इनिशा हत्या दोषीको कडा कारबाहीको मागसहित हेटौंडामा सयौँ विद्यार्थी सडकमा

इनिशा हत्या दोषीको कडा कारबाहीको मागसहित हेटौंडामा सयौँ विद्यार्थी सडकमा

केन्द्रबिन्दु
9
Shares

हेटौंडा। सुर्खेतकी इनिशा बिकको बलात्कारपछि हत्या भएको घटनाले आक्रोश चुलिँदै गएको छ। दोषीलाई कडा कारबाहीको माग गर्दै आइतबार बिहान हेटौंडामा सयौँ विद्यार्थी सडकमा उत्रिएका छन्।

हेटौंडाका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गर्दै “हत्यारालाई कारबाही गर”, “पीडितलाई न्याय दे”, “बलात्कारीलाई फाँसी दे”, “नारी अस्मिताको रक्षा गर” जस्ता नाराबाजी गरेका थिए।

प्रदर्शनको नेतृत्व हेटौंडा क्याम्पसमा सक्रिय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गरेको बताइएको छ । क्याम्पस कमिटी अध्यक्ष नितेश भण्डारीका अनुसार घटनामा संलग्नलाई कडा कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिइएको छ।

प्रदर्शनमा हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी माध्यमिक विद्यालय र सिद्धार्थ ल क्याम्पसका करिब पाँच सय विद्यार्थी सहभागी भएका थिए।

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा इनिशा बिक मृत अवस्थामा फेला परेपछि देशभर आक्रोश बढेको छ । पोस्टमार्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि गरेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

घटनाले महिला सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै विद्यार्थीहरूले दोषीलाई कडा सजाय दिन र पीडितलाई न्याय दिलाउन सरकारसँग तत्काल कदम चाल्न माग गरेका छन्।

Logo