मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो

मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो

केन्द्रबिन्दु
12
Shares

धनुषा। मिथिलाको महाकुम्भका रूपमा चिनिने मिथिला माध्यमिकी परिक्रमाअन्तर्गत सोमबार श्रद्धालुहरू महोत्तरीको कञ्चनवन पुगेर रङ–अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएका छन् ।

परम्पराअनुसार परिक्रमामा सहभागी श्रद्धालु र साधुसन्त कञ्चनवन पुगेर प्रत्येक वर्ष होली खेल्ने गर्दछन् । यस वर्ष पनि विश्रामका क्रममा मिथिला विहारीको डोलासहित पुगेका श्रद्धालुले एकअर्कालाई रङ–अबिर दल्दै उल्लासपूर्वक होली पर्व मनाएका हुन् । मिथिलामा कञ्चनवनमा होली खेलेसँगै होली पर्वको औपचारिक सुरुआत हुने परम्परा रहेको छ ।

ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा सोमबार महोत्तरीको भङ्गाहा नगरपालिका–९ हरिनमरीस्थित कञ्चनवन पुगेको हो । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रुलाई भङ्गाहा नगरपालिकाले स्वागत गरेको जनाएको छ । नगरप्रमुख सञ्जिव साहका अनुसार विभिन्न स्थानमा प्रवेशद्वार, पण्डाल र आवासको व्यवस्था गरिएको थियो भने पुवा, खीर, सर्वत, अबिर र फूलमालासहित होली मिलन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

स्थानीय मठमन्दिरका महन्थ, सामाजिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्व र विभिन्न क्षेत्रका सहभागीहरूको उपस्थितिले कञ्चनवनको होली विशेष बनेको जनाइएको छ । धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीकका रूपमा यहाँको होली वर्षेनि थप व्यवस्थित बन्दै गएको स्थानीयको भनाइ छ । यस वर्ष मधेस प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादवले पनि सहभागिता जनाएका थिए ।

धार्मिक विश्वासअनुसार त्रेतायुगमा भगवान् राम र सीताले कञ्चनवनमा रङ–अबिर खेलेर होली मनाएको मान्यता छ । धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौँ दिन कञ्चनवन पुगेर होली खेल्ने र रात्रि विश्राम गर्ने परम्परा रहेको छ ।

फागुन ४ गतेदेखि सुरु भएको मिथिला माध्यमिकी परिक्रमा यसअघि हनुमानगढी, कल्याणेश्वर, भारतको गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई हुँदै ध्रुवकुण्ड पुगेको थियो । जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी (माताजानकी) र कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको डोलाको नेतृत्वमा भजन–कीर्तनसहित सुरु भएको १५ दिने परिक्रमा यात्राले विभिन्न विश्रामस्थल पार गर्दै अगाडि बढिरहेको छ ।

कञ्चनवनपछि परिक्रमा पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्वर हुँदै फागु पूर्णिमाका दिन जनकपुर फर्कनेछ । नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतीक मानिने यस यात्रामा नेपालका धनुषा र महोत्तरीका १३ तथा भारतका दुई गरी १५ विश्रामस्थल समेटिन्छन् ।

परिक्रमामा सहभागी श्रद्धालुले नेपालतर्फ १०७ किलोमिटर र भारततर्फ २६ किलोमिटर गरी कुल १३३ किलोमिटर पैदल यात्रा गर्ने परम्परा छ । परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मबाट भएका पाप नष्ट भई मनोकामना पूरा हुने तथा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

Skip This
Skip This
Logo