काठमाडौं । भदौ २३ को त्यो साँझ अझै पनि सुरेन्द्रजंग थापाको स्मृतिमा गोलीको आवाज जस्तै गुञ्जिरहन्छ । सडकमा नारा थियो—भ्रष्टाचारको अन्त्य गर, सुशासन देऊ । भीडमा उत्साह थियो, तर त्यो उत्साहसँगै जोखिम पनि थियो । कसैले सोचेका थिएनन्, केही घण्टामै नाराको ठाउँमा चिच्याहट, रगत र एम्बुलेन्सको साइरन सुनिनेछ । आन्दोलनले नयाँ मोड लियो र सुरेन्द्रजंगको जीवनले पनि ।
गोली लागेपछि उनलाई हतार–हतार एम्बुलेन्समा राखेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल लगियो । आधा होसमा रहेका उनी आफैंले भनेका थिए, “मलाई केएमसी लैजानुहोस् ।”
किनकि सानोतिनो स्वास्थ्य समस्या हुँदा पनि उनी त्यही अस्पताल पुग्ने गर्थे । उनलाई त्यहाँको वातावरणप्रति भरोसा थियो । तर त्यो दिनको भरोसा केवल उपचारको थिएन, त्यो भरोसा मानवताप्रतिको पनि थियो । अस्पतालको शय्यामा पल्टिरहँदा उनको मनमा मिश्रित भावनाहरू थिए—पीडा, डर, र केही क्षणका लागि पश्चाताप पनि ।
“किन गएँ म त्यहाँ ? किन अघि सरेँ ?” परिवारका रिसाएका शब्दहरू कानमा गुञ्जिरहेका थिए । गोली खाएर अस्पताल पुग्दा आफ्नै घरबाट प्रश्न उठेका थिए । “किन जान्ने भइस् ?” त्यो सुन्दा उनको मन सिरिङ हुन्थ्यो । एकछिन् त उनलाई लाग्थ्यो—कहीं मैले पाप त गरिनँ ? छेउकै बेडमा उपचाररत केही साथीहरूको मृत्यु हुँदा त उनको हंसले ठाउँ नै छोडेजस्तो पनि हुन्थ्यो । तर अर्को आवाज भित्रैबाट उठ्थ्यो—मैले भ्रष्टाचारविरुद्ध बोलेको थिएँ, अन्यायविरुद्ध उभिएको थिएँ । यदि त्यसको मूल्य गोली हो भने पनि त्यो आवाज दबिनु हुँदैन ।
अस्पतालमा उनी एक्ला थिएनन् । जेन्जी आन्दोलनका सयभन्दा बढी घाइतेहरू त्यहीँ उपचाररत थिए । कोही हातमा प्लास्टर बाँधेका, कोही खुट्टामा स्टिल राखिएका, कोही अपरेसनको पर्खाइमा । त्यही बेला एउटा खबर आयो, डा. सुनील शर्मा देशबाहिर हुनुहुन्छ । धेरैले सोचे, अब के होला ? तर केही क्षणमै स्क्रिनमा एउटा अनुहार देखियो, भिडियोकलमार्फत । डाक्टर सुनील शर्माले विदेशमै बसेर घाइतेहरूसँग कुरा गरे। “तिमीहरू नडराऊ । तिमीहरूले देशका लागि लडेको हो । भ्रष्टाचारविरुद्ध बोलेको हो । आत्तिनु पर्दैन । सबैको उपचार म निःशुल्क गरिदिन्छु ।” ती शब्दहरू केवल सान्त्वना थिएनन्, ती साहसका बीउ थिए । अस्पतालको चिसो कोठामा त्यही शब्दहरूले न्यानो थपे ।
सुरेन्द्रजंग भन्छन्, “उहाँले त्यत्ति भनेपछि हामीमा साहस पलायो । हामीले साँच्चिकै राम्रो काम गरेछौं भन्ने महसुस भयो ।” त्यसपछि केएमसीमा उनी २थ दिन बसे । तीन– चारवटा अपरेसन भए । भाँचिएको ठाउँमा स्टिल होइन, महँगो भए पनि टाइटानियम राख्ने सल्लाह स्वयं डाक्टर शर्माले दिए । उपचारको सम्पूर्ण खर्च निःशुल्क गरियो । घाइतेका कुरुवाका लागि खाना र बसोबासको व्यवस्था पनि अस्पतालले नै मिलायो । नेपाल सरकारले औपचारिक निर्णय गर्नु अघि नै डाक्टर शर्माले घाइतेको जिम्मा लिइसकेका थिए, “एक पैसा पनि तिमीहरूको खर्च हुँदैन ।”
त्यो क्षण सुरेन्द्रजंगका लागि केवल उपचारको कथा थिएन, त्यो विश्वासको कथा थियो । आन्दोलनले शरीरमा घाउ दियो, तर त्यो व्यवहारले मनमा मल्हम लगायो ।
आज देश फेरि अर्को मोडमा उभिएको छ । त्यही आन्दोलनको बलमा निर्वाचन आएको छ । नयाँ–पुराना दल, स्वतन्त्र उम्मेदवार, सबैले परिवर्तनको वाचा गरिरहेका छन् । तर यो निर्वाचन केवल पार्टीको होइन, जनादेशको परीक्षा हो । विशेष गरी ती युवाहरूको, जसले सडकमा उभिएर परिवर्तन मागेका थिए । ती घाइतेहरूको, जसले आफ्नो शरीरमा गोलीको चिन्ह बोकेका छन् । ती सहिद परिवारहरूको, जसले सन्तान गुमाएर पनि आशा जोगाएका छन् ।
यही सन्दर्भमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ को चर्चा चुलिएको छ । त्यहाँ नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्—डाक्टर सुनील कुमार शर्मा । उनका प्रतिस्पर्धीहरू पनि छन्, जसमèये गणेश कार्कीको नाम पनि छ । तर सुरेन्द्रजंगको नजरमा यो प्रतिस्पर्धा केवल पार्टीबीचको होइन, व्यक्तित्व र कर्मबीचको हो ।
उनी स्पष्ट भन्छन्, “देश विकास नयाँ पार्टीले मात्रै गर्दैन । देश विकास गर्ने आफ्नै ठाउँको व्यक्तिले हो । मेरो गाउँको विकास मेरो गाउँकै मान्छेले गर्छ । पार्टी जुनसुकै होस्, काम गर्ने मान्छेलाई जिताउनुपर्छ ।”
उनका अनुसार, सुनील शर्मा केवल एक उम्मेदवार मात्र होइनन्, सेवाको प्रतीक हुन् । “उहाँ आफ्नो क्षेत्रमा मात्रै होइन, नेपालभरका दिनदुःखीहरूको उपचारमा अहोरात्र खटिनुभएको छ । भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा खम्बाजस्तै उभिनुभएको छ ।” उनी त यहाँसम्म भन्छन्— “त्यस्तो ठाउँमा अरू प्रतिस्पर्धी उठाउनु नै हुँदैनथ्यो । स्वतः स्थान दिनुपथ्र्यो ।”
सुरेन्द्रजंगका लागि यो भावनात्मक कुरा मात्र होइन, अनुभवबाट निस्किएको निष्कर्ष हो । “हामी जेन्जी घाइतेहरूका लागि केएमसीमा अहिले पनि निःशुल्क फलोअप भइरहेको छ । हामीलाई पार्टी विशेषको मतलब छैन । नयाँ भनेर हाम फाल्दैनौं । युवाहरूसँग दिमाग छ, सोच्न सक्छौं ।”
उनको आवाजमा आक्रोश छैन, तर दृढता छ ।
उनी चाहन्छन्,मोरङ ३ का युवाहरू पार्टीभन्दा माथि उठुन् । “सुनील शर्मा हाम्रा लागि देउता नै हुन् । अघिल्लो पटकभन्दा २० हजार मत थपेर, ७० हजार मतसहित जिताउनुपर्छ ।” उनका लागि यो केवल जितको गणित होइन, कृतज्ञताको अभिव्यक्ति पनि हो । उनी भन्छन्, “यस्तो भयो भने उहाँले पहिलाभन्दा पनि धेरै काम गर्न पाउनुहुन्छ । त्यो अवसर दिनुपर्छ ।”
वर्तमान राजनीतिप्रति उनको आफ्नै विश्लेषण छ । “पुरानो कांग्रेसमा पनि सुनील शर्मा सुध्रिएको नेता हुनुहुन्थ्यो । अहिले त कांग्रेस आफैं पनि सुध्रिएको छ ।” सुनीलको
जीतपछि उनी भविष्यको सपना देख्छन्—‘विदेशमा बेचिएका युवाहरू स्वदेश फर्किएको, नेपालमै रोजगारी पाएको । स्वास्थ्य र शिक्षामा सुधार आएको । कृषकहरूले आत्महत्या होइन, सम्मानित जीवन पाएको ।’ “उहाँलाई स्वास्थ्यको ज्ञान छ, शिक्षाको ज्ञान छ । त्यो ज्ञान देशका लागि प्रयोग हुनुपर्छ” उनी भन्छन् । सुनील शर्मा केवल सांसद मात्रै बन्ने छैनन्, सम्भावित नेतृत्व हुन्—देशको बागडोर सम्हाल्न सक्ने ।
उनी भन्छन्, “सुनील दाइले भोट माग्न कष्ट गरिरहनु पर्दैन । तपाईंको कामले नै तपाईंलाई जिताउनेछ ।” यो वाक्यमा उनी बोलेका होइनन्, उनको आत्मविश्वास बोलेको छ । निर्वाचन लोकतन्त्रको उत्सव हो, तर त्यो उत्सव अर्थपूर्ण तब हुन्छ जब घाइतेहरूको आवाज सुनिन्छ, जब सहिदहरूको सपना सम्झिन्छ, जब युवाको आक्रोशलाई आशामा बदल्ने साहस गरिन्छ । भदौ २३ को गोलीले शरीरमा घाउ बनायो, तर त्यसले एउटा प्रश्न पनि कोर्यो कि अब कस्तो नेपाल बनाउने ? सुरेन्द्रजंग थापाको कथा त्यही प्रश्नको उत्तर खोज्ने प्रयास हो ।
उनी भन्छन्, ‘हामी पार्टी होइन, व्यक्ति हेर्छौं । हामी नारा होइन, कर्म हेर्छौं । यदि मानवता, साहस र सेवा राजनीति बन्न सक्छ भने, त्यही राजनीति जित्नुपर्छ । अहिले देश जनादेशको प्रतीक्षामा छ । मतपेटिका खुल्ने दिन केवल परिणाम होइन, विश्वासको फैसला हुनेछ । र मोरङ ३ का युवाहरूका हातमा त्यो फैसला छ । सुरेन्द्रजंग जस्ता घाइतेहरू भन्छन्—‘यो देश बनाउने जिम्मा अब सही हातमा जानुपर्छ । त्यसैले हामी डाक्टर सुनील शर्मालाई स्वागत गर्न तयार छौं, फूलमाला लिएर, आशा लिएर र परिवर्तनको विश्वास लिएर ।’































प्रतिक्रिया