रोल्पा
झोलामा कापी–कलम बोकेर स्कूल जाने उमेरकी ४ वर्षीया बालिका आशा परियार जिल्ला कारागार रोल्पाको बन्दी गृहमा थुनामा छिन् । परियारकी आमाले आफ्नै दिदी पर्ने थबाङ रोल्पाकी सुनकुमारी नेपालीको हत्या गरेको पुष्टि भएपछि मुलकी ऐन ज्यान सम्बन्धीको १४ नं बमोजिम जिल्ला अदालत रोल्पाले १० वर्ष कैद हुने गरी २०७३ फागुन ३ गते फैसला सुनाएको थियो । यसरी आमा थुनामा परेपछि यी अबोध बालिकाले आमाले गरेको दुष्कर्मको सजायँ भोग्दै आएकी हुन् । खाने, खेल्ने र केही सिक्ने उमेरमा थुनामा रहेकी बालिकाले पौष्टिक आहार खान न त के देख्न सम्म पाएकी छैनन् ।
साँझ–बिहानको दुई छाक खाना र चाउचाउ बिस्कुटले मात्र कसरी यी बालिकाको शारीरिक तथा मानसिक विकास होला ? यस विषयमा सरोकारवाला निकाय गम्भीर बन्न जरुरी देखिन्छ । अपराधजन्य घटना घटाएका बालबालिकालाई पनि कारागार भित्र थुनामा नराखेर बाल सुधार गृहमा राख्ने कानुनी व्यवस्था छ । तर पनि संरक्षण गर्ने अभिभावक नभएको हुँदा उनी करीब साँढे एक वर्ष देखि आमाको संरक्षणमा जेल जीवन गुजार्न बाध्य भएकी हुन् ।
रुकुम काँक्री स्थायी ठेगाना भएकी यी बालिकालाई घरमा हेरचाह गर्ने कोही नभएका कारण आमाले आफैँसँग राख्दै आएकोे बताइन् । आशा भन्दा माथिका ७ वर्षीय दाजु र ९ वर्षीया दिदी आमा जेल चलान भएपछि मामाको घरमा बस्दै आएका छन् भने उनीहरूका बुबा केही वर्षयता वैदेशिक रोजगारीमा साउदी अरबमा पसिना बगाई रहेका छन् । “बच्चालाई घरमा पठाउने अवस्था नभएको हुँदा आफैंसँग राख्दै आएकी हुँ,” आशाकी आमाले भनिन् । आशा ३ महिनाकी हुँदा उनका बुबा वैदेशिक रोजगारीका लागि गएका थिए ।
रासस





























प्रतिक्रिया