इलामका बगानमा चिया टिप्ने चटारो

इलामका बगानमा चिया टिप्ने चटारो

केन्द्रबिन्दु
18
Shares

इलाम। इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको छ। ‘फस्ट फ्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि महत्वपूर्ण मानिन्छ।

फागुनको अन्तिम सातादेखि सुरु भएको चियाले उद्योगी र किसानलाई वार्षिक आम्दानीको मुख्य आधार दिने गर्छ। पहिलो टिपाइको चिया विशेष सावधानीका साथ सङ्कलन गरिन्छ। कोमल पातबाट उच्च गुणस्तरको चिया उत्पादन हुने भएकाले अन्तरराष्ट्रिय बजारमा यसको माग बढी हुन्छ।

यस वर्ष जिल्लाको दक्षिणी क्षेत्रबाट चिया टिपाइ सुरु भएको छ। इलामको सोयाक बगानमा पहिलो टिपाइ सुरु भएको छ। पहिलो टिपाइमा करिब अढाइ सय किलो चिया सङ्कलन भएको छ। सोयाकसँगै चिलिमकोटलगायतका क्षेत्रका बगानमा पनि क्रमशः चिया टिपाइ सुरु भएको छ।

यस वर्ष हरियो पत्तीको मूल्य गत वर्षकै हाराहारीमा कायम गरिएको छ। किसानलाई प्रतिकिलो ६५ रुपैयाँदेखि प्रतिकिलो एक हजार ५०० रुपैयाँसम्म मूल्य दिने व्यवस्था गरिएको छ।

चियाको पहिलो टिपाइ स्थानीय किसानका लागि वर्षको सुरुवाती आशा जस्तै मानिन्छ। पहिलो टिपाइको चिया गुणस्तरका हिसाबले राम्रो हुने भएकाले मूल्य पनि राम्रो पाइन्छ।

यस वर्ष कात्तिकयता पर्याप्त वर्षा नपरेकाले जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा चैतको पहिलो सातापछि मात्र टिपाइ सुरु हुने सम्भावना छ।

इलामसँगै पाँचथरको कञ्चनजङ्गा चिया कारखानाले पनि पहिलो टिपाइको चिया प्रशोधन सुरु गरिसकेको छ। यसरी तयार भएको चिया जर्मनी, रुस, अमेरिका लगायत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ।

इलाममा गोल्डेन, गोल्डेन पल, सिल्भर टिप, गोल्डेन ब्ल्याक, ग्रिनलगायत फरक–फरक स्वाद र गुणस्तरका चिया उत्पादन हुन्छन्।

चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट ८६ लाख ७७ हजार २२१ किलो चिया निर्यात भएको छ। उक्त चियाबाट दुई अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको तथ्याङ्क छ।

इलाममा करिब सात हजार ६०० किसानले सात हजार ३०० हेक्टर क्षेत्रफलमा चिया खेती गर्छन्। जिल्लामा ३६ वटा ठूला चिया बगान सञ्चालनमा छन्।

Logo