हिँऊ परेपछी मुस्ताङका किसानहरु हर्षित

हिँऊ परेपछी मुस्ताङका किसानहरु हर्षित

केन्द्रबिन्दु
21
Shares

मुस्ताङ। मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र पशुपालकलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले किसान र पशुपालकले राहत महसुस गरेका छन् ।

शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रलगायतका विभिन्न स्थानमा भारी हिमपात भएको हो । घरपझोङ र थासाङ गाउँपालिकाका उच्च लेकमा हिमपात भएको छ भने बस्ती क्षेत्रमा वर्षा भएको छ । भारी हिमपातका कारण माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका उच्च लेकका चरन क्षेत्र हिउँले ढाकिएका छन् । मुक्तिक्षेत्र र माथिल्लो मुस्ताङका बस्ती क्षेत्रमा समेत हिमपात हुँदा खेतीयोग्य जमिन हिउँले ढाकिएको छ ।

घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमाथिको उच्च लेक सेताम्मे हिउँले ढाकिएको छ । ठिनीका पशुपालक किसान च्याङबहादुर थकालीका अनुसार भ्रप्सा, यारुझो भ्यूटावर, नमखुलेक र तिलिचो पदमार्गको मेसोकोन्दो पास क्षेत्र पूर्ण रूपमा हिउँले ढाकिएको छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँस अभाव हुने गरेको अवस्थामा यस वर्षको हिमपातले पशुपालकलाई राहत दिएको उनले बताएका छन् । हुरीबतासबिनाको हिमपातले चरन क्षेत्रमा पर्याप्त घाँस पलाउने अपेक्षा गरिएको छ ।

विगत तीन वर्षदेखि अनुकूल समयमा हिमपात नहुँदा चरन क्षेत्रमा घाँस अभाव भई पशुपालन प्रभावित हुँदै आएको थियो । जलवायु परिवर्तनका कारण उच्च लेकमा तापक्रम वृद्धि हुँदा हिमनदी र पानीका मुहान सुक्दै गएको र अनियमित वनस्पति पलाउँदा पशुचौपायामा असर परेको उल्लेख गरिएको छ ।

अनुकूल हिमपातका कारण चरन क्षेत्रमा पर्याप्त घाँस हुने भएकाले हिउँ चितुवाको आहारा बस्तीमा नझर्ने र वन्यजन्तुको जोखिमसमेत घट्ने अपेक्षा गरिएको छ ।

यस वर्षको हिमपातले कृषि पेसामा संलग्न किसानलाई पनि राहत पुगेको छ । हिउँ लामो समयसम्म रहँदा जमिनको भित्री तहसम्म पानी पुगेर सिञ्चाइमा सहयोग पुग्ने भएकाले यसलाई किसानले लाभदायक मानेका छन् । हाल खेतबारीमा उवा, जौँ, गहुँ र हरियो तरकारी रोपिएको छ भने स्याउमा फूल लाग्ने समय नजिकिएको छ ।

अनुकूल समयमा परेको हिमपातले बालीमा लाग्ने रोग–कीरा कम गर्न सहयोग गर्ने भएकाले यसलाई प्राकृतिक रूपमा उपयोगी मानिएको छ । साथै, पर्यटकीय याममा हिमपात भएकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

Logo