वीरगञ्ज। गोर्खाली सेनाले ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई पराजित गरेको ऐतिहासिक पर्सागढी युद्धको स्मरणमा यही पुस १९ गते २११औँ विजय उत्सव भव्य रूपमा मनाइने भएको छ। पर्सागढी नगरपालिका, नेपाली सेनाको श्रीजङ्ग गण र पर्सागढी मन्दिर व्यवस्थापन समितिको सहकार्यमा विजय उत्सव आयोजना गर्न लागिएको हो।
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकका अनुसार विसं १८७१ पुस १८ र १९ गते भएको पर्सागढीको युद्ध नेपाललाई उपनिवेश हुनबाट जोगाउन निर्णायक सिद्ध भएको ऐतिहासिक घटना हो। “गोर्खाली सेनाको त्यो विजयका कारण नेपाल आफ्नो पहिचानसहित अस्तित्वमा रहन सफल भयो,” उनले भने, “त्यही ऐतिहासिक उपलब्धिलाई चिरस्थायी बनाउने उद्देश्यले प्रत्येक वर्ष विजय उत्सव मनाउँदै आएका छौँ।”
नेपाली सेनाको तर्फबाट ब्यान्डबाजासहित ऐतिहासिक वेशभूषामा पदयात्रा, राष्ट्रिय गीतमा विशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रम गरिने श्रीजङ्ग गण पर्साका प्रमुख सेनानी लोकेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार यस वर्षको विजय उत्सवलाई अझ सभ्य र व्यवस्थित ढङ्गले सम्पन्न गर्ने तयारी गरिएको छ ।
पर्सागढी मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले ऐतिहासिक युद्धस्थल अतिक्रमणको चपेटामा परेको विषयमा चिन्ता व्यक्त गरेका छन्। समितिका पूर्वअध्यक्ष वृजमोहन चौधरीका अनुसार विगतमा करिब १८९ बिघा क्षेत्रफलमा फैलिएको युद्धस्थल हाल अतिक्रमणका कारण साँघुरिँदै डेढ बिघामा सीमित भएको छ। “ऐतिहासिक पर्सागढीको जग्गा संरक्षण गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने अवस्था आएको छ,” उनले बताए ।
विसं १८७१ मा भएको पर्सागढी युद्धमा अङ्ग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए भने गोर्खाली सेनाको नेतृत्व रञ्जित चौधरीले गरेको बताइन्छ । स्थानीय बासिन्दाले समेत हातहतियारसहित युद्धमा सक्रिय भूमिका खेलेको इतिहास छ । यही ऐतिहासिक योगदानको सम्मानस्वरूप विजय उत्सव मनाउँदै पर्सागढी क्षेत्रको संरक्षण र प्रवद्र्धनमा सबैको ध्यानाकर्षण गराउने आयोजकहरूको उद्देश्य रहेको छ ।





























प्रतिक्रिया