कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम बढ्न थालेको छ । पतझरको समय सुरु भएसँगै वनमा पात झर्ने र नयाँ पालुवा पलाउने क्रम चलिरहेकाले सुक्खा वातावरणका कारण सानो आगोको झिल्कोले पनि ठूलो डढेलोको रूप लिन सक्ने खतरा बढेको छ ।
यस्तो संवेदनशील अवस्थामा पनि डढेलो नियन्त्रणका लागि जिल्लामा प्रभावकारी पूर्वतयारीका कार्यक्रम पर्याप्त रूपमा सञ्चालन हुन सकेका छैनन् । चुरे फेदीका वन र लालझाडी–मोहना संरक्षण क्षेत्र आसपासका क्षेत्रमा डढेलोको जोखिम उच्च देखिएको छ । उक्त क्षेत्रमा रहेका सामुदायिक वनमा आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वतयारी तथा सचेतनामूलक गतिविधि पर्याप्त नभएको सामुदायिक वन समन्वय समिति (सिएफसिसी) कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीको भनाइ छ ।
उनका अनुसार पछिल्लो समय निर्वाचनको माहोलमा सबैको ध्यान केन्द्रित हुँदा वन संरक्षणको विषय ओझेलमा परेको छ । वन क्षेत्रमा आगलागी रोक्न आवश्यक पूर्वतयारी गर्नुपर्ने भए पनि त्यसतर्फ सरकारी तथा गैरसरकारी निकायको ध्यान खासै गएको देखिँदैन ।
उनका अनुसार वातावरण अत्यन्त सुक्खा हुँदै गएको छ र लामो समयदेखि पानी नपरेकाले डढेलोको सम्भावना अझै बढेको छ । हावा सुक्खा हुनु र तापक्रम बढ्दै जाँदा सानो आगोको झिल्कोले पनि पूरै वन क्षेत्र खरानी बनाउन सक्ने अवस्था रहेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर पनि वन क्षेत्रमा देखिन थालेको छ ।
वन क्षेत्रमा डढेलो लागे त्यसको प्रत्यक्ष असर जैविक विविधतामा पर्ने सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले बताए । डढेलोका कारण वन्यजन्तुको प्राकृतिक बासस्थान नष्ट हुने मात्र नभई घिस्रेर हिँड्ने सरीसृप वर्गका जीवजन्तु ठूलो मात्रामा नष्ट हुने खतरा रहेको उनको भनाइ छ ।
वनमा डढेलो लागेपछि ठूलो आकारका जनावर भाग्न सक्ने भए पनि साना जीवजन्तु र सरीसृपहरू आगोबाट बच्न नसक्ने अवस्था हुन्छ । यसका साथै लाखौँ रुपैयाँ मूल्यबराबरका काठ, बहुमूल्य जडीबुटी तथा वनसम्पदा जलेर नष्ट हुने जोखिम पनि उत्तिकै रहेको उल्लेख गरिएको छ । यही चुनौतीलाई मध्यनजर गर्दै फायरलाइन सरसफाइको कार्यमा जोड दिइएको छ ।
यस जोखिमलाई ध्यानमा राख्दै केही सामुदायिक वनहरूले अग्निपथ (फायर लाइन) सरसफाइ तथा वनभित्र थुप्रिएका सुक्खा पातपतिङ्गर हटाउने काम सुरु गरेका छन् । तर सीमित स्रोतसाधनका कारण यस्ता गतिविधि सबै वन क्षेत्रमा प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् । लालझाडीदेखि चुरे क्षेत्र वन्यजन्तुको आवतजावतका लागि अत्यन्त महत्त्वपूर्ण करिडोर मानिन्छ ।
जोशीका अनुसार यस्तो जोखिमपूर्ण अवस्थामा अग्नि नियन्त्रण दललाई सक्रिय अवस्थामा राख्नुपर्ने भए पनि त्यस्तो व्यवस्था प्रभावकारी रूपमा हुन सकेको छैन । सूचना प्रणाली पनि चुस्तदुरुस्त बनाउन आवश्यक देखिएको छ ।
लालझाडी–मोहना संरक्षण क्षेत्रमा मात्रै ९४ वटा सामुदायिक वन रहेका छन् । डिभिजन वन कार्यालयले भने डढेलो न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जनाएको छ । कार्यालयका डिभिजनल वन अधिकृत लक्ष्मीराज जोशीका अनुसार वन क्षेत्रमा आगलागीका घटना कम गर्न सामुदायिक वनका पदाधिकारी र उपभोक्तालाई सचेत गराउने काम गरिएको छ ।
सामुदायिक वनका पदाधिकारीलाई अग्निपथ (फायर लाइन) सफा गर्ने, वनमा थुप्रिएका सुक्खा पातपतिङ्गर हटाउनेजस्ता काम गर्न मौखिक र पत्राचारमार्फत जानकारी दिइएको छ । डढेलोबाट हुने जोखिमबारे जनचेतना फैलाउन एफएम रेडियो तथा छापा सञ्चारमाध्यममार्फत सूचनामूलक सन्देश पनि प्रसारण भइरहेको छ ।
तर डढेलो नियन्त्रणका लागि पर्याप्त बजेटको अभाव रहेको स्वीकार गरिएको छ । बजेट सीमित भएकाले सामुदायिक वन समूहका पदाधिकारी र उपभोक्तालाई परिचालन गरेर काम अघि बढाइएको बताइएको छ ।
केही समयभित्र विभिन्न स्थानमा डढेलोसम्बन्धी सचेतनामूलक छलफल, गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरी स्थानीय बासिन्दालाई सचेत बनाउने योजना रहेको छ । डिभिजन वन कार्यालयले डढेलो लागेका स्थानमा तत्काल नियन्त्रणका लागि आवश्यक उपकरण र साधनको व्यवस्था गर्ने तयारी पनि गरिरहेको जनाएको छ । आवश्यक परेको अवस्थामा ट्र्याक्टरमा पानी ट्याङ्की जडान गरेर आगो निभाउने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी, डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री सामुदायिक वन उपभोक्ता समूहलाई वितरण गर्ने योजना पनि रहेको छ । डढेलोको जोखिम बढ्दै गएकाले जनचेतना अभिवृद्धि गर्न सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । सीमित स्रोतसाधनका बाबजुद कर्मचारी, सामुदायिक वनका पदाधिकारी, सुरक्षाकर्मी र स्थानीय उपभोक्ताबीच समन्वय गरेर काम गर्ने तयारी गरिएको छ ।
डढेलोको जोखिम बढ्दै गएकाले समयमै प्रभावकारी पूर्वतयारी आवश्यक रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बहादुरसिंह महराले बताएका छन् । वन क्षेत्रको संरक्षण सरकारी निकायको मात्र दायित्व नभई स्थानीय समुदाय, सामुदायिक वन समूह र सरोकारवालाको साझा जिम्मेवारी भएको उनले उल्लेख गरेका छन् । वन क्षेत्रमा सुक्खा पातपतिङ्गर व्यवस्थापन, अग्निपथ निर्माण तथा स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके आगलागीको जोखिम धेरै हदसम्म घटाउन सकिने उनले बताएका छन् ।
सुक्खा मौसम, पतझरको समय र मानव गतिविधिका कारण ती क्षेत्रमा हरेक वर्ष आगलागीको जोखिम बढ्ने गर्दछ । वनमा लाग्ने ९० प्रतिशतभन्दा बढी डढेलो मानवीय कारणले लाग्ने गरेको छ । वनमा वनभोज खान जानेहरूले आगो ननिभाइ छाड्ने, गोठालाले नयाँ घाँस पलाउने लोभमा आगो लगाउने र सिकारीले जनावरलाई लखेट्न आगो प्रयोग गर्ने जस्ता गतिविधिले डढेलो निम्त्याउने गरेको छ ।





























प्रतिक्रिया