जलजलामा ओखर खेतीको विस्तार अगाडि बढेको छ : उपाध्यक्ष आचार्य

जलजलामा ओखर खेतीको विस्तार अगाडि बढेको छ : उपाध्यक्ष आचार्य

केन्द्रबिन्दु
3
Shares

पर्वत। परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नहुँदा पर्वतको जलजला गाउँपालिकाका किसान अहिले ओखर खेतीतर्फ आकर्षित हुन थालेका छन्। पहाडी भेगका धेरै जमिन बाँझो बस्न थालेपछि किसानहरूले त्यसलाई उपयोग गर्दै ओखरलाई नगदे बालीका रूपमा रोज्न थालेका हुन्।

पहिले मकै, कोदो र धान लगाइने धेरै खेत अहिले जनशक्ति अभावका कारण बाँझो हुने अवस्थामा पुगेका छन्। युवा रोजगारीका लागि गाउँ छोडेर बाहिरिन थालेपछि खेती गर्ने मानिस कम भएको छ । यही कारणले कम श्रममा सम्भव हुने ओखर खेती किसानका लागि विकल्प बनेको छ ।

कृषि विकास कार्यालय पर्वतका अनुसार जलजला गाउँपालिकासहित उत्तरी भेगको चिसो हावापानी, ढल्केको जमिन र माटोको गुणस्तर ओखर खेतीका लागि उपयुक्त मानिन्छ । समुद्री सतहबाट करिब १८ सय मिटरभन्दा माथिको क्षेत्रमा ओखर खेती राम्रो हुने भएकाले यसलाई पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको जनाइएको छ।

स्थानीय तह र गण्डकी प्रदेश सरकारको काष्ठफल तथा फलफूल विकास आयोजनाले बाझो जमिनमा फलफूल खेती विस्तार गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गरेपछि किसानहरू थप उत्साहित भएका जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताएका छन् । आचार्यले स्थानिय किसानलाई नगदेवालीतर्फ आकर्षित गर्ने उद्देश्यले सो योजना अगाडि बढाईएको बताए। खाली रहेको बाँझो पाखो बारीमा लगाउन सकिने र थोरै मेहनतमा पनि धेरै आम्दानी गर्न सकिने आचार्यको भनाई छ ।

जलजला–९ का कृषक तमबहादुर पुनले केही वर्षअघि आफ्नै बारीमा रहेको एक ओखरको बोटबाट राम्रो उत्पादन भएपछि खेती विस्तार गरेका छन्। एक बोटबाट मात्रै करिब १५० केजी ओखर फल्दा बिक्रीबाट राम्रो आम्दानी भएको अनुभव उनले सुनाएका छन्। अहिले उनले ३८ रोपनी जग्गामा तीन सयभन्दा बढी दाते ओखरका बिरुवा लगाएका छन्।

वडा नं ५ लेखफाँटका पूर्वशिक्षक हिराबहादुर जिसीले पनि गाउँमा बाँझो परेको जग्गामा ओखर खेती सुरु गरेका छन्। परिवारका सदस्यहरू बसाइँसराइ गरेर बाहिरिएपछि खेती गर्ने मान्छे नभएको र जमिन बाँझो राख्न मन नलागेकाले ओखर खेती रोजेको उनको भनाइ छ।

७० वर्षका कृषक पिरमलाल सुवेदीले पनि हालै २० रोपनीभन्दा बढी जग्गामा ओखरका बिरुवा लगाएका छन्। उमेर बढ्दै जाँदा धेरै मेहनत लाग्ने खेती सम्भव नभएकाले दीर्घकालीन आम्दानी दिने ओखर खेती रोजेको उनी बताउँछन्।

कृषि प्राविधिकहरूका अनुसार ओखरका बिरुवा रोपेपछि करिब पाँच वर्षमा फल दिन सुरु गर्छन्। बिरुवाको बीचमा हदेलो, लसुन, प्याज, मूला वा अदुवा जस्ता घुसुवा बाली पनि लगाउन सकिने भएकाले किसानलाई थप आम्दानीको सम्भावना रहने बताइन्छ।

ओखर खेती विस्तारका लागि परियोजनाले किसानलाई अनुदानमा बिरुवा, प्राविधिक तालिम तथा बगैचा व्यवस्थापनसम्बन्धी परामर्श उपलब्ध गराउँदै आएको छ। अहिले धेरै किसानले जुम्ला र मुस्ताङको मार्फाबाट दाते ओखरका बिरुवा ल्याएर रोप्न थालेका छन्।

कम श्रम, दीर्घकालीन उत्पादन र राम्रो बजारका कारण पर्वतका किसानका लागि ओखर खेती नयाँ सम्भावनाको रूपमा देखिन थालेको छ

Logo