भक्तपुरमा होली पर्व सुरु,धुमधामका साथ मनाईँदै

भक्तपुरमा होली पर्व सुरु,धुमधामका साथ मनाईँदै

केन्द्रबिन्दु
12
Shares

भक्तपुर। भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरमा मंगलबार साँझ भीमसेनको लिङ्ग झुण्ड्याएर प्रदर्शनीमा राखी चिर स्वायगू अर्थात चिरोथानसँगै होली पर्व सुरु भएको छ।

फागुन शुक्ल अष्टमीको साँझ नेपाल भाषामा ‘लज्ज’ भनिने भीमसेनको लिङ्ग प्रतीकस्वरूप काठको मुढाबाट बनेको करिब तीन हात लामो र ३० इञ्च गोलाइको काठको लिङ्ग कमलपोखरीमा पखालेर ल्याइन्छ। पूर्णिमाको साँझ उक्त लज्ज ब्रह्मायणी खोलामा पुनः पखालेर मन्दिरमा राख्ने प्रचलन छ।

लज्ज बोकेर पखालेर ल्याउने व्यक्तिलाई पुत्रलाभ हुने जनविश्वास छ। कमलपोखरीमा सफा गरेपछि दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै दत्तात्रय मन्दिर वरपरका घर र पसलमा परिक्रमा गराइएको थियो।

घर तथा पसलमा ल्याइएको लिङ्गको पूजाआजा र दर्शन गर्दा व्यापार–व्यवसायमा उन्नति हुने विश्वास छ। काठको लिङ्ग प्रदर्शनका क्रममा भीमसेन गुठीका गायजुहरूले ‘भीमसेन देया लज्ज खङ लो वानला, बिस्यूवाने म्वायक सो झायला’ बोलको गीत गाउँदै नगर परिक्रमा गराएका थिए।

फागुपूर्णिमाको दिन साँझ लिङ्गलाई एक व्यक्तिले काँधमा बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखालिन्छ र पुनः मन्दिरमा राखिएपछि यस वर्षको फागु पर्व सम्पन्न हुन्छ। लिङ्ग प्रदर्शनको प्रचलन कहिलेदेखि सुरु भएको हो भन्ने यकिन तथ्य नभए पनि १७औँ शताब्दीमा निर्माण भएको मन्दिरसँगै यस परम्परा चलिआएको बताइन्छ।

फागु पर्वको सुरुवात जनाउन काठमाडौंको वसन्तपुरमा चीर स्वायगु गाडिएसँगै भक्तपुरको तचपालमा पनि फागुन शुक्ल अष्टमीदेखि लिङ्ग प्रदर्शन गरिन्छ। लिङ्गसँगै यौन समागमको दृश्य झल्कने गरी रातो कपडामा प्वाल पारी काठको लिङ्ग प्रवेश गराइएको छ। झुण्ड्याइएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र प्रवेश गर्ने दृश्यलाई भीमसेन र द्रौपदीको समागमको प्रतीकका रूपमा लिने गरिन्छ।

वसन्त ऋतुको आगमनसँगै फागु पर्वलाई सृष्टिलाई अभिप्रेरित गर्ने पर्वका रूपमा मनाइन्छ। यस समय कामदेव सक्रिय हुने विश्वाससँगै सृष्टि र प्रजननको सन्देश यस पर्वले दिने मानिन्छ। चीर स्वायगु अर्थात चीर गाड्ने कार्यलाई शिव–शक्ति मिलनको प्रतीकका रूपमा लिइन्छ। महादेवको ११औँ अवतारमध्ये भीमसेन एक भएकाले यस पर्वलाई महादेव र पार्वतीको प्रतीकका रूपमा समेत व्याख्या गरिन्छ

Logo