तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
6
Shares

२०८२ माघ ११ देखि १७ गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

यो साता मिश्रित फल दिने देखिन्छ। आर्थिक र मानसिक समस्या नआओस् भन्नका लागि सुरुबाटै काम, समय र खर्चको राम्रो व्यवस्थापन गरेर हिँड्नु उपयुक्त हुनेछ। यस साता साना–साना काम पूरा गर्न धेरै दौडधुप गर्नुपर्ने हुन सक्छ। सोचेजस्तो काम समयमा पूरा नहुन सक्छ र बीच–बीचमा अड्चन आउन सक्छ।

साताको सुरुमा सन्तानसँग सम्बन्धित समस्या ले तपाईंलाई चिन्तित बनाउन सक्छ, तर साताको अन्त्यतिर यिनै समस्यामा राहत मिल्नेछ। अविवाहित जातकका लागि विवाहको कुरा अघि बढ्ने सम्भावना छ।

नोकरीपेशा गर्ने जातकले कार्यक्षेत्रमा विरोधीहरूबाट सावधान रहनु पर्नेछ। कसैले तपाईंको काम बिगार्ने वा अपमान गराउने प्रयास गर्न सक्छ। वरिष्ठ र सहयोगीबाट अपेक्षित साथ नपाउँदा मन खिन्न हुन सक्छ। व्यापार गर्नेले साझेदारीमा काम गर्दा कागजी प्रक्रिया पूरा गरेर मात्र अघि बढ्नु राम्रो हुन्छ। करियर र व्यवसायको दृष्टिले यो साता भाग्यमानी रहनेछ। विदेशमा काम गर्ने जातकलाई केही समस्या आउन सक्छ।

आम्दानी राम्रै रहनेछ । भविष्यका योजनाका लागि धन खर्च हुनसक्छ । काम समयमा नहुँदा केही तनाव बढ्न सक्छ । सम्बन्धको हिसाबले यो साता मिश्रित रहनेछ । साताको सुरुमा भावनात्मक सम्बन्धमा उतारचढाव आउन सक्छ। दाजु–भाइ वा दिदी–बहिनीसँग विवाद हुनसक्छ, तर घरका ज्येष्ठ सदस्यको सहयोगले सम्बन्ध फेरि सामान्य हुनेछ ।

जीवनसाथीको भावना बुझेर व्यवहार गर्नुहोस्। साथीबाट प्रेम सम्बन्ध सुरु हुन सक्छ। प्रेम सम्बन्धमा भेटघाटमा केही कठिनाइ देखिन्छ। एक्लोपनले मन दुखाउन सक्छ। छिमेकीसँगको सम्बन्ध भने राम्रो रहनेछ।

स्वास्थ्यतर्फ खानपानमा शुद्धता अपनाउनुहोस्। कफका कारण घाँटी दुख्ने वा खोकी लाग्ने समस्या हुन सक्छ। आयुर्वेदिक काढा नियमित सेवन गर्नु लाभदायक हुनेछ। खराब संगतबाट टाढा रहनुहोस्।सबै काम धैर्य र संयमका साथ गर्नुभयो भने समस्या कम हुँदै जानेछ

उपाय- हनुमान चालीसाको नियमित पाठ गर्नुहोस्।

वृष राशि

यो हप्ता मेहनतअनुसार फल अलि कम पाउने सम्भावना छ । सोचेजस्तो काम पूरा गर्न धेरै दौडधुप गर्नुपर्ला। साताको सुरुमा पैतृक सम्पत्तिको विषयमा घर–परिवारका सदस्यसँग मनमुटाव हुन सक्छ। घरका ठूला सदस्यबाट अपेक्षित सहयोग नपाउँदा मन दुखी हुन सक्छ।

उच्च शिक्षा, विदेशमा करियर वा व्यवसाय गर्न खोजिरहेका व्यक्तिले चाहेको सफलता पाउन अझै केही समय कुर्नुपर्ने देखिन्छ। व्यवसायमा हुनुहुन्छ भने यो साता पैसाको लेनदेन र लगानी गर्दा धेरै सावधानी अपनाउनुहोस्। अन्योलको अवस्थामा पैसा लगाउनु हुँदैन। खर्च गर्दा आम्दानीको हिसाब राख्नुपर्छ, नत्र अन्त्यमा उधारो लिनुपर्ने स्थिति आउन सक्छ।

साताको सुरुका दिन राम्रा र शुभ रहनेछन्। प्रेमी–प्रेमिकासँग घुमफिरको मौका मिल्न सक्छ। पढाइमा राम्रो नतिजा आउने सम्भावना छ। घरमा अनुशासन कायम रहनेछ। ज्येष्ठ सदस्यको सल्लाह मानेर काम गर्नु लाभदायक हुनेछ। जग्गा वा घर किन्ने योग पनि देखिन्छ। कामकाजमा ध्यान केन्द्रित रहनेछ। शुभचिन्तकको सल्लाह लिनु फाइदाजनक हुनेछ। साताको बीचको समय सबैभन्दा राम्रो रहनेछ।

आर्थिक अवस्था भने अलि कमजोर रहनसक्छ । आफ्नो शारीरिक क्षमताभन्दा बढी काम नगर्नुहोस्। अविवाहित जातकले प्रेम सम्बन्धमा मर्यादा कायम राख्नुपर्छ। जोखिम उठाउने बानीबाट टाढा रहनु राम्रो हुन्छ । आएका राम्रा अवसर गुम्न सक्ने सम्भावना छ, त्यसैले सचेत रहनुहोस्। व्यापारमा नगद पैसाको केही कमी महसुस हुन सक्छ।

घर होस् वा बाहिर, अरूसँग बोलचाल गर्दा नम्र व्यवहार अपनाउनुहोस् र आफ्नो कुरा स्पष्ट रूपमा राख्नुहोस्। यो साता वृष राशिका जातकले सम्बन्ध र स्वास्थ्यमा विशेष ध्यान दिनु पर्नेछ । कामबाट केही समय निकालेर आफ्नो स्वास्थ्य र पारिवारिक सम्बन्धका लागि समय दिनुहोस्। खानपानमा ध्यान दिनुहोस्। साताको अन्त्यतिर मौसमी रोगबाट सतर्क रहनु आवश्यक छ।

उपाय- बिहान विष्णु सहस्रनामको पाठ गर्नुहोस्।

मिथुन राशि

मिथुन राशिका लागि यो साता व्यस्त रहनेछ, तर यसैबीच तपाईंले सोचभन्दा धेरै सफलता र लाभ पाउनुहुनेछ। कामको चाप बढ्ने भएकाले स्वास्थ्यमा भने अलि ध्यान दिनु आवश्यक छ। नोकरीपेशा जातकको साताको सुरु छोटो वा लामो यात्राबाट हुन सक्छ। अचानक कामको जिम्मेवारी बढ्न सक्छ, तर सहकर्मी र शुभचिन्तकको सहयोगले सबै काम समयमै पूरा हुनेछ।

यस साता हाकिम तपाईंको कामबाट खुसी रहनेछन्। पद र प्रतिष्ठा बढ्ने योग देखिन्छ। तपाईंले लिएका निर्णयको प्रशंसा कार्यक्षेत्रमा मात्र होइन, घर–परिवारमा पनि हुनेछ। व्यवसायमा हुनुहुन्छ भने साताको दोस्रो भागतिर व्यवसाय विस्तार गर्ने सोच बन्न सक्छ। तर कुनै ठूलो निर्णय लिनु अघि अनुभवी र शुभचिन्तकको सल्लाह लिनु राम्रो हुन्छ।

सम्बन्धको हिसाबले यो साता धेरै राम्रो रहनेछ । निजी सम्बन्धमा मिठास बढ्नेछ। घरमा कुनै शुभ वा मांगलिक काम हुनसक्छ । प्रेम सम्बन्ध अझ गहिरो बन्नेछ। प्रेमी–प्रेमिकासँग हाँसीखुसी समय बित्नेछ । वैवाहिक जीवन सुखद् रहनेछ।

साताको सुरु विशेष रूपमा शुभ रहनेछ। प्रतिष्ठित व्यक्तिसँग भेटघाट बढ्नेछ। मनमा नयाँ रचनात्मक विचार आउनेछन् । आफ्ना उपलब्धिमा गर्व महसुस गर्नुहुनेछ। परिवारसँग समय बिताउँदा आपसी प्रेम र विश्वास बढ्नेछ। काम योजनाबद्ध रूपमा गर्नुभयो भने राम्रो परिणाम आउनेछ । शरीर र मनमा नयाँ ऊर्जा महसुस हुनेछ। नयाँ योजनामा धन लगानी गर्न सक्नुहुन्छ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। साताको अन्त्यतिर कुनै खुशीको खबर पनि मिल्न सक्छ।

तर कार्यक्षेत्रको आन्तरिक राजनीति ले अलि चिन्ता दिनसक्छ । एलर्जी वा छालासम्बन्धी समस्या देखिन सक्छ। केही मानिस आवश्यक बेला सहयोग गर्न पछि हट्न सक्छन्। आफ्ना गोप्य कुरा कसैसँग पनि नबाँड्नुहोस्। खर्च नियन्त्रणमा राख्नुहोस् र हिसाब–किताब गर्दा धेरै सावधानी अपनाउनुहोस्, नत्र गल्ती हुन सक्छ। देखावटी खर्च र शंका गर्ने बानीले नजिकका मानिस टाढा हुन सक्छन्।

उपाय- ॐ गम गणपताय नम नियमित १०८ पट्क जप गर्नुहाेस् ।

कर्कट राशि

यो साता मध्यमदेखि राम्रो रहनेछ । अरूसँग तर्क–वितर्क गर्नुभन्दा आफ्नै लक्ष्यमा ध्यान दिनु आवश्यक छ। नोकरीपेशा जातकले कार्यक्षेत्रमा विरोधीको चालमा नफसी आफ्नो काम समयमै र राम्रोसँग पूरा गर्न ध्यान दिनुहोस्।

यो साता आफ्नो काम अरूको भरोसामा नछोड्नुहोस्, नत्र बनेको काम पनि बिग्रन सक्छ। केही समयदेखि कुनै समस्याले हैरान बनाइरहेको छ भने यो साता त्यसले मन अलि बढी चिन्तित बनाउन सक्छ। तर खुसीको कुरा के छ भने, त्यस समस्याको समाधान खोज्न शुभचिन्तकहरूले सहयोग गर्नेछन्।

साताको बीचतिर अचानक छोटो वा लामो यात्रामा निस्कनुपर्ने हुन सक्छ। यात्राको बेला स्वास्थ्य र सामानको राम्रो ख्याल राख्नुहोस्। शरीरसँगै मन स्वस्थ राख्नु पनि उत्तिकै जरुरी हुन्छ, त्यसैले ध्यान र योगका लागि समय निकाल्नु लाभदायक हुनेछ।
परिवार र सम्बन्धको कुरा गर्दा, कसैसँग वा प्रेमी–प्रेमिकासँग मनमुटाव चलिरहेको छ भने गलतफहमी हटाउने प्रयास गर्नुहोस् र अरूको भावना बुझ्ने प्रयास गर्नुहोस्।

वैवाहिक जीवन सुखमय बनाउन खुले मनले एक–अर्कालाई बुझ्ने बानी बसाल्नुहोस्।
आर्थिक र कामकाजको पक्ष सामान्य रहनेछ। खर्च नियन्त्रणमा राख्नु राम्रो हुन्छ। स्वास्थ्यतर्फ पेट, निद्रा र मानसिक तनावमा ध्यान दिनु आवश्यक छ। खानपान सफा र सन्तुलित राख्नुहोस्। समग्रमा यो साता संयम, धैर्य र आत्मविश्वास राखेर अघि बढ्नुभयो भने परिस्थिति तपाईंको पक्षमा आउँदै जानेछ।

उपाय- ॐ नम शिबाय १०८ दैनिक जाप गर्नुहाेस् ।

सिंह राशि

यो समय पूरै अनुकूल देखिन्छ । तर यो साता अत्यधिक उत्साहमा आएर कुनै पनि काम गर्दा सावधानी अपनाउनुहोस्, नत्र लाभ घट्न सक्छ। यस साता तपाईंको मन धार्मिक र सामाजिक कार्यतर्फ बढी आकर्षित हुनेछ। साताको सुरुमा यस्ता कार्यक्रममा सहभागी हुने मौका मिल्न सक्छ। यस क्रममा प्रियजन र शुभचिन्तकसँग हाँसीखुसी समय बित्नेछ।

नोकरीपेशा जातकका लागि यो साता धेरै राम्रो रहनेछ। तपाईंले काममा पूरा मन लगाएर मेहनत गर्नुहुनेछ र त्यसको पूरा फल प्राप्त गर्नुहुनेछ। कसै विशेष व्यक्तिबाट कामसम्बन्धी नयाँ दिशा वा अवसर मिल्न सक्छ। राम्रो कामका कारण अधिकारीबाट प्रशंसा पाउनुहुनेछ र जिम्मेवारी बढ्न सक्छ।

पत्रकारिता, नेटवर्किङ र मार्केटिङ क्षेत्रमा काम गर्नेहरूका लागि यो साता विशेष सफलतादायी रहनेछ । व्यवसायको दृष्टिले पनि यो साता अनुकूल छ। बजारमा आएको सकारात्मक परिवर्तनको राम्रो फाइदा उठाउन सक्नुहुनेछ। व्यापार विस्तारका लागि समय सहयोगी रहनेछ।

घर–परिवारमा प्रेम र समझदारी कायम रहनेछ। प्रेम सम्बन्ध र वैवाहिक जीवन दुवै सुखद रहनेछन्। अविवाहित जातकलाई राम्रा विवाह प्रस्ताव आउने सम्भावना छ। विद्यार्थीले उच्च अध्ययनतर्फ रुचि देखाउनेछन्। कम प्रयासमै कठिन काम पूरा हुने योग देखिन्छ। व्यक्तित्वको प्रशंसा हुने समय हो।

यस साता स्वास्थ्यसम्बन्धी समस्या कम हुँदै जाने देखिन्छ। लामो दूरीको यात्रा हुन सक्छ। कार्यक्षेत्रमा ठूलो पद वा जिम्मेवारी पाउने सम्भावना छ। बौद्धिक छलफलमा सहभागी हुन सक्नुहुनेछ। घरेलु समस्या समाधान गर्न सक्रिय रहनुहुनेछ।

तर केही अधुरा सम्झौता वा डिल का कारण अलि समस्या आउन सक्छ। दिनचर्या अलि अव्यवस्थित हुन सक्छ। ग्यास र एसिडिटीको समस्या देखिन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस्। सबै ठाउँमा आफ्नो श्रेष्ठता देखाउन खोज्नु उचित हुँदैन। स्वाभिमान जोगाउँदै लचिलो व्यवहार अपनाउनुहोस्। जीवनसाथीसँग कुनै कुरा लुकाउनु हुँदैन। कहिलेकाहीँ अपेक्षा अनुसार परिणाम नआउँदा मन दुख्न सक्छ, तर बिस्तारै परिस्थिति तपाईंको पक्षमा आउँदै जानेछ।

उपाय- हरेक दिन ॐ नमः शिवाय जप गर्नुहोस्।

कन्या राशि

यो हप्ता कन्या राशिका जातकको सोच र विचारधारामा सकारात्मक परिवर्तन आउनेछ। रोमाञ्चक यात्राको अवसर मिल्न सक्छ। पुराना गल्तीबाट सिक्नका लागि यो साता उपयुक्त छ। नयाँ व्यवसायप्रति रुचि बढ्न सक्छ। कार्यक्षेत्रमा ठूला अधिकारीबाट सहयोग प्राप्त हुनेछ। युवालाई प्रेम प्रस्ताव आउन सक्छ। दाम्पत्य जीवनमा नयाँ उमंग र मिठास बढ्नेछ। लामो समयदेखि अड्किएको सम्झौता वा करार यस साता अन्तिम रूप लिन सक्छ। रचनात्मक काममा मन लाग्नेछ। अचानक धन लाभ हुने सम्भावना छ। व्यक्तिगत जीवनबाट सन्तुष्टि मिल्नेछ।

तर समग्रमा यो साता अलि उतार–चढावयुक्त रहनेछ। जग्गा–घर वा पैतृक सम्पत्तिसँग सम्बन्धित विवाद आउन सक्छ। यस विषयमा आफन्तसँग मतभेद हुन सक्छ, त्यसैले धेरै धैर्य र समझदारी अपनाउनु जरुरी छ ताकि कुरा मनमुटावमा नपुगोस्।

नोकरीपेशा जातकका लागि साताको सुरु थकानपूर्ण रहन सक्छ। कामको बोझ बढ्न सक्छ र स्वास्थ्य कमजोर हुँदा समस्या महसुस हुन सक्छ। व्यवसाय गर्ने जातकले पैसाको लेनदेनमा विशेष सावधानी अपनाउनुहोस्। बजारमा अड्किएको पैसा निकाल्न समस्या आउन सक्छ।

साताको बीचतिर घरको मर्मत वा अन्य आवश्यकतामा अप्रत्याशित खर्च हुन सक्छ। साताको अन्त्यतिर आमाको स्वास्थ्यले चिन्ता बढाउन सक्छ। प्रेम सम्बन्धमा हतार नगर्नुहोस् र प्रेमी–प्रेमिकाको भावना बुझ्ने प्रयास गर्नुहोस्। वैवाहिक जीवन सुखमय बनाउन व्यस्त समयबाट जीवनसाथीका लागि समय छुट्याउनुहोस्। मनमा कहिलेकाहीँ अज्ञात डर रहन सक्छ।

महत्वपूर्ण कागजातहरू सुरक्षित राख्नुहोस्। मार्केटिङसम्बन्धी एजेन्सीमा अत्यधिक भरोसा नगर्नु राम्रो हुन्छ। अरूको सल्लाह ध्यानपूर्वक सुन्नुहोस्। सन्तानको पालनपोषण र बानी–व्यवहारमा ध्यान दिनुहोस्। तपाईंले अरूलाई मार्गदर्शन गर्नुहुनेछ, तर केहीले तपाईंको कुरा गम्भीर रूपमा नलिन सक्छन्।साताको सुरुमा अपचका कारण असजिलो हुन सक्छ।यो साता दिनचर्या र खानपानमा विशेष ध्यान दिनु अत्यन्त जरुरी छ।

उपाय- ॐ नमो भगवते बासुदेबाय नम दैनिक १०८ जप गर्नुहाेस् ।

तुला राशि

यो साता मिश्रित तर सकारात्मक फल दिने देखिन्छ। काममा केही चुनौती आउन सक्छ, तर धैर्य र संयम राखेर काम गर्नुभयो भने सफल हुनुहुनेछ। साताको सुरुमा केही घरेलु समस्याले मन अलि चिन्तित बनाउन सक्छ। तर साताको अन्त्यतिर कुनै वरिष्ठ व्यक्तिको सहयोगले समस्या समाधान हुनेछ।

व्यवसायमा यो साता बढि सोच–विचार गरेर काम गर्नुपर्नेछ। सुरुमा अलि हतार–बतार हुन सक्छ, तर मध्य साता फेरि सबै काम सहज रूपमा अघि बढ्नेछ। घर–परिवारको पक्ष अनुकूल रहनेछ। आफन्त र परिवारको सहयोग प्राप्त हुनेछ। कार्यक्षेत्रमा विरोधीहरू पनि तपाईंको कामको प्रशंसा गर्नेछन्।

साताको अन्त्यतिर मन धार्मिक र आध्यात्मिक कार्यतर्फ आकर्षित हुनेछ। गुरु वा साधु–सन्तको कृपा प्राप्त हुन सक्छ। अविवाहित जातकको जीवनमा मनपर्ने व्यक्तिको प्रवेश हुन सक्छ। पहिले देखि प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। वैवाहिक जीवन सुखद रहनेछ।

साताको सुरु अत्यन्त सुखद रहन सक्छ। आत्मविश्वास बढ्नेछ। परिवारलाई समय दिनुपर्नेछ। व्यवसायमा अर्डर वा अवसर प्राप्त हुनेछन्। तपाईंको सल्लाहले अरूलाई लाभ पुग्नेछ। शुभचिन्तकको सुझावमा ध्यान दिनु लाभदायक हुनेछ।

शारीरिक र मानसिक रूपमा बलियो रहनुहोस्। ठूलो प्रोजेक्ट मिल्न सक्छ। इन्टेरियर डिजाइनिंग वा सृजनात्मक काममा राम्रो परिणाम आउनेछ। घरमा सम्बन्धीहरूको आगमन हुन सक्छ। दीर्घकालीन लगानीको योजना बनाउन सकिन्छ ।

यदि स्वास्थ्यमा समस्या छ भने डाक्टरको सल्लाह लिनुहोस्। मध्य साता अलि तनाव रहन सक्छ। आत्ममननको समय निकाल्नु लाभदायक छ। अरूमाथि सहज विश्वास नगर्नुहोस्। जीवनसाथीको मनोबल कायम राख्नुहोस्। खानपान सुधार गर्नुहोस्। गोप्य कुरा लीक हुन सक्नेछ। समयमै आराम गर्नु जरुरी छ। आयमा केही रोकावट आउन सक्छ। पेट वा मूत्र सम्बन्धी समस्या हुन सक्नेछ।

उपाय- हरेक दिन गायत्री मन्त्र जप गर्नु लाभदायक हुनेछ।

वृश्चिक राशि

यो हप्ता शुभ फलदायी रहनेछ। यस साता तपाईंका देखेका सपना र मनोकामना पूरा हुन सक्छन्। जीवनका विभिन्न क्षेत्रहरूमा अनुकूलता रहनेछ।

साताको सुरुमा तपाईंलाई धार्मिक वा मांगलिक कार्यक्रममा सहभागी हुने मौका मिल्नेछ। यस क्रममा कार्य र व्यवसायमा मनचाहा सफलता र उन्नति प्राप्त हुनेछ।
कार्यक्षेत्रमा वरिष्ठ र कनिष्ठ दुवैको सहयोग पाइनेछ। ऊर्जा स्तर उच्च रहनेछ र कामलाई सकारात्मक तरिकाले पूरा गर्न सकिनेछ।साताको बीचतिर मन प्रियजन र परिवारतर्फ बढी लाग्नेछ। लामो वा छोटो दूरीको यात्रा गर्न सकिनेछ।

साताको सुरु अत्यन्त राम्रो रहनेछ। नयाँ साथी वा व्यवसायिक सम्पर्क बढ्नेछ। कारोबारमा प्रगति आउनेछ। तपाईंले लामो समयदेखि पर्खेको कुरा पूरा हुन सक्छ। साना व्यवसायीका लागि साता विशेष शुभ रहनेछ।

रचनात्मकता र नयाँ आइडियाको प्रशंसा हुनेछ। दाम्पत्य जीवन रोमाञ्चक र सुखद रहनेछ। मांगलिक अवसरहरूको तयारी गर्न सकिनेछ। सरकारी नोकरीको तयारी गरिरहेका विद्यार्थीका लागि साता उत्तम छ।

तर मित्रहरूसँग वैचारिक मतभेद हुन सक्छ। मनमा कहिलेकाहीँ अज्ञात डर पनप्न सक्छ। अहंकारका कारण व्यक्तिगत जीवनमा समस्या आउन सक्छ। स्वास्थ्यमा मांसपेशीमा खिंचावट, नाक, कान वा घाँटी सम्बन्धी समस्या देखिन सक्छ। मिथ्या कुरा गर्दा प्रतिष्ठामा असर पर्न सक्छ।

साताको अन्त्यतिर पैतृक सम्पत्ति सम्बन्धी अड्चनहरू हट्नेछन्। कारोबारमा लाभ हुनेछ। व्यवसाय विस्तारका योजना सफल हुनेछन्। पार्टनरशिपमा काम गर्दा समान विचारधाराले व्यापारमा प्रगति मिल्नेछ।साताको अन्त्यमा विपरीत लिङ्गप्रति आकर्षण बढ्नेछ। प्रेम सम्बन्ध र वैवाहिक जीवन सुखद र अनुकूल रहनेछ।

उपाय- हरेक दिन हनुमान चालिसा पाठ गर्नु लाभदायक हुनेछ।

धनु राशि

यो साता शुभ फलदायी रहनेछ । यस साता तपाईंले आफ्नो मेहनत र प्रयासको पूरा फल पाउन सक्ने अवसर मिल्नेछ। परिवार, नजिकका साथी र शुभचिन्तकहरूले तपाईंलाई सहयोग गर्नेछन्, जसले तपाईंलाई आत्मविश्वास र मनोबल बढाउन मद्दत गर्नेछ।

साताको सुरुमा तपाईंको कुनै प्रभावशाली व्यक्ति संग भेटघाट हुन सक्छ, जसले भविष्यका योजनाहरूमा तपाईंलाई लाभदायी अवसर दिन सक्छ। यदि तपाईं नोकरीपेशा हुनुहुन्छ भने वरिष्ठ अधिकारीबाट समर्थन प्राप्त हुनेछ र काममा सफलता मिल्नेछ। बेरोजगारलाई यस साता मनपर्ने रोजगारीको अवसर पनि मिल्न सक्छ।

व्यवसाय गर्ने जातकलाई यस साता मनचाहा लाभ प्राप्त हुनसक्छ। सम्बन्धित मुद्दाहरूमा सफलतापूर्वक अघि बढ्न सकिनेछ। साताको अन्त्यतिर कानूनी मामिला वा अधिकारसम्बन्धी मुद्दामा विजय प्राप्त हुने संकेत पनि देखिन्छ।

सम्बन्धको हिसाबले हेर्दा, यो साता वैवाहिक जीवन मधुर र सुखद रहनेछ। घरपरिवारमा प्रेम र सहयोग बढ्नेछ। पुरानो कुनै विवाद वा मन मुटाब यस साता टूटेर समाधान हुन सक्छ।साताको अन्त्यमा परिवारसँग तीर्थयात्रा जस्तो यात्रा गर्ने योग पनि बनिरहेको छ। तर केही अवस्थामा खर्चीला बानीले धनसम्बन्धी समस्या पनि आउन सक्छन्, त्यसैले खर्चमा संयम राख्नु राम्रो हुन्छ।

स्वास्थ्य सामान्य नै रहनेछ तर पुरानो रोगले कहिलेकाहीँ चिन्ता दिन सक्छ। यो साता स्वास्थ्यलाई ध्यानमा राखेर खानपान र आराम गर्नु उत्तम हुनेछ।

उपाय- हरेक दिन विष्णु सहस्रनामको पाठ गर्नु लाभदायक हुनेछ।

मकर राशि

यो साता मिश्रित फलदायी रहनेछ।साताको सुरुमा कार्यक्षेत्रको वातावरण अनुकूल नहुनाले मन अलि खिन्न हुनसक्छ । वरिष्ठ र कनिष्ठबाट अपेक्षाकृत कम सहयोग पर्न सक्छ।

यदि तपाईंको भूमि–भवन वा पैतृक सम्पत्तिसँग सम्बन्धित विवाद छ भने यसलाई समाधान गर्न कोर्ट–कचहरीको चक्कर लाग्न सक्छ। यस साता स्पष्टवादिता र कडाइका साथ बोल्ने बानीबाट बच्नुपर्नेछ। अरूलाई चोट पुग्ने कुरा नग्रनुहाेस् । साथी–साथी वा व्यावसायिक भेटमा हास्य–व्यंग्य गर्दा कसैको उपहास नहोस्, नत्र लामो समयका सम्बन्धमा तिक्तता आउन सक्छ।

व्यवसायीहरुले कुनै महत्वपूर्ण निर्णय छिटो र हतारमा नलिनुहोस्। कागजी काम समयमै पुरा गर्नु लाभदायक हुनेछ। नत्र आर्थिक र मानसिक चुनौती आउन सक्छ।साताको उत्तरार्धमा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ।

साताको मध्यमा कार्यक्षेत्रमा सहयोग प्राप्त हुनेछ। भागदौडबाट राहत पाउन प्रकृतिसँग समय बिताउने प्रयास गर्नुहोस्। विपरीत लिङ्गप्रति आकर्षण बढ्न सक्छ। सहकर्मीको व्यवहारले मन प्रसन्न हुनेछ।

नयाँ स्टार्टअप योजना बनाउन यो साता धेरै अनुकूल छ। कला र सृजनात्मक क्षेत्रमा काम गर्नेले ठूलो अवसर पाउन सक्छन्। पारिवारिक सम्बन्ध बलियो हुनेछन्। प्रेमीजनसँग प्रस्ताव राख्न सकिनेछ। स्वास्थ्यमा उच्च रक्तचाप, थाइराइड वा हार्मोनल समस्या देखिन सक्छ। क्रोध र जिद्दिपनले नकारात्मक प्रभाव पार्न सक्छ।

उपाय- हरेक दिन गणेशजीलाई तिल र गुडको भोग चढाउनु लाभदायक हुनेछ साथै ॐ गम गणपताय नम मन्त्र जा गर्नुहाेस् ।

कुम्भ राशि

यो साता धेरै सकारात्मक र शुभ फलदायी रहनेछ । कार्य, व्यवसाय, परिवार र प्रेम जीवन सबै क्षेत्रमा मिल्दोजुल्दो अनुकूलता रहनेछ । यो साता करियर र व्यवसाय दुवैका लागि अनुकूल रहेको छ। लामो वा छोटो दूरीको यात्रा हुनसक्छ, जसले अधुरो काम पूरा गर्न सहयोग गर्नेछ।

व्यापारमा अपेक्षा भन्दा बढी लाभ मिल्ने योग छ। लामो समयदेखि व्यवसाय विस्तारको प्रयास गर्दै आएका जातकलाई इष्टमित्र र परिवारको सहयोगले व्यापारमा प्रगति हुनेछ। नोकरीपेशा जातकलाई वरिष्ठहरूबाट आशिर्वाद रहनेछ र साता अन्त्यतिर महत्त्वपूर्ण पद वा जिम्मेवारी प्राप्त हुनसक्छ। घर–परिवारको जीवन शुभ र सुखद रहनेछ। परिवारको खुशीका कारण, जस्तै विवाह प्रस्ताव जस्ता अवसर पनि आउन सक्छ। प्रेम सम्बन्ध मधुर र उत्साहपूर्ण रहनेछ। माता–पिताबाट विशेष आशीर्वाद वा उपहार मिल्ने संकेत छ।

यदि तपाईं आफूलाई असमंजसमा पाउनुहुन्छ भने इष्टमित्र र साथीहरूको सहयोग धेरै उपयोगी हुनेछ। सहकर्मी र शुभचिन्तकहरूले तपाईंलाई सही सल्लाह दिनेछन्। यो साता सबै पक्षमा फलदायी देखिन्छ। क्यारियर र व्यापारमा फाइदा हुने छ। पारिवारिक खुशी रहनेछ। प्रेम जीवनमा मिठास रहनेछ। पार्टनरसँग रमाइलो समय बिताउन सकिनेछ।

सामाजिक समर्थन प्राप्त हुनेछ। उच्च शिक्षा सम्बन्धी बाधा हट्ने छ । तपाईंको व्यक्तित्वमा सकारात्मकता रहला। दिनचर्या अत्यन्त व्यवस्थित रहनेछ। पैतृक सम्पत्ति प्राप्त हुन सक्छ। मार्केटिंग र मिडिया क्षेत्रमा काम गर्ने जातकलाई साता प्रगतिकारक हुनेछ। नयाँ भूमि वा सम्पत्ति किन्न सकिनेछ।

सप्ताहको सुरुमा थोरै तनाव रहन सक्छ। कार्यक्षेत्रमा केही दबावमा हुन सकिन्छ। छिमेकीसँग तनाव आउन सक्छ। नवविवाहित जोडीले फ्यामिली प्लानिङ गर्न सक्छन्। अरूको आलोचनामा समय खर्च नगर्नुहोस्। पूजा-पाठ र उपासना नियमित र कडाइपूर्वक पालन गर्नु लाभदायी हुनेछ।

उपाय- साता अशुभ प्रभाव हटाउन र सकारात्मक ऊर्जा बढाउन हनुमान चालीसा पाठ गर्नु लाभदायक हुनेछ।

मीन राशि

यो साता मिश्रित फलदायी रहनेछ । काम, परिवार र सम्बन्धमा केही उतार–चढाव देखिन्छ, तर यसै साता अनुभव र समझले धेरै कुरा सुधारिनेछ। साताको सुरुमा स्वास्थ्य, सम्बन्ध र धनको ख्याल गर्न आवश्यक छ, नत्र पछुतो हुन सक्छ। अचानक ठूला जिम्मेवारी र खर्च आएका पनि देखिन्छन्, जसलाई पूरा गर्न तपाईंले सहयोग लिएर, कहिलेकाहीँ उधारो पनि लिनुपर्ने अवस्था आउन सक्छ ।

साता सुरुमा करियर र काममा धेरै व्यस्तता रहनेछ र तपाईंले आफ्नो निजी कुरामा ध्यान दिन कठिन पाउनुहुनेछ। यसैबीच परिवारका वरिष्ठ सदस्यको असन्तुष्टि चाहिँ झेल्नुपर्न सक्छ। पैतृक सम्पत्ति लगायतका मामिलामा वाद–विवाद वा कानुनी उल्झन पनि हुनसक्छ ।

साताको मध्यतिर केही नै तनावका संकेत देखिन्छन्। तर साता उत्तरार्धमा केही राहत र सकारात्मकता आउनेछ। परीक्षा वा प्रतियोगितासँग सम्बन्धित छात्र–छात्रालाई शुभ समाचार मिल्ने सम्भावना छ र करियर वा कामसम्बन्धी राम्रो अफर पनि पाउन सकिन्छ । यस साता तपाईं धेरै व्यस्त रहनेछ।

माता–पितासँग मनका कुरा साझा गर्नुहोस्, तर उनीहरूको सल्लाह अनुसार काम गर्नु लाभदायक हुनेछ। प्रेम सम्बन्धका लागि स्थिति सन्तुलित र अनुकूल रहनेछ। लव पार्टनर वा जीवनसाथी कठिन समयमा तपाईंको साथमा रहन सक्नेछन्। छोटो दूरीको यात्रा हुनसक्छ र परिवारमा खुशीको माहोल रहनेछ । साना भाई–बहिनीको सफलता तपाईंलाई खुशी दिनेछ। दाम्पत्य जीवनमा पनि सुख शान्ति रहनेछ।

नातेदारहरुले सानो वाद–विवादमा तान्न सक्नेछन्। मनमा रहेका भाव व्यक्त गर्नुहोस्, नत्र ग्लानि र पछुतो हुनसक्छ। विरोधीहरूले तपाईंमाथि प्रभाब पार्न सक्छन्। शुगर र यूरिन इन्फेक्शन जस्ता स्वास्थ्य समस्याबाट सावधान रहनुहोस्। खानपानमा ध्यान दिनुहोस्। बच्चाहरूको परीक्षा परिणामको चिन्ता हुन सक्छ। घरको व्यवस्था मिलाउन आपसी समझदारी बनाइ राख्नुहोस्।

उपाय- दुर्गा चालीसा पाठ गर्नुहोस्। देवी दुर्गा मन्दिरमा कन्या भोज गर्नु लाभदायक हुनेछ।

Skip This
Skip This
Logo