आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर’

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर’

केन्द्रबिन्दु
15
Shares

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि बजार अभावका कारण किसान चिन्तित छन् ।

पाँचखाल, मण्डनदेउपुर, नाला तथा पनौती क्षेत्रमा अहिले धमाधम आलु खन्ने काम भइरहेको छ । खेतमा आलुका बोरा थुप्रिएका छन् भने सडकछेउमा पनि आलुको चाङ देखिन्छ । तर बजार मूल्य घट्दा किसान उत्साहित छैनन् । खेतमै पुग्ने व्यापारीसमेत कम आएका छन् ।

पाँचखाल नगरपालिका–६ का किसान रामेश्वर सापकोटाका अनुसार अहिले आलु प्रतिकिलो रु सातदेखि १० सम्ममा बिक्री भइरहेको छ । उनले भने, “भाउ घटेको छ, व्यापारी पनि आउँदैनन्, आफैँ बोलाउनुपर्छ ।”

सस्तो मूल्यका कारण किसान ‘खनौँ कि नखनौँ’ भन्ने अन्योलमा छन् । लागत उठाउनसमेत कठिन भइरहेको उनीहरूको भनाइ छ । केही किसानले काठमाडौँको कालीमाटी बजारसम्म पुर्‍याउँदा पनि बिक्री नभएपछि कम मूल्यमा छाडेर फर्किनुपरेको अवस्था छ ।

आलुखेतीमा जमिन तयारी, मल, बीउ, सिँचाइ, औषधि र श्रम खर्च जोड्दा प्रतिकिलो रु १८ देखि २० सम्म लागत पर्छ । विगतमा यही समयमा प्रतिकिलो रु २८ देखि ३५ सम्ममा बिक्री हुने गरेको थियो ।

स्थानीय किसानका अनुसार छिप्पेको आलु नखन्दा कुहिने जोखिम भएकाले घाटा सहेरै बिक्री गर्नुपरेको छ । भुक्तानीसमेत समयमै नपाउने चिन्ता छ ।

पाँचखाल नगर क्षेत्रमा करिब ७० हजार रोपनीमा आलुखेती हुँदै आएको छ । वार्षिक करिब ९० हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । यस वर्ष मूल्य घट्दा किसानले ठूलो आम्दानी गुमाउने अनुमान गरिएको छ ।

सरकारले उचित मूल्य निर्धारण, भण्डारण व्यवस्था, बजार व्यवस्थापन र प्रशोधन उद्योग विकास गर्न सके समस्या समाधान हुने किसानको भनाइ छ ।

मण्डनदेउपुर क्षेत्रमा पनि उत्पादन बढे पनि मूल्य घटेकाले किसान समस्यामा छन् । गत वर्षको तुलनामा उत्पादन बढे पनि मूल्य घट्दा आम्दानी प्रभावित भएको बताइएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा हरेक वर्ष नौ हजार १६३ हेक्टर जमिनमा एक लाख ८९ हजार ७८ मेट्रिक टन आलु उत्पादन हुन्छ । जिल्लाबाट काठमाडौँसम्म जाने तरकारीमध्ये करिब ३५ प्रतिशत हिस्सा काभ्रेपलाञ्चोककै रहेको छ, जसमा आलुको हिस्सा उच्च छ ।

Skip This
Skip This
Logo