काठमाडौं । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले अहिलेसम्म १ लाख ३६ हजार २ सय १६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले लगभग उद्दारको काम पूरा जानकारी गराएपछि उद्दार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ ।
त्यस्तै सीमानाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका पनि सुरु गर्ने निर्णय समेत सीसीएमसीले गरेको छ । साथै केबलकार, जंगल सफारी र सामूहिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको सीसीएमसीले जनाएको छ । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरुबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।
त्यस्तैगरी कुटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको छ ।































प्रतिक्रिया