२०८२ फागुन २ देखि ८ गतेसम्मको राशिफल ।।
ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।
हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यो साता तपाईंका लागि मिश्रित रहनेछ । सुरुका दिनमा भाग्यले कम साथ दिने भएकाले कामहरू सजिलै बन्दैनन्, धेरै दौडधुपपछि मात्र पूरा हुनेछन् र मन अलि खिन्न हुन सक्छ। रोजगारी खोजिरहनुभएको छ भने आफूले चाहेको काम पाउन अझै केही समय कुर्नुपर्ने देखिन्छ, त्यसैले धैर्य राख्नु राम्रो हुन्छ। आलस्य र निराशाबाट बच्नुपर्छ, नत्र काम समयमै सकिन्न।
नोकरी गर्नेहरूले काम भोलि भनेर टार्नु वा मन नलागी काम गर्नु हुँदैन। वरिष्ठ र विरोधी दुवैको नजर तपाईंमाथि रहनेछ र सानो गल्तीले मान–सम्मान तथा करियरमा असर पर्न सक्छ। व्यवसाय गर्नेहरूले कुनै पनि सर्टकट वा नियमविपरीत काम नगर्नुहोस् र कागजी काम समयमै मिलाउनुहोस्। कार्यक्षेत्रमा तपाईंको स्थिति मजबुत हुनेछ र आय बढ्ने सम्भावना पनि छ। नाम, प्रतिष्ठा र सम्मान प्राप्त हुने योग देखिन्छ, राजनीति वा कानुनी विषयमा पनि सफलता मिल्न सक्छ। लगानीका लागि समय राम्रो मानिन्छ, तर ठूलो जोखिम वा शेयर बजारमा ठूलो लगानी नगर्नु राम्रो हुन्छ।
प्रेम सम्बन्धका लागि साता सामान्यतया राम्रो छ। साताको सुरुवात राम्रो रहनेछ, आपसी सम्पर्क बढ्नेछ र जीवनसाथी वा प्रिय व्यक्तिले तपाईंका भावना बुझ्नेछन्। पहिले मनमुटाव भएको छ भने साताको अन्त्यतिर मिलाप हुने सम्भावना छ। परिवारबाट सहयोग पाइनेछ तर सप्ताहको अन्त्यतिर घरमा केही तनावको वातावरण बन्न सक्छ, संयम अपनाउनुहोस्।
स्वास्थ्यतर्फ सावधानी आवश्यक छ। चोटपटक लाग्ने वा सानो दुर्घटना हुने सम्भावना भएकाले हतार–हतार र जोखिमपूर्ण काम नगर्नुहोस्। शरीर दुख्ने र टाउको दुख्ने समस्या देखिन सक्छ, तनावबाट टाढा रहनु राम्रो हुन्छ।
उपाय- हनुमान चालीसाको नियमित पाठ गर्नुहोस्।
वृष राशि
यो साता वृष राशिका लागि सामान्यतया अनुकूल रहनेछ। जीवनसाथीको व्यवहारले खुशी मिल्नेछ र उहाँको राम्रो साथ–सहयोग पाउनुहुनेछ। पुराना विवादहरू मिल्ने सम्भावना छ। व्यापारिक साझेदारसँग सम्बन्ध मधुर रहनेछ र धेरै मानिसहरू तपाईंको सल्लाह लिन आउन सक्छन्। व्यापार वा कामको सिलसिलामा यात्रा हुन सक्छ र नयाँ रोजगारीको अवसर पनि मिल्न सक्छ। लामो समयदेखि लागेको रोगमा सुधार आउने योग छ र प्रेम सम्बन्धमा पनि खुशी रहनेछ।
तर साताको सुरुमा घरमा केही तनावको वातावरण बन्न सक्छ र शुभ कार्यमा साना अवरोध आउन सक्छन्। अरूको कुरालाई धेरै महत्व नदिनुहोस् र आफ्नो विचारमा अडिग भएर जिद्दी नहुनु राम्रो हुन्छ। बाबुको स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक छ। भविष्यका केही योजना ढिला हुन सक्छन्, त्यसैले जीवनसाथीको सल्लाह मानेर अगाडि बढ्नु राम्रो हुन्छ। विवाहबाहिरका सम्बन्धबाट टाढा रहनु लाभदायक हुनेछ। आइतबार र सोमबार अलि कमजोर दिन मानिन्छ।
साताको बीचतिर पारिवारिक काममा व्यस्त रहनु पर्नेछ भने सप्ताहान्तमा पार्टनरसँग रमाइलो समय बित्नेछ। यस बीचमा अचानक लामो दूरीको यात्रा हुन सक्छ, जुन लाभदायक रहनेछ। परिवारको माया र साथ पाउनुहुनेछ।
काम र व्यवसायमा मेहनत गरेअनुसार प्रदर्शन राम्रो भए पनि व्यापारमा प्रगति केही ढिलो र नाफा अपेक्षाभन्दा कम हुनसक्छ । आयभन्दा खर्च बढ्न सक्ने भएकाले आर्थिक पक्ष मध्यम रहनेछ। नोकरी गर्नेहरूले कार्यक्षेत्रमा उच्च पदका व्यक्तिसँग राम्रो सम्बन्ध बनाएर चल्नु राम्रो हुन्छ। साताको अन्त्यतिर स्वास्थ्य र सम्बन्ध दुवैमा केही समस्या आउन सक्छ। मौसमी रोग लाग्न सक्छ र घरायसी कुराले चिन्ता बढाउन सक्छ। प्रिय व्यक्तिबाट समयमा साथ नपाउँदा मन दुखी हुन सक्छ।
यो साता भावनामा बगेर निर्णय नगर्नुहोस्, दिमाग प्रयोग गरेर अघि बढ्नु राम्रो हुन्छ। दाम्पत्य जीवन सुखी राख्न आफ्नो व्यस्त समयबाट जीवनसाथीका लागि पनि समय निकाल्नु आवश्यक छ।
उपाय- दुर्गा चालिसा नियमित पाठ गर्नुहोस्।
मिथुन राशि
यो साता अघिल्लो साताभन्दा धेरै राम्रो र लाभदायक रहनेछ । अड्किएका र अधुरा कामहरू पूरा हुनेछन् । घर र बाहिर दुवैतर्फबाट राम्रो साथ र सहयोग पाउनुहुनेछ। यसले मनमा शान्ति र खुशीको अनुभव गराउनेछ।
व्यवसाय विस्तारको योजना बन्न सक्छ । तपाईंले अरूलाई सहयोग गर्न समय खर्च गर्नुहुनेछ । घरपरिवारको वातावरण राम्रो रहनेछ र नयाँ व्यापारिक सम्झौता हुने सम्भावना छ। तपाईंको समझदारीले ठूलो आर्थिक नोक्सानी हुनबाट जोगाउन सक्छ। रियल इस्टेट सम्बन्धी राम्रो खबर आउन सक्छ। प्रेम सम्बन्धमा अघि बढेर आफ्नो मनको कुरा व्यक्त गर्ने अवसर मिल्न सक्छ। शुक्रबार र शनिबार विशेष शुभ रहनेछन्।
साताको सुरुका दुई दिन भने अलि कमजोर रहन सक्छन्। लगानी गर्दा सावधानी अपनाउनुहोस् र अनावश्यक यात्रा नगर्नुहोस्। नयाँ जागिर सुरु गर्नेहरूलाई सुरुमा केही कठिनाइ आउन सक्छ। पहिले नगरेको काम गर्नुपर्ने अवस्था आउन सक्छ। मनमा द्विविधा हुँदा गलत निर्णय हुन सक्ने भएकाले सोचेर मात्र कदम चाल्नु राम्रो हुन्छ। साथीहरूले सहयोग गर्नेछन् तर पूर्ण रूपमा उनीहरूमा भर पर्नु भविष्यमा समस्या बन्न सक्छ।
व्यवसाय गर्नेहरूका लागि ठूलो कारोबार हुने र मनग्य नाफा हुने योग छ। अड्किएको पैसा फिर्ता आउने सम्भावना छ र सरकारी वा प्रभावशाली व्यक्तिको सहयोगले काम सफल बन्न सक्छ। आय बढ्ने र पैसासम्बन्धी समस्या समाधान हुने संकेत छन्।
नोकरी गर्नेहरूका लागि पनि समय राम्रो रहनेछ। वरिष्ठहरूले तपाईंको कामको प्रशंसा गर्नेछन्। काम गर्ने तरिका वा योजना परिवर्तन गर्दा भविष्यमा फाइदा मिल्नेछ। परिवारसँग सम्बन्ध मधुर रहनेछ र आमाको विशेष माया र आशीर्वाद प्राप्त हुनेछ। प्रेम सम्बन्ध अझ गाढा बन्नेछ। साताको अन्त्यतिर मिल्ने साथीहरूसँग रमाइलो समय बित्नेछ।
उपाय- दैनिक १०८ पटक “ॐ नमः शिवाय” जप गर्नु शुभ हुनेछ ।
कर्कट राशि
यो साता मिश्रित रहनेछ। विद्यार्थीहरूले पढाइमा राम्रो ध्यान दिन सक्नेछन् र सिर्जनात्मक काम तथा विचारमा साथीहरूको साथ मिल्नेछ। विवाहयोग्य व्यक्तिको विवाहमा आएको बाधा हट्ने संकेत छ। कम प्रयासमै सहकर्मीभन्दा अघि बढ्ने अवसर मिल्नेछ र प्रशासन वा जिम्मेवारीपूर्ण क्षेत्रमा काम गर्नेहरूको प्रतिष्ठा बढ्नेछ। नोकरीमा राम्रो अवसर पनि प्राप्त हुन सक्छ। आइतबार र शनिबार अपेक्षाकृत राम्रो दिन रहनेछ।
तर कार्यक्षेत्रमा आफ्नो मनपरी नगर्नु राम्रो हुन्छ, नत्र नयाँ विरोधी खडा हुन सक्छन्। उच्च अधिकारीले हरेक अवस्थामा साथ नदिन सक्छन्। रिसका कारण मानिसहरू तपाईंसँग असन्तुष्ट हुन सक्छन्। दिएको ऋण फिर्ता लिन कठिनाइ आउन सक्छ र गर्भवती महिलाले यात्रा नगर्नु राम्रो हुन्छ।
यो साता अरूको कुरा सुनेर निर्णय गर्दा नोक्सान हुन सक्छ, त्यसैले सावधानी अपनाउनुहोस्। विरोधीहरूले बनेको काम बिगार्ने प्रयास गर्न सक्छन्, त्यसैले कामकाजमा सचेत रहनु आवश्यक छ। करियर, काम र पारिवारिक जिम्मेवारी एकैचोटि बढ्दा तपाईं आफूलाई अलमलमा परेको जस्तो अनुभव गर्न सक्नुहुन्छ। कामको बोझ बढ्न सक्छ, कार्यालयका समस्या, नयाँ योजना र घरायसी कुराले तनाव बढाउन सक्छ। यस्तो समयमा नजिकको कुनै व्यक्तिले राम्रो सहयोग गर्नेछ तर साथ पाएपछि पनि मनभित्र सन्तुष्टि कम महसुस हुन सक्छ।
साताको अन्त्यतिर एकान्त वा शान्त ठाउँमा बस्न मन लाग्न सक्छ। मानिसहरूसँग नम्र व्यवहार गर्नु आवश्यक छ, किनकि रिसमा बोलेको कुरा पुरानो सम्बन्ध बिगार्ने कारण बन्न सक्छ। त्यसैले बोली र व्यवहारमा संयम राख्नुहोस्। महत्वपूर्ण निर्णय गर्नु अघि विश्वासिला व्यक्ति वा शुभचिन्तकसँग सल्लाह लिनु राम्रो हुनेछ।
उपाय- हरेक दिन भगवान शिवको पूजा गरी शिव चालीसाको पाठ गर्नु शुभ हुनेछ।
सिंह राशि
साताको सुरुवात राम्रो हुनेछ। युवाहरूलाई विदेशबाट रोजगारीको अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा सम्मान वा प्रशंसा पाउने सम्भावना छ। आफ्नो प्रयासमा कमी नगर्नुहोस्, सफलता प्राप्त गर्न सक्नुहुन्छ। धार्मिक कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ र आफ्नो जिम्मेवारी तथा अधिकार राम्रोसँग निभाउनुहुनेछ। उच्च शिक्षाका लागि समय राम्रो छ र स्वास्थ्यमा सुधार आउने संकेत छ।
तर तपाईंले आफ्नो काम गर्ने शैलीमा केही परिवर्तन गर्नुपर्ने देखिन्छ। सहकर्मीहरूको व्यवहारप्रति सचेत रहनुहोस्। अदालतमा रहेको पुरानो मुद्दा फेरि अघि बढ्दा चिन्ता हुन सक्छ। जोर्नी वा गठियाको समस्या बढ्न सक्ने भएकाले खानपान र दिनचर्यामा लापरवाही नगर्नुहोस्। कुनै निर्णय लिनु अघि विषयलाई राम्ररी बुझेर मात्र अघि बढ्नुहोस् र अरूमा भर नपर्नु राम्रो हुन्छ।
साताको सुरुमा अचानक ठूलो खर्च आउन सक्छ। घर मर्मत, सजावट वा सुविधासम्बन्धी कुरामा पैसा खर्च हुन सक्छ। काम वा व्यवसायको सिलसिलामा छोटो वा लामो यात्रा हुन सक्छ। विदेशसँग सम्बन्धित काम गर्नेहरूलाई साताको बीचतिर राम्रो अवसर मिल्न सक्छ र विदेश यात्रा हुने सम्भावना पनि देखिन्छ। समग्रमा करियर र व्यापारमा अनुकूलता रहनेछ।
साताको अन्त्यतिर आम्दानीभन्दा खर्च बढी हुने भएकाले आर्थिक सन्तुलन मिलाउन कठिन हुन सक्छ। जग्गा वा घरसम्बन्धी विवादले चिन्ता दिन सक्छ। स्वास्थ्यतर्फ पनि सावधानी आवश्यक हुनेछ।
सम्बन्धतर्फ हेर्दा साता सामान्य रहनेछ। प्रेम सम्बन्ध राम्रो राख्न जीवनसाथी वा प्रेमीमाथि हावी हुने बानीबाट टाढा रहनु राम्रो हुन्छ।
उपाय- “श्री विष्णु सहस्रनाम” पाठ गर्नु शुभ रहनेछ।
कन्या राशि
यो साता शुभ र भाग्यदायक रहनेछ । सोचेका कामहरू समयमै र मनपर्ने तरिकाले पूरा हुने देखिन्छ। करियरमा परिवर्तन गर्न चाहनु भएको छ भने समय अनुकूल छ। कार्यक्षेत्रमा ठूलो जिम्मेवारी पाउन सक्नुहुन्छ र अधिकारीहरूबाट प्रोत्साहन तथा सहयोग मिल्नेछ। तपाईंको सल्लाह अरूका लागि लाभदायक हुनेछ। आर्थिक रूपमा आत्मनिर्भर रहने संकेत छ। जीवनसाथीले साथ दिनेछ र शुभचिन्तकबाट उपहारसमेत प्राप्त हुन सक्छ। सम्बन्धका विषयमा अगाडि बढ्ने राम्रो समय छ। विद्यार्थीहरूले स्वअध्ययनमा ध्यान दिनु राम्रो हुन्छ र ज्येष्ठ व्यक्तिको सल्लाह मान्दा फाइदा हुनेछ।
साताको सुरुमा केही समस्या र अलमल हुन सक्छ। विदेशमा काम गर्नेहरूले धेरै मेहनत गर्नुपर्ने तर त्यसअनुसार लाभ कम महसुस हुन सक्छ। अविवाहित युवामा विपरीत लिङ्गप्रति आकर्षण बढ्न सक्छ, त्यसैले आत्मसंयम आवश्यक छ। व्यापारमा ग्राहकसँग सम्बन्ध बिग्रन सक्ने भएकाले व्यवहारमा सावधानी अपनाउनुहोस्। ऋण वा कर्जाका कारण तनाव हुन सक्छ र प्रेम सम्बन्धमा पर्याप्त समय दिन नसक्दा दूरी बढ्न सक्छ।
साताको बीचतिर अचानक लामो यात्रा हुन सक्छ। यात्राको क्रममा प्रभावशाली व्यक्तिसँग भेट भई त्यसले व्यवसायिक अवसर पनि दिन सक्छ। व्यापार गर्नेहरूले कारोबार विस्तार र बढी लाभतर्फ ध्यान केन्द्रित गर्नेछन्। नोकरी गर्नेहरूका लागि कार्यक्षेत्र अनुकूल रहनेछ र कुनै महिला साथीको सहयोगले करियरमा अघि बढ्ने मौका मिल्न सक्छ। परीक्षा वा प्रतियोगिताको तयारी गर्नेहरूले राम्रो समाचार पाउने सम्भावना छ।
सम्बन्धका दृष्टिले साताको सुरुमा जीवनसाथीसँग सामान्य मतभेद हुन सक्छ तर साताको अन्त्यतिर गलतफहमी हटेर सम्बन्ध फेरि राम्रो बन्नेछ। प्रेमी/प्रेमिकासँग भेटघाटमा केही अवरोध आउन सक्छ, तर धैर्य राखेमा स्थिति सुधार हुनेछ।
उपाय- आदित्यहृदय स्तोत्र दैनिक जप गर्नुहोस्।
तुला राशि
यो साता सकारात्मक ऊर्जा र राम्रो भाग्य लिएर आउने देखिन्छ। साताको सुरुवात कुनै शुभ समाचारबाट हुन सक्छ, जसले घर–परिवारमा खुशीको वातावरण बनाउनेछ र तपाईंको आत्मविश्वास बढ्नेछ। तपाईंले आफ्नो बुद्धि र समझदारीको बलमा महत्वपूर्ण काम मनपर्ने तरिकाले पूरा गर्न सक्नुहुनेछ। निर्णय क्षमता बलियो रहने भएकाले करियर, व्यापार वा व्यक्तिगत जीवनका विषयमा सही दिशा समात्न सजिलो हुनेछ। परिवार र नजिकका व्यक्तिहरूको सहयोगले उत्साह अझ बढ्नेछ र नयाँ अवसर पहिचान गरेर फाइदा लिन सक्नुहुनेछ।
कार्यक्षेत्रमा स्थिर प्रगति हुनेछ र धेरै कामहरू तपाईंको चाहनाअनुसार अघि बढ्नेछन्। अदालत वा कानुनी विषयमा फैसला तपाईंको पक्षमा आउन सक्छ र विरोधीहरू कमजोर बन्नेछन्। लामो समयदेखि चलिरहेको जग्गा, घर वा पैतृक सम्पत्तिको विवाद समाधान हुनाले मन प्रसन्न रहनेछ। साताको बीचतिर भविष्यका योजना बनाउन र कार्यान्वयन गर्न राम्रो समय हुनेछ, जसमा घर र बाहिर दुवैतर्फबाट राम्रो साथ मिल्नेछ।
साताको अन्त्यतिर पुरानो ऋण तिर्न सफल हुन सक्नुहुन्छ। नोकरी गर्नेहरूका लागि आम्दानीका नयाँ स्रोत खुल्नेछन् र बचत बढ्ने सम्भावना छ। प्रेम र वैवाहिक सम्बन्धका दृष्टिले पनि साता निकै शुभ रहनेछ। प्रेमी वा जीवनसाथीबाट सरप्राइज उपहार पाउन सक्नुहुन्छ र ससुराली पक्षबाट विशेष सहयोग मिल्ने योग छ। परिवारसँग रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ।
यद्यपि खर्च बढ्न सक्ने भएकाले आर्थिक निर्णय सोचेर गर्नुहोस् र अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुन्छ। धैर्य र शान्त व्यवहार कायम राखेमा यो साता तपाईंका लागि समग्रमा लाभदायक रहनेछ।
उपाय: हरेक दिन ॐ नमः शिवाय मन्त्र जप गर्नु शुभ हुनेछ।
वृश्चिक राशि
यो साता मिश्रित फलदायी रहने संकेत छ । साताको सुरुवातदेखि नै तपाईंले आफ्नो कामकाज, खर्च र जिम्मेवारीको राम्रो व्यवस्थापन गर्नु लाभदायक हुनेछ। यदि तपाईं योजनाबद्ध ढंगले अघि बढ्नुहुन्छ भने मानसिक तनाव र आर्थिक समस्याबाट बच्न सक्नुहुन्छ। सतर्कता र विवेकपूर्ण कदमले अनावश्यक झन्झट र तनाव कम गर्नेछ।
यस साता तपाईं ठूलो निर्णय लिन सक्नुहुन्छ। प्रतियोगिता परीक्षा दिने विद्यार्थीहरूले अपेक्षित नतिजा पाउन सक्छन्। व्यवसाय विस्तार गर्न चाहनेहरूले ऋण पाउने अवसर पनि पाउनेछन्। जीवनसाथीसँग समय बिताउन सकिनेछ, जसले दाम्पत्य जीवनलाई मजबुत बनाउनेछ। निजी कम्पनीमा काम गर्ने व्यक्तिहरूको लागि यो सप्ताह निकै अनुकूल रहनेछ। तपाईंको व्यवसायमा सक्रियता बढ्नेछ र अतिरिक्त आम्दानीको सम्भावना पनि रहनेछ। धनसँग सम्बन्धित निर्णय र मामिलामा लाभ देखिनेछ।
सप्ताहको आरम्भ र मध्यतिर विशेष ध्यान दिनुपर्ने पक्षहरू पनि छन्। महिला जातकहरूले कम्मर दुख्ने समस्या अनुभव गर्न सक्छन्। सहकर्मीका साना गल्तीमा अत्यधिक ध्यान नदिनुहोस्, यसले तनाव बढाउन सक्छ। सन्तानको भविष्यप्रति चिन्ता रहन सक्छ। तपाईंका केही गुप्त शत्रु सक्रिय रहने सम्भावना छ, त्यसैले सतर्क रहनु आवश्यक छ। पुराना विवाद र समस्या समाधान गर्ने प्रयास गर्नु लाभदायक हुनेछ। साझेदारीका काम वा व्यापारिक सम्झौतामा केही सावधानी अपनाउनु राम्रो हुन्छ।
साताको उत्तरार्धमा तपाईंले पुरानो ऋण फिर्ता गर्ने अवसर पाउनु हुनेछ। नोकरी गर्नेहरूको आम्दानीमा नयाँ स्रोत खुल्नेछ र संचित धनमा वृद्धिको संभावना छ। तपाईंको मेहनत र सक्रियताले तपाईंका व्यापार र करियरमा राम्रो परिणाम दिनेछ।
सप्ताहको अन्त्यतिर सम्बन्ध र व्यक्तिगत जीवनमा पनि ध्यान दिन आवश्यक छ। जीवनसाथी वा प्रेमीसँग मतभेद उत्पन्न हुन सक्छ, तर धैर्य र समझदारीले सम्बन्ध सुधारिनेछ। परिवारसँग समय बिताउने अवसर पनि प्राप्त हुनेछ।
उपाय- दैनिक रूपमा विष्णु चालिसा पाठ गर्नु लाभदायक रहनेछ। यसले मानसिक शान्ति, सकारात्मक ऊर्जा र व्यवसायिक–आर्थिक प्रगतिको मार्ग खुलाउनेछ।
धनु राशि
यो साता शुभता र सौभाग्य लिएर आउने देखिन्छ । साना–ठूला समस्याहरूलाई बेवास्ता गरेमा यो साता अझ राम्रो हुनेछ। कामकाजमा केही भागदौड़ र अड़चन आए पनि मनपर्ने तरिकाले पूरा हुने हुँदा तपाईंलाई कुनै अफसोस हुने छैन।
यदि तपाईंले पछिल्लो समय आर्थिक समस्यासँग जुझ्दै आउनुभयो भने यस साता त्यसको समाधान हुनेछ। अचानक कुनै राम्रो स्रोतबाट धन प्राप्त हुन सक्छ। व्यापारमा फँसेको पैसा अप्रत्याशित रूपमा फिर्ता आउन सक्नेछ। बचत र जमापूँजीमा वृद्धि हुनेछ।
साताको मध्यतिर छोटो वा लामो दूरीको यात्रा हुन सक्छ, जुन लाभदायक र सुखद रहनेछ। लामो समयदेखि रोजगार खोज्दै हिँडिरहेका व्यक्तिहरूले राम्रो अवसर पाउनेछन्। साताको अन्त्यतिर सुविधा र आरामसँग सम्बन्धित कुनै चाहना पूरा हुन सक्छ।
सम्बन्ध र पारिवारिक दृष्टिले यो साता अत्यन्तै शुभ रहनेछ। मित्र र परिवारसँग सम्बन्ध मधुर रहनेछ। प्रेम सम्बन्धमा नजिकियत बढ्नेछ र जीवनसाथी वा प्रेमीसँग राम्रो समय बिताउने अवसर मिल्नेछ। एकअर्काका भावनाहरू बुझ्दा सम्बन्ध अझ मजबुत हुनेछन्। वैवाहिक जीवनमा खुशी र सन्तोष रहनेछ। जीवनसाथीको सहयोग र माया पाउँदा मन प्रसन्न रहनेछ।
प्रणय सम्बन्धलाई वैवाहिक स्वीकृति मिल्ने सम्भावना छ। विद्यार्थीहरूले उच्च शिक्षामा राम्रो नतिजा पाउनेछन्। साना बच्चासँग सम्बन्धमा खुशी रहनेछ। कुनै शुभ समाचार प्राप्त हुन सक्छ। उच्च पदस्थ व्यक्तिहरूसँग सम्बन्ध सुधारिनेछ। विचारमा स्पष्टता आउँछ र स्वास्थ्य समस्या कम हुनेछ।
तर नकारात्मक चिन्तनबाट टाढा रहनु आवश्यक छ। केही काम ढिला हुन सक्छन्, तर पूरा हुनेछन्। धैर्य र संयम आवश्यक छ। आँख मूँदेर कसैमा विश्वास नगर्नुहोस्। मित्रलाई धन उधार दिनुपर्ने अवस्था आउन सक्छ। व्यवसायमा पारदर्शिता कायम राख्नु लाभदायक हुनेछ। अत्यधिक व्यस्तताका कारण थकान रहन सक्छ। परिवारका बृद्ध व्यक्तिको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।
उपाय- हरेक दिन विष्णु सहस्रनामको पाठ गर्नु शुभ रहनेछ।
मकर राशि
यो साता औसत फलदायी रहनेछ । यस साता कुनै पनि काममा जल्दबाजी नगर्नुहोस् र अरूसँग सधैं विनम्र र शिष्ट व्यवहार गर्नु लाभदायक हुनेछ।
सप्ताहको सुरु स्वास्थ्यको दृष्टिले अलिकति प्रतिकूल रहनसक्छ । मौसम परिवर्तन वा पुरानो रोग पुनः सक्रिय हुनाले शारीरिक असुविधा महसुस हुन सक्छ। परीक्षा–प्रतियोगिताको तयारी गरिरहेका विद्यार्थीहरूको मन पढाइबाट अलिकति विचलित हुन सक्छ, उच्च शिक्षा सम्बन्धी केही चुनौतीहरू आउन सक्छन्।
आर्थिक पक्षमा खर्च आम्दानीभन्दा बढी रहने संकेत छ। त्यसैले खर्च नियन्त्रणका लागि आफूमाथि संयम अपनाउनु आवश्यक छ। व्यापार वा व्यवसायमा सतर्क रहनुहोस्, तपाईंका प्रतिस्पर्धी चालाकी देखाएर काममा रोकावट ल्याउन सक्नेछन्। कार्यालयमा केही महत्वपूर्ण कार्यमा ढिला वा अवरोध आउन सक्ने भए पनि केही कामहरूमा सफलता पाउने पूर्ण संभावना पनि छ।
घर–परिवारको दृष्टिले यो समय सन्तुलन र शान्ति दिने रहनेछ। घरमा सुख–शान्तिको वातावरण रहनेछ र परिवारका सदस्यबीच सहयोग र समझदारी देखिनेछ। पारिवारिक विवादमा मिल–बैठेर समाधान निकाल्दा सम्बन्ध अझ मजबुत हुनेछ।
प्रेम सम्बन्धमा मधुरता रहनेछ। लभ पार्टनर वा जीवनसाथीसँग राम्रो तालमेल कायम हुनेछ। एकअर्काका भावनाहरू बुझ्दा र सम्मान गर्दा सम्बन्ध अझ बलियो हुनेछ।
उपाय- दैनिक रूपमा सूर्यलाई अर्घ्य दिनुहोस् ।
कुम्भ राशि
यो साता शुभ परिणाम लिएर आउनेछ । तपाईंका योजनाहरू समयमै पूरा हुनेछन् र धेरै बाधाहरू पनि हट्नेछन् । कार्यक्षेत्रमा कुनै वरिष्ठ अधिकारी वा प्रभावशाली व्यक्तिसँग सकारात्मक सम्पर्क बन्न सक्छ, जसले तपाईंको करियरका लागि लाभ पुर्याउनेछ।
नोकरीपेशा व्यक्तिहरूको लागि यो समय निकै अनुकूल हुनेछ। तपाईंको काम र मेहनतको प्रशंसा हुन सक्छ, जसले प्रमोशन वा तलब वृद्धिका योग बनाउनेछ। वरिष्ठ अधिकारीको सहयोग पाउनेछ र नयाँ जिम्मेवारीहरू पाउने सम्भावना छ, जसले भविष्यमा तपाईंको करियरलाई अझ बलियो बनाउनेछ।
व्यवसायमा लाग्ने जातकका लागि पनि यो साता प्रगतिको संकेत ल्याउनेछ। व्यापार विस्तारका अवसर मिल्नेछन् र लाभमा क्रमशः वृद्धिको संभावना रहनेछ। आर्थिक पक्ष पहिलेभन्दा राम्रो रहनेछ, नयाँ आम्दानीका स्रोत खुल्नेछन् र वित्तीय स्थिति मजबुत बन्नेछ।
यस साता स्वास्थ्य राम्रो रहनेछ, तर बढी कामले थकान हुन सक्छ। परिवारसँगको तालमेल राम्रो रहनेछ र घरमा खुशीको वातावरण रहनेछ। प्रेम सम्बन्धमा पनि मधुरता आउनेछ। सामाजिक वा धार्मिक कार्यक्रममा भाग लिएर तपाईं आफ्नो छवि सुधार्न सक्नुहुन्छ। यात्रा पनि लाभदायक रहनेछ।
घरमा विवाह वा कुनै अन्य मांगलिक उत्सवको योजना बन्नेछ। परिवारका सदस्यको आवश्यकतामा ध्यान दिनुहोस्। व्यापारमा नयाँ सम्झौता मिल्न सक्छ। महत्वपूर्ण बैठकहरूमा सहभागी हुनु पर्नेछ। बेरोजगार व्यक्तिलाई नोकरी मिल्ने संभावना छ। खाना–पानको आनन्द लिन सकिनेछ। घरमा केही नवीकरणको योजना बन्न सक्छ। आर्थिक मामिलामा आवश्यक निर्णय लिनुपर्नेछ। उच्च शिक्षामा नयाँ उपलब्धि प्राप्त हुन सक्छ। वैवाहिक सम्बन्धमा निकटता बढ्नेछ।
सप्ताहको सुरुवाती दिनहरूमा कार्यक्षेत्रमा अनावश्यक व्यस्तता रहन सक्छ। पुरानो ऋण तिर्ने दबाव पर्न सक्छ। परिवारका सदस्यको स्वास्थ्यप्रति चिन्ता रहन सक्छ। ननिहाल पक्षमा केही समस्या देखिन सक्छ। रियल एस्टेटसँग सम्बन्धित कारोबारमा धन वा नगदको समस्या आउन सक्छ। प्रबन्धन क्षेत्रमा कार्यरत व्यक्तिले आफ्नो खामीकमि सुधार्न ध्यान दिनु पर्छ।
उपाय- दैनिक रूपमा गायत्री मन्त्रको जाप गर्नु लाभदायक हुनेछ।
मीन राशि
यो साता अलिकति सतर्क रहनुपर्ने संकेत छ। यस साता तपाईंले कुनै निर्णय गर्दा भावनात्मक रूपमा हतार नगर्नुहोस् । आर्थिक मामिलामा सावधानी अपनाउनुहोस्, अनावश्यक खर्च नगर्नुहोस्। कारोबारमा केही अवरोध आउन सक्छ, त्यसैले योजना पुनः जाँच गरेर मात्र अघि बढ्नु राम्रो हुनेछ।
कार्य क्षेत्रमा तपाईंको स्थिति बलियो रहनेछ। नोकरीमा आएका बाधा हट्नेछन्। अचानक बढेका खर्चमा कमी आउन सक्छ। ठूलो किनमेल पनि गर्न सकिन्छ। परिवारमा खुशीको वातावरण रहनेछ। प्रेम सम्बन्धका लागि समय निकै अनुकूल छ। मेहनतको बलमा आफूलाई सिद्ध गर्ने अवसर प्राप्त हुनेछ। रोकिएको धन प्राप्त हुने संभावना छ।
नयाँ व्यक्तिहरूमा धेरै विश्वास नगर्नुहोस्। कुनै प्रिय मित्रसँग मनमुटाव हुन सक्छ। मानिसहरूले तपाईंको भावनाको उपहास गर्न सक्छन्। मतभेदलाई टाढा गर्न प्रयास गर्नुहोस्। भूमिसँग सम्बन्धित कारोबारमा समस्या आउन सक्छ। सप्ताहको मध्य भागमा स्वास्थ्य सम्बन्धी केही कठिनाइहरूको सामना गर्नुपर्नेछ। यस्तो पनि हुन सक्छ कि तपाईंको कामको श्रेय अरूले लिन सक्छ। प्रेमीजनको व्यवहारले अलिकति चिडचिडापन ल्याउन सक्छ, तर प्रेम अझै कायम रहनेछ।
नोकरी पेशा जातकले कार्यक्षेत्रमा सहकर्मीहरूसँग राम्रो तालमेल कायम राख्नु आवश्यक छ। टीमवर्क र आपसी सहयोगद्वारा मात्र काम समयमै र प्रभावकारी ढंगले पूरा गर्न सकिनेछ। कुनै विषयमा गलतफहमी वा विवाद नहोस् भनेर संवाद कायम राख्नुहोस्। धैर्य र समझदारी अपनाउँदा कार्यस्थलको वातावरण सकारात्मक रहनेछ।
स्वास्थ्यको दृष्टिले अलिकति सतर्क रहनुहोस्। कामको दबाब वा मानसिक तनावले थकान महसुस हुन सक्छ। नियमित ध्यान, योग वा हल्का व्यायामले मानसिक शान्ति र ऊर्जा दिन्छ। पर्याप्त निद्रा र सन्तुलित खानपानमा ध्यान दिनु पनि लाभदायक हुनेछ।
परिवारमा सानो–सानो विवाद आउन सक्छ, तर ती चाँडै समाधान हुनेछन्। प्रेम सम्बन्धमा केही दूरी देखिन सक्छ, तर संवादमार्फत यसलाई हटाउन सकिन्छ। साथी वा जीवनसाथीसँग समय बिताउनुहोस्। सप्ताहको अन्त्यतिर कुनै मित्रको सहयोगले तपाईंलाई मानसिक शान्तिको अनुभव दिलाउनेछ।
उपाय- दुर्गा चालीसा पाठ गर्नुहोस्।





























प्रतिक्रिया