भोजपुर। भोजपुर जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतङ्कका कारण खेतीयोग्य जमिन बर्सेनि बाझिँदै गएको छ। अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसान खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवार वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ गर्न थालेका छन्। बाँदरको उपद्रोका कारण ग्रामीण बस्ती क्रमशः सुनसान बन्दै गएका छन्।
स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने र पाक्न लागेको बाली लक्षित गरी आक्रमण गर्ने गर्छन्। खेत वरिपरि कराउँदै हल्ला गरे पनि केही समयपछि पुनः फर्किने भएकाले नियन्त्रण गर्न कठिन भएको छ। कतिपयले डर देखाउने आकृति बनाएका छन् भने खेतबारीको डिलमा कटेरा बनाएर पालैपालो खेत कुर्ने प्रयास गरे पनि दीर्घकालीन समाधान हुन सकेको छैन।
मानेभञ्ज्याङ क्षेत्रअन्तर्गत पर्ने रामप्रसादराई गाउँपालिका–५ (साविक वडा नं ८ र ९) मा समस्या गम्भीर देखिएको छ। स्थानीय जगतबहादुर तामाङका अनुसार यस क्षेत्रका करिब ९८ प्रतिशत बासिन्दा बसाइँ सरेपछि गाउँ प्रायः रित्तिएको छ। पहिले खेतबारीमा चहलपहल हुने गाउँमा अहिले घरका ढोका बन्द छन् र आँगनमा झार उम्रिएको छ।
अर्चले, भोर्लेनी, दमाईंछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरियालगायत बस्तीमा अधिकांश घर जीर्ण र खाली अवस्थामा छन्। एक समय हराभरा देखिने खेतबारी बाँझै छाडिएका छन्। खेतका कान्ला र पाखा झाडीले ढाक्न थालेका छन् भने कतिपय स्थानमा बारी नै जङ्गलमा परिणत हुन थालेको छ।





























प्रतिक्रिया