डुम्रे। ‘सिक्दैछौँ आधुनिक ज्ञान, भुल्दैनौँ आफ्नो मौलिक पहिचान’ नाराका साथ तनहुँमा सन् २०२६ तमु भाषा, साहित्य, कला एवं संस्कृति वर्षका रूपमा मनाउने तयारी भइरहेको छ । आदिकवि भानुभक्त क्याम्पसले तमु भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा विविध कार्यक्रम सञ्चालन गर्दैछ ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नयाँ पुस्तामा सांस्कृतिक अभियन्ता र विज्ञ उत्पादन गर्नु हो। क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले तमु समुदाय, शैक्षिक संस्था र क्याम्पसको सहकार्यले समुदायको सङ्गठनशीलता र सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको जानकारी दिए।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मौलिक सांस्कृतिक पहिचानलाई शक्ति र सम्मानको स्रोतको रूपमा प्रस्तुत गर्दै, नयाँ पुस्ताले आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए। क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले आधुनिक प्रविधिसँग रैथाने ज्ञान र सीपलाई जोड्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास जारी रहेको बताए।
सम्पदा नेपालका अध्यक्ष तथा पर्यटन विज्ञ हरिसिं गुरुङले गुरुङ समुदायका नाच, संस्कार र परम्पराहरू केवल मनोरञ्जन नभई सभ्यताको अङ्ग भएकाले तिनीहरूको मर्म बुझ्न र जोगाउन आवश्यक रहेको उल्लेख गरे। तमु विद्यार्थी सहयोग समूहका अध्यक्ष रोहन गुरुङले वार्षिक कार्ययोजना नयाँ पुस्तासँग पुलको रूपमा रहेको बताए।
देवघाट गाउँपालिकाकी छात्रा रिया गुरुङले भने, “हामी तमु, हाम्रो भाषा, साहित्य, कला र संस्कृतिमा स्पष्ट हुन सकेनौँ भने भोलि नयाँ पुस्तालाई के सिकाउने?” भनी भाषिक र सांस्कृतिक पुस्तान्तरणमा यस कार्यक्रमको महत्व औंल्याइन्।
यसैबीच क्याम्पसले आदिवासी जनजातिको भाषा र संस्कृतिको संरक्षण तथा विकास समितिमार्फत सन् २०२६ तमु भाषा, साहित्य, कला र संस्कृति वर्ष घोषणा गरेको छ। कार्यक्रमले तनहुँमा मात्र नभई देशभर सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।































प्रतिक्रिया