मुस्ताङ। चालु आर्थिक वर्षको छ महिनामा मुस्ताङबाट ४ हजार ३ सय ९१ केजी फोहरमैला जिल्ला बाहिर पठाइएको छ। वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा सङ्कलित फोहर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले (एक्याप) जोमसोममार्फत पोखरा पठाएको हो।
एक्याप जोमसोमका प्रमुख राजेशप्रसाद गुप्ताका अनुसार, समुदायले सङ्कलन गरेको नकुहिने प्लास्टिक फोहर पुनः प्रयोगका लागि पोखरास्थित प्रशोधन केन्द्रमा पठाइएको छ। चालु वर्षको पुससम्म चार चरणमा ट्रकमार्फत फोहर निकासी गरिएको छ। पहिलो चरणमा १७६ बोरा (५४४ केजी), दोस्रोमा १५४ बोरा (८६० केजी), तेस्रोमा २४२ बोरा (१५३ केजी) र चौथो चरणमा १७२ बोरा (१,३५१ केजी) पठाइएको छ।
गतवर्ष पनि तीन पालिकाबाट १०,१९० केजी फोहर पोखरामा पठाइएको थियो।
फोहर व्यवस्थापनका लागि चालु आवमा घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाले प्रत्येक पालिकामा पाँच–पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। घरपझोङले ट्याम्पो, वारागुङले कम्प्रेसर मेसिन र थासाङले फोहरमैला व्यवस्थापनका लागि पूर्वाधार निर्माण गरेका छन्।
तीनै पालिकामा पर्यटक र स्थानीय नागरिकबाट सङ्कलित फोहरको व्यवस्थापन गर्न केन्द्रहरू पनि निर्माण गरिएको छ। केन्द्रहरू थासाङ–४ घाँसा, थासाङ–३ लेते, धम्पु, थासाङ–२ कोवाङ, थासाङ–१ टुकुचे, घरपझोङ–३ स्याङ, घरपझाङ–१ छैरो, वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी र मुक्तिनाथमा स्थापना गरिएको छ।





























प्रतिक्रिया