसाथीसँग घुम्न जाने वा घरमै सानो जमघट तथा पार्टी आयोजना गर्ने योजना बन्न सक्छ।

घरका कुनै वृद्ध सदस्यको स्वास्थ्यले चिन्ता दिन सक्छ, त्यसैले परिवारसँग समय बिताउनु र उनीहरूको हेरचाह गर्नु आवश्यक हुनेछ। यात्राको चाप र मानसिक तनावका कारण थकान वा कमजोरी महसुस हुन सक्छ। खानपान र निद्रामा ध्यान दिनुहोस्।

शिक्षासम्बन्धी अवरोधहरू हट्नेछन् र बालबालिकाले अभिभावकप्रति सम्मान देखाउनेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्न सक्छ। कठिन परिस्थितिमा पनि तपाईंको मनोबल उच्च रहनेछ। धर्म र अध्यात्मतर्फ झुकाव बढ्नेछ। पुरानो उधार फिर्ता आउने सम्भावना छ।

तर केही सावधानी आवश्यक छ। पुराना कानुनी मामिलाहरू फेरि सक्रिय हुन सक्छन्। चिडचिडेपनका कारण दाम्पत्य जीवन प्रभावित हुन सक्छ। तपाईंको उदारताको गलत फाइदा उठाउने प्रयास हुन सक्छ। नजिकको आफन्तसँग मनमुटाव भई मानसिक तनाव वा निराशा बढ्न सक्छ। बनिरहेका काममा बाधा अड्चन आउन सक्छ।

उपाय- श्री गणपति अथर्वशीर्षको पाठ गर्नुहोस्।

वृश्चिक राशि

यो साता समग्रमा मिश्रित तर सुधारतर्फ उन्मुख रहनेछ । योग, ध्यान र आत्मचिन्तनका माध्यमबाट मानसिक शान्ति प्राप्त गर्न सक्नुहुनेछ। नयाँ व्यक्तिसँग चिनजान बढ्न सक्छ र सामाजिक दायरा विस्तार हुनेछ। कार्यालयमा अड्किएका वा बाँकी रहेका कामहरू पूरा हुँदा मन हलुका हुनेछ। नयाँ प्रोजेक्ट सुरु गर्ने सोच पनि अगाडि बढ्न सक्छ। जीवनसाथीसँग अघिदेखि चलेका मतभेदहरू क्रमशः हट्दै जाने संकेत देखिन्छ।

आर्थिक पक्ष यस साता राम्रै रहनेछ। आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ, जसले आर्थिक आत्मविश्वास बढाउनेछ। पढाइमा गरेको मेहनतको राम्रो फल मिल्नेछ। जागिरको सिलसिलामा विदेश जाने अवसर पनि केही जातकहरूका लागि देखिन सक्छ। भाग्यले पनि साथ दिने भएकाले प्रयासको प्रतिफल अवश्य पाइनेछ।

तर स्वास्थ्यको दृष्टिले भने साता भरि उतार–चढाव रहन सक्छ। शारीरिक कमजोरी वा थकानका कारण काममा मन नलाग्ने अवस्था आउन सक्छ। त्यसैले खानपान, आराम र दिनचर्यामा ध्यान दिनु आवश्यक हुनेछ। घुँडामा थकान वा दुखाइ महसुस हुन सक्छ।

प्रेम सम्बन्धका विषयमा यो साता मिश्रित प्रभाव रहनेछ। कतिपय अवस्थामा भावनात्मक मजबुती बढे पनि कहिलेकाहीँ जीवनसाथी वा पार्टनरसँग मतभेद देखिन सक्छ। काम र जिम्मेवारीका कारण परिवारसँग समय कम बिताउनुपर्ने अवस्था आउन सक्छ, जसले मनमा असन्तुष्टि ल्याउन सक्छ।

यो साता तपाईंको दिनचर्या अनुशासित रहनेछ। मेहनतको सार्थक परिणाम देखिन थाल्नेछ। सामाजिक गतिविधिमा तपाईं सक्रिय रहनुहुनेछ र मानिसहरूले तपाईंको उदार स्वभावको प्रशंसा गर्नेछन्। सरकारी सेवामा रहेका व्यक्तिहरू आफ्ना कामबाट वरिष्ठहरूलाई सन्तुष्ट पार्न सफल हुनेछन्। साता मध्यतिर परिवारसँग घुमफिर गर्ने योजना बन्न सक्छ। सम्पत्ति खरिद–बिक्रीका लागि यो साता अनुकूल देखिन्छ।

तर साताको सुरुमा मन अलमलिन सक्छ। महत्वपूर्ण निर्णय लिन गाह्रो हुने, गलत दिशातर्फ आकर्षण बढ्ने वा कुनै जटिल विषयमा अनावश्यक रूपमा फस्ने सम्भावना छ। रिसका कारण कुरा लम्ब्याउनु हानिकारक हुन सक्छ, त्यसैले संयम आवश्यक हुनेछ। खुद्रा व्यापार गर्नेहरूलाई केही समस्या आउन सक्छ। बालबालिकाले पढाइमा लापरवाही नगर्नु राम्रो हुनेछ। साता अन्त्यतिर कामसँग सम्बन्धित तनाव केही बढ्न सक्छ, तर धैर्य राखे विस्तारै अवस्था सम्हालिँदै जानेछ।

उपाय- ‘ॐ नमो नारायणाय’मन्त्रको एक माला दैनिक जप गर्नु लाभदायक हुनेछ।

धनु राशि

यो साता समग्रमा सकारात्मक र प्रगतिमूलक रहनेछ। तपाईंको सोच स्पष्ट रहनेछ र आत्मविश्वास बढ्नेछ। अघिदेखि अड्किएका कामहरू विस्तारै अघि बढ्नेछन् र नयाँ अवसरहरू पनि देखिन थाल्नेछन्। मेहनतको उचित फल पाउने समय भएकाले कामप्रति उत्साह रहनेछ।

जागिरपेशा व्यक्तिहरूका लागि कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ, तर तपाईंले त्यसलाई राम्रोसँग सम्हाल्न सक्नुहुनेछ। वरिष्ठ अधिकारीहरूबाट सहयोग र मार्गदर्शन मिल्नेछ। व्यवसाय गर्नेहरूका लागि नयाँ योजना वा विस्तारको सोच सफल हुन सक्छ। टाढाको यात्रा वा बाहिरी स्थानसँग सम्बन्धित कामबाट लाभ हुने संकेत छन्।

आर्थिक पक्ष सामान्यभन्दा राम्रो रहनेछ। आम्दानी स्थिर रहनेछ र केही नयाँ स्रोत पनि खुल्न सक्छन्। अनावश्यक खर्चमा नियन्त्रण गर्न सके बचत बढ्नेछ। पढाइमा ध्यान दिने विद्यार्थीहरूका लागि समय अनुकूल छ, मेहनत अनुसारको नतिजा मिल्नेछ।

पारिवारिक जीवन सन्तुलित रहनेछ। परिवारसँग समय बिताउँदा मन हलुका हुनेछ। प्रेम सम्बन्धमा आपसी समझदारी बढ्नेछ र भावनात्मक निकटता महसुस हुनेछ। विवाहित व्यक्तिहरूका लागि दाम्पत्य जीवन सामान्य र सहयोगपूर्ण रहनेछ।

स्वास्थ्यको दृष्टिले साता ठीकठाक रहनेछ, तर यात्रा, कामको चाप वा लापरवाहीका कारण थकान महसुस हुन सक्छ। खानपान र आराममा ध्यान दिनु आवश्यक हुनेछ। साता अन्त्यतिर धार्मिक वा आध्यात्मिक गतिविधितर्फ मन आकर्षित हुन सक्छ, जसले मानसिक शान्ति दिनेछ।

कुल मिलाएर यो साता धनु राशिका जातकहरूका लागि आशा, अवसर र आत्मविश्वास बढाउने खालको रहनेछ। धैर्य र सकारात्मक सोच राख्न सके राम्रो परिणाम प्राप्त

उपाय- भगवान विष्णुको पूजा गरी श्री विष्णु सहस्त्रनामको पाठ गर्नुहोस्।

मकर राशि

यो साता सुरुमा निकै शुभ र सक्रिय रहनेछ । जागिरपेशा व्यक्तिहरूलाई यात्रा गर्नुपर्ने अवसर आउन सक्छ। नयाँ सवारी साधन किन्ने वा योजना बनाउने सोच विकसित हुन सक्छ। धर्म तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ र मानसिक शान्ति प्राप्त हुनेछ। तपाईंको पराक्रम र आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापारमा गरिएका सम्झौता वा डिलबाट लाभ उठाउने योग छ।

मन सृजनात्मक कार्यहरूमा रमाउनेछ र नयाँ विचार तथा योजना बनाउन उत्साह रहनेछ। व्यवसायमा अपेक्षित सफलता प्राप्त हुने प्रबल सम्भावना छ। सामाजिक जीवनमा तपाईंको प्रदर्शन राम्रो रहनेछ र मान–सम्मान बढ्नेछ। घरमा कुनै मांगलिक वा शुभ कार्यको रूपरेखा बन्न सक्छ। कार्यक्षेत्रको वातावरण सामान्यतः शान्त र सन्तुलित रहनेछ।

यस साता व्यवहारमा सावधानी अपनाउनु आवश्यक छ। वरिष्ठ व्यक्तिहरूको आत्मसम्मानमा चोट नपुर्‍याउने ख्याल राख्नुहोस्। विवाद आएमा शान्तिपूर्वक समाधान खोज्नु लाभदायक हुनेछ। कहिलेकाहीँ तपाईंले अकेलोपन महसुस गर्न सक्नुहुनेछ, तर परिस्थितिबाट भाग्नु उचित छैन। कार्यक्षेत्रमा अधिकार देखाउने प्रयासले नकारात्मक प्रभाव पार्न सक्छ।

शारीरिक स्वास्थ्यमा सानो चुनौती देखिन्छ। विशेषगरी मंगलवारमा नसहरूमा दुखाइ वा तानिनुको समस्या हुन सक्छ। अचल सम्पत्ति खरिद गर्दा धेरै सतर्क रहनु पर्छ, योजना र सल्लाहबिना निर्णय गर्दा नोक्सानीको सम्भावना छ।

कुल मिलाएर, मकर राशिका जातकहरूले यो साता सक्रियता, ध्यान र सोचविचारका साथ अघि बढ्दा राम्रो लाभ र सफलता प्राप्त गर्न सक्नेछन्। संयम र सतर्कता अपनाउनु अत्यन्त आवश्यक हुनेछ।

उपाय- प्रत्येक दिन सूर्योदयको समयमा ‘ॐ नमः शिवाय’ मन्त्रको जप गर्नु लाभदायक हुनेछ।

कुम्भ राशि

यो साता सौभाग्य र सफलताले भरिएको रहनेछ। तपाईंले धेरै समयदेखि रोकिएका कामहरू पूरा गर्ने अवसर पाउनुहुनेछ र सबै क्षेत्रबाट सकारात्मक परिणाम प्राप्त हुनेछन्।

जागिरपेशा व्यक्तिहरूका लागि यो साता विशेष लाभदायक रहनेछ। करियर अगाडि बढाउने नयाँ अवसरहरू खुल्नेछन्। पदोन्नति, नयाँ जिम्मेवारी वा राम्रो जागिरको प्रस्ताव आउने योग देखिन्छ। तर कुनै ठूलो निर्णय लिनु अघि वरिष्ठ वा अनुभवी व्यक्तिहरूको सल्लाह लिनु आवश्यक हुनेछ।

व्यवसाय गर्नेहरूका लागि यो साता लाभदायक रहनेछ। आम्दानी राम्रो रहनेछ, तर खर्च पनि बढ्न सक्छ। व्यवसाय विस्तार वा नयाँ लगानीको अवसर आउन सक्छ। साता उत्तरार्धमा साझेदारीको प्रस्ताव लाभदायक साबित हुन सक्छ।

राजनीतिमा संलग्न व्यक्तिहरूले उच्च पद पाउने अवसर पाउनेछन्। आफ्नो क्षमता कुशलतापूर्वक प्रयोग गरेर सफल हुने योग छ। शेयर मार्केटमा लगानी लाभदायक रहने सम्भावना छ। पिता वा वरिष्ठ समान व्यक्तिबाट मार्गदर्शन प्राप्त हुनेछ। शिक्षा सम्बन्धी खर्च गर्नुपर्ने अवसर आउन सक्छ।

व्यक्तित्वमा सकारात्मक परिवर्तन आउनेछ, जसले गर्दा व्यक्तिगत सम्बन्धहरू मधुर हुनेछन्। सामाजिक गतिविधिमा सक्रिय रहनुहुनेछ र योगदान दिने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको चर्चा हुनेछ र जीवनसाथीको नजरमा सम्मान बढ्नेछ। साता मध्य विशेष रूपले शुभ रहनेछ। साता अन्त्यतिर प्रेमीजनलाई उपहार दिने अवसर पनि मिल्न सक्छ।

तर साता सुरुमा केही नकारात्मकता देखिन सक्छ। अभिभावकहरूले किशोरावस्थाका बालबालिकाको व्यवहार र संगतमा सतर्क रहनु आवश्यक छ। बालबालिकालाई शिक्षा र लक्ष्यमुखी बन्न प्रेरित गर्नुहोस्। वित्तीय लेनदेनमा सावधानी अपनाउनु पर्छ, अचानक सम्झौता रद्द हुन सक्छ। अरूको बहकावटमा नपर्नुहोस् र काल्पनिक विचारमा नफस्नुहोस्। गलत कामबाट आफ्नो साखमा असर नपरोस्।

आर्थिक स्थिति मजबूत रहनेछ। लगानीले भविष्यमा राम्रो लाभ दिने संकेत छ, तर बजेटको ख्याल राख्न आवश्यक छ। प्रेम सम्बन्धमा समझदारी र विश्वास बढ्नेछ। विवाहित व्यक्तिहरूको गृहस्थ जीवन सुखमय रहनेछ।

उपाय- शिव महिम्ना स्तोत्रको दैनिक पाठ गर्नुहोस्। यसले सौभाग्य र मानसिक शान्ति प्रदान गर्नेछ।

मीन राशि

मीन राशिका जातकहरूका लागि यो साता अत्यन्तै शुभ, सम्मान र सफलताले भरिएको रहनेछ। भाग्य, मेहनत र सही व्यक्तिहरूको साथले तपाईंलाई अगाडि बढाउनेछ। करियरमा ठूलो सकारात्मक परिवर्तन देखिनेछ। सत्ता, प्रशासन वा प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध बलियो हुनेछ, जसले गर्दा रोकिएका कामहरू छिट्टै पूरा हुनेछन्। कार्यालयमा तपाईंको कामको प्रशंसा हुनेछ र मान–सम्मान बढ्नेछ।

व्यवसाय गर्नेहरूका लागि साता निकै लाभदायक रहनेछ। साता मध्यतिर ठूलो डिल फाइनल हुन सक्छ, जसले आम्दानीमा राम्रो वृद्धि ल्याउनेछ। बजारमा तपाईंको प्रतिष्ठा बढ्नेछ।

आर्थिक स्थिति बलियो रहनेछ। आम्दानी बढ्नेछ र पुरानो रोकिएको पैसा फिर्ता मिल्ने सम्भावना छ। तर ठूलो लाभसँगै जिम्मेवारी पनि बढ्नेछ।

प्रेम जीवन उत्कृष्ट रहनेछ। प्रेमीजनबाट आश्चर्यचकित गर्ने उपहार पाउने योग छ। सम्बन्धलाई परिवारको स्वीकृति प्राप्त हुने सम्भावना छ। विवाहित जीवनमा पनि आपसी समझ र रोमांस कायम रहनेछ।

परिवारमा सुख–शान्ति र धार्मिक वातावरण रहनेछ। घरका महिलाहरू धर्म र पूजा-पाठमा बढी रुचि देखाउनेछन्।

कामको व्यस्तताका कारण थकान महसुस हुन सक्छ, त्यसैले स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। सन्तुलित आहार र पर्याप्त आराम आवश्यक छ। साता सुरुमा आर्थिक मामिलामा अनुकूलता छ। बैंकिङ र वित्त सम्बन्धी कामबाट लाभ प्राप्त हुनेछ। दिइएको ऋण फिर्ता मिल्ने सम्भावना छ। कार्यक्षेत्रमा मनपर्ने स्थानान्तरणको अवसर आउन सक्छ। जीवनस्तरमा सुधार हुनेछ। प्रतियोगी परीक्षामा सहभागी विद्यार्थीले राम्रो सफलता पाउनेछन्।

पैतृक व्यवसायमा बडाहरूसँग सल्लाह लिनु लाभदायक हुनेछ। विदेश यात्राका लागि पनि यो साता राम्रो छ। प्रेमीजनसँग रोमाञ्चक भेट को योजना बन्न सक्छ। वित्तीय लेनदेनमा सतर्क रहनु आवश्यक छ र अरूको कुरा तुरुन्त विश्वास नगर्नुहोस्। विवादमा नफस्ने र शान्तिपूर्वक समाधान खोज्ने प्रयास गर्नुहोस्।

धैर्य राख्दा परिस्थितिहरू क्रमशः सामान्य हुनेछन्। पुराना नकारात्मक विषयहरू अचानक सामने आउन सक्छन्। तौल बढी भएका व्यक्तिहरूले स्वास्थ्यमा विशेष ध्यान दिनु पर्छ। योग र व्यायाम आफ्नो जीवनशैलीको हिस्सा बनाउनु लाभदायक हुनेछ।

उपाय- प्रत्येक दिन पूजा गर्दा श्री राम रक्षा स्तोत्रको पाठ गर्नु लाभदायक हुनेछ । हनुमान चालिसा सधैं पाठ गर्नुहाेस् ।

Logo